सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टरका पंखा जुधेर दुर्घटना

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टरका पंखा जुधेर दुर्घटना

एक भारतीय पर्यटकको मृत्यु


काठमाडौ । सोलुखुम्बुस्थित लुक्लाभन्दा माथि पर्ने फेरिचे हेलिप्याडमा मंगलबार बिहान दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटनाग्रस्त भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार मंगलबार बिहान करिब सवा ८ बजेतिर ल्यान्डिङ गर्ने क्रममा फिस्टेल एयर र एयर डाइनेष्टिको हेलिकोप्टरका पंखा (विंग्स) एकापसमा जुधेर पल्टिएका हुन् । खुम्बु पासाङल्हामु गाउँपालिका-४ मा पर्ने उक्त दुर्घटनास्थलमा नजिकैको प्रहरी टोली परिचालन भइसकेको छ ।

दुर्घटनामा परी एक जना विदेशी नागरिकको ज्यान गएको प्रमुख जिल्ला अधिकारी कमानसिं थापामगरले जानकारी दिएका छन् । मृतक विदेशी नागरिकको पहिचान भने अझै खुल्न बाँकी छ ।  दुर्घटनामा परेर घाइते भएका अर्का एक जनाको प्रभु एयरको हेलिकोप्टरमार्फत उद्धार गर्ने काम भइरहेको छ । घटनाको विस्तृत विवरण संकलनका लागि लुक्लाबाट नागरिक उड्डयन प्राधिकरणको टोली दुर्घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ ।