काठमाडौंका विभिन्न क्षेत्रमा आठ दिन विद्युत् कटौती हुने

काठमाडौंका विभिन्न क्षेत्रमा आठ दिन विद्युत् कटौती हुने


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा भूमिगत विद्युत् लाइन विस्तारको कामलाई तीव्रता दिएको छ । यसक्रममा कात्तिक १३ देखि २० गतेसम्म राजधानीका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

प्राधिकरणको कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा तार भूमिगत गर्ने काम गर्नुपर्ने भएकाले आठ दिनसम्म विद्युत् कटौती गर्न लागिएको हो । प्राधिकरणका अनुसार तोकिएका दिनमा बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति प्रभावित हुनेछ ।

प्राधिकरणले सार्वजनिक गरेको कार्यतालिकाअनुसार कात्तिक १३ गते बलम्बु, थानकोट तथा मातातीर्थ फिडरअन्तर्गत हाइभिजन कोलोनी क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।

त्यस्तै, कात्तिक १४ गते सीतापाइला फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म र १५ गते कलंकी, थानकोट तथा रोपवे फिडरअन्तर्गत कलंकी चोकदेखि ढुंगेअड्डासम्म विद्युत् अवरुद्ध हुनेछ ।

कात्तिक १६ गते बाफल फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म र १७ गते शंखमुल फिडरअन्तर्गत युएनपार्कदेखि बिजुलीबजारसम्म विद्युत् कटौती गरिनेछ ।

यसैगरी, कात्तिक १८ र २० गते सतुंगल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा र १९ गते स्युचाटार एसएस फिडरअन्तर्गत हाजमा पुल क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

मौसम प्रतिकूल भएमा निर्धारित कार्यतालिका रद्द वा परिवर्तन हुन सक्ने प्राधिकरणले स्पष्ट पारेको छ ।