एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रान्तमा सुरक्षा बलको पोसाक लगाएर बैंक लुट्ने योजनामा संलग्न विश्वविद्यालयका विद्यार्थीहरूलाई प्रहरीले डेढ वर्षपछि पक्राउ गरेको छ। बैंक लुट्नुअघि नै पक्राउबाट बच्ने योजनासमेत बनाएका उनीहरूले २० करोड २० लाख पाकिस्तानी रुपैयाँ लुटेका थिए।
यो घटना बलुचिस्तानको लसबेला जिल्लास्थित ओथल क्षेत्रमा भएको हो। गत वर्ष २८ फेब्रुअरी २०२५ मा भएको उक्त बैंक डकैतीमा संलग्नमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। अन्य अभियुक्तको खोजी जारी रहेको लसबेलाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नजिबुल्लाह पन्दरानीले बताएका छन्।
प्रहरीका अनुसार डकैतीमा संलग्न पाँच जना लसबेला युनिभर्सिटी अफ मरिन साइन्सेजका वर्तमान तथा पूर्वविद्यार्थी हुन्। पक्राउ परेका मुख्य अभियुक्त विश्वविद्यालयमै अध्ययनरत थिए। अन्य केही विद्यार्थी अझै अध्ययनरत छन् भने केहीले पढाइ पूरा गरिसकेका छन्। उनीहरूको उमेर २५ देखि २६ वर्षबीच रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अभियुक्तहरूले बैंक लुट्न निकै योजनाबद्ध तरिका अपनाएका थिए। उनीहरू सुरक्षा बलको पोसाक लगाएर बैंकमा कुनै कारोबारको अनुसन्धान गर्न आएको बहाना बनाउँदै प्रवेश गरेका थिए।
बैंकका म्यानेजर फलक शेरको उजुरीका आधारमा दर्ता भएको एफआईआरअनुसार, हतियारधारी ६ जना एउटा गाडीमा सुरक्षा बलको पोसाक लगाएर बैंकको मुख्य ढोकाबाट भित्र पसेका थिए।
उजुरीमा उल्लेख भएअनुसार बैंकका अपरेसन म्यानेजर जहाँगीरले फोन गरेर बैंकमा केही व्यक्ति आएको र म्यानेजर खोजिरहेको जानकारी दिएका थिए। उनीहरूले बैंकमा भएको एउटा कारोबारको जाँच गर्न आएको बताएका थिए।
बैंक म्यानेजर फलक शेरका अनुसार उनी घटनास्थल पुग्दा अभियुक्तहरूले विरोध गरेको भन्दै प्रहरी जवान नवाज अली र मोहम्मद दाउदलाई राइफलको कुन्दाले प्रहार गरी घाइते बनाइसकेका थिए। उनीहरूले प्रहरीसँग रहेको एउटा जी–३ राइफलसमेत खोसेका थिए।
अभियुक्तहरूले बैंकका अपरेसन म्यानेजरसहित सबै कर्मचारीलाई नियन्त्रणमा लिएर बन्धक बनाएका थिए। त्यसपछि बैंकमा रहेको २० करोड २० लाख पाकिस्तानी रुपैयाँ छ वटा बोरामा भरेर गाडीको डिक्कीमा राखे। बैंकका कर्मचारीलाई नगद राख्ने भल्टभित्र थुनेर उनीहरू फरार भएका थिए।
घटनाका बेला ओथल प्रहरी चौकीका प्रमुख यार मोहम्मद थिए। उनले बीबीसीसँग कुरा गर्दै बिहान करिब ९ देखि साढे ९ बजेको बीचमा नेसनल बैंक ओथलमा डकैती भएको सूचना पाएको बताए।
प्रहरी टोलीसहित बैंक पुग्दा अभियुक्तहरू भागिसकेका थिए। प्रारम्भिक सूचनाअनुसार उनीहरू पुरानो मोडलको एउटा गाडीमा आरसीडी राजमार्ग हुँदै भागेका थिए। पछि उक्त गाडी बलुच गोठतर्फ गएको जानकारी प्राप्त भयो।
यार मोहम्मदका अनुसार प्रहरीले गाडीको पछिपछि लागेर अभियुक्तहरूलाई पछ्याएको थियो। प्रहरी उनीहरूको नजिक पुग्नेबित्तिकै अभियुक्तहरूले गोली चलाउन थाले। गोली लागेर यार मोहम्मद गम्भीर घाइते भए। उनको एउटा गोली खुट्टामा र अर्को आँखानजिक लागेको थियो। गोली लागेका कारण उनको एउटा आँखाको ज्योति गुमेको छ।
प्रहरी अधिकारी घाइते भएपछि अभियुक्तहरू पहाडतर्फ भागेका थिए। उनीहरूले घटनामा प्रयोग गरेको गाडीमा समेत आगो लगाएका थिए।
अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार अभियुक्तहरूले गाडी प्रहरीका लागि महत्त्वपूर्ण प्रमाण बन्न सक्ने भएकाले त्यसलाई जलाउने योजना बनाएका थिए। गाडीबाट औँठाछापलगायत अन्य फरेन्सिक प्रमाण फेला पर्न सक्ने र प्रहरीले त्यसैका आधारमा आफूहरूसम्म पुग्न सक्ने उनीहरूको अनुमान थियो।
गाडी पहाडी क्षेत्रमा लैजान पनि कठिन हुने भएकाले त्यसलाई त्यहीँ छाड्नुभन्दा जलाएर प्रमाण नष्ट गर्ने उनीहरूले निर्णय गरेका थिए। डकैतीमा प्रयोग गरिएका दुईवटा हतियारसमेत गाडीसँगै जलाइएको अनुसन्धान अधिकारीले बताएका छन्।
बैंकको कर्मचारीको अनुभवले बन्यो लुटपाटको योजना
प्रहरीका अनुसार डकैतीको योजनाका मुख्य योजनाकार बैंकिङ प्रणालीबारे जानकार व्यक्ति थिए। घटनामा संलग्न एक अभियुक्त यसअघि तुरबतस्थित एउटा बैंकमा काम गरिसकेका थिए। त्यसैले उनलाई बैंकको आन्तरिक कार्यप्रणाली, नगद राख्ने स्थान र ठूलो रकमसम्म कसरी पुग्न सकिन्छ भन्नेबारे जानकारी थियो।
उनैको अनुभवका आधारमा अभियुक्तहरूले बैंक लुट्ने योजना बनाएको प्रहरीको भनाइ छ। उनीहरूले कुनै अवरोधबिना बैंकभित्र प्रवेश गर्न सुरक्षा बलको पोसाक प्रयोग गर्ने निर्णय गरेका थिए।
अनुसन्धान अधिकारीका अनुसार अभियुक्तहरूले आफैँ कपडा किनेर पोसाक सिलाउनुको सट्टा एउटा कम्पनीबाट अनलाइनमार्फत सुरक्षा बलको पोसाक मगाएका थिए। प्रहरीले उक्त पोसाक सन् २०२४ डिसेम्बरमै मगाइएको र डकैती भने सन् २०२५ फेब्रुअरीमा गरिएको जनाएको छ।
प्रहरीका अनुसार मुख्य अभियुक्तले आफ्ना साथीहरूसँग मिलेर सुरुदेखि नै डकैतीलाई सामान्य लुटपाटभन्दा फरक देखाउने र अनुसन्धानलाई अन्यत्र मोड्ने योजना बनाएका थिए।
बैंक खाताको कारोबारले खुल्यो रहस्य
लसबेलाका एसएसपी नजिबुल्लाह पन्दरानीका अनुसार घटनाको अनुसन्धान प्रहरीका लागि निकै चुनौतीपूर्ण बनेको थियो। सुरुमा सूचनादातामार्फत जानकारी संकलन गरिएको थियो भने पछि आधुनिक प्रविधिको प्रयोग गरेर अनुसन्धान अघि बढाइएको थियो।
अनुसन्धानका क्रममा मुख्य अभियुक्तको बैंक खातामा भएको अस्वाभाविक कारोबारले प्रहरीलाई महत्त्वपूर्ण सुराक दिएको थियो।
एसएसपी पन्दरानीका अनुसार डकैती हुनुअघि मुख्य अभियुक्तको बैंक खातामा हजारौँ रुपैयाँको मात्रै कारोबार हुने गरेको थियो। तर घटनापछि उक्त खातामा करोडौँ रुपैयाँको कारोबार हुन थालेको थियो।
प्रहरीले पछिल्लो डेढ वर्षको अवधिमा उनको खाताबाट १७ करोड पाकिस्तानी रुपैयाँ बराबरको कारोबार भएको पत्ता लगाएको छ। एकाएक खातामा ठूलो रकमको कारोबार देखिएपछि प्रहरीले उनीमाथि शंका गर्दै अनुसन्धान अघि बढाएको थियो।
त्यसपछि मुख्य अभियुक्तलाई पक्राउ गरिएको र उनकै बयान तथा पहिचानका आधारमा थप दुई जनालाई पक्राउ गरिएको एसएसपी पन्दरानीले बताए।
अन्य अभियुक्तका मोबाइल फोनको फरेन्सिक परीक्षणसमेत गरिएको छ। ती उपकरणलाई थप अनुसन्धानका लागि पञ्जाबस्थित फरेन्सिक प्रयोगशालामा पठाइएको प्रहरीले जनाएको छ।
यसैगरी, एक स्थानीय व्यवसायीको बैंक खातामा समेत लुटिएको रकममध्ये करिब पौने तीन करोड पाकिस्तानी रुपैयाँ बराबरको कारोबार भएको पाइएको छ। ती व्यवसायीले उक्त कारोबार स्वीकार गरिसकेको र मजिस्ट्रेटसमक्ष बयानसमेत दर्ता भइसकेको प्रहरीले जनाएको छ।
अनुसन्धानमा संलग्न अधिकारीका अनुसार लुटिएको रकमको केही हिस्सा व्यावसायिक गतिविधिमा लगानी गरिएको थियो। उक्त रकमबाट चार करोड पाकिस्तानी रुपैयाँभन्दा बढी मूल्यका गाडी तथा अन्य सामग्री खरिद गरिएको पाइएको छ। तीमध्ये केही सामान बरामद भइसकेका छन् भने बाँकी रकम तथा सम्पत्ति खोज्ने काम भइरहेको छ।
एसएसपी पन्दरानीका अनुसार पक्राउ परेका अभियुक्तलाई सुरुमा १४ दिन प्रहरी हिरासतमा राखिएको थियो। त्यसपछि उनीहरूलाई न्यायिक हिरासतमा जेल पठाइएको छ।
पक्राउ परेका अभियुक्तहरूसँग सम्पर्क हुन नसकेका कारण उनीहरूमाथि लगाइएको आरोपबारे उनीहरूको प्रतिक्रिया भने प्राप्त हुन सकेको छैन।

प्रतिक्रिया