काठमाडौं । इरानविरुद्ध अमेरिकी संसद्को स्वीकृतिबिना युद्ध सञ्चालन गरेको आरोप लगाउँदै अमेरिकी रक्षा मन्त्री पिट हेगसेथविरुद्ध ल्याइएको महाभियोग प्रस्ताव तत्कालका लागि असफल भएको छ ।
अमेरिकी प्रतिनिधिसभाका बहुमत सदस्यले महाभियोग प्रस्तावलाई समितिमा पठाउने पक्षमा मतदान गरेपछि केन्टकीका रिपब्लिकन सांसद थोमस मेसीले अघि सारेको प्रस्ताव अघि बढ्न सकेन ।
पेन्टागनमा ६ महिनापछि पहिलोपटक आयोजित पत्रकार सम्मेलनमा हेगसेथले महाभियोगको प्रयासलाई ‘प्रहसन’ र ‘अवरोध सिर्जना गर्ने षड्यन्त्र’ भनेका छन् ।
मन्त्रीलाई पदको दुरुपयोग गरेको ठहर गर्दै अन्ततः पदबाट हटाउने उद्देश्यले ल्याइएको प्रस्ताव सफल हुने सम्भावना निकै कम थियो । किनभने त्यसका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा रिपब्लिकन पार्टीकै केही सांसद उभिनुपर्ने अवस्था थियो ।
मंगलबार प्रतिनिधिसभामा भएको मतदानमा मेसीले मात्र प्रस्तावलाई रिपब्लिकन नेतृत्वको प्रतिनिधिसभा न्यायिक समितिमा पठाउने निर्णयको विपक्षमा मत दिए । प्रस्तावको पक्षमा २११ र विपक्षमा २०४ मत परेको थियो । ११ डेमोक्र्याटसहित एक दर्जनभन्दा बढी सांसद मतदानमा अनुपस्थित थिए ।
प्रस्तावलाई समितिमा पठाउने निर्णयले तत्कालका लागि महाभियोग प्रक्रिया अघि बढ्ने सम्भावना समाप्त पारेको छ । आगामी जनवरीमा डेमोक्र्याटहरूले संसद्मा नियन्त्रण लिनुअघि वर्तमान संसद्को कार्यकाल सकिन अब थोरै समय मात्र बाँकी छ ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै मतदानको परिणामको स्वागत गरेका छन् । उनले महाभियोगको प्रयास ‘लज्जास्पद रूपमा असफल भएको’ बताएका छन् ।
“भेनेजुएला र इरानमा विजय, सैन्य भर्ती इतिहासकै उच्च स्तरमा पुग्नु (भर्ती हुन लामो प्रतीक्षा सूची हुनु) र सेनामा विरलै देखिने उत्साहले एक महान् अमेरिकी देशभक्तको निर्दोषिता प्रमाणित गरेको छ,” हेगसेथको बचाउ गर्दै ट्रम्पले लेखेका छन् ।
मतदानपछि मेसीले आफू परिणामबाट आश्चर्यचकित नभए पनि निराश भएको बीबीसीको अमेरिकी साझेदार सीबीएससँग बताएका छन् ।
“कांग्रेसका सदस्यहरूलाई के गर्नुपर्छ भन्ने थाहा छ । तर, राजनीतिक रूपमा आफ्नै फाइदा हुने अवस्थामा पनि उनीहरू त्यो कदम चाल्ने साहस जुटाउन सक्दैनन्,” उनले भने ।
मेसीले यसअघि नै आफ्नो महाभियोग प्रस्ताव तत्काल सफल नहुन सक्ने स्वीकार गरेका थिए । तर, जनवरीमा डेमोक्र्याटहरूले आफ्नै महाभियोग प्रक्रिया सुरु गर्नुअघि नै ट्रम्पलाई हेगसेथ हटाउन दबाब दिन यसले सहयोग गर्न सक्ने उनको तर्क थियो ।
केन्टकीका सांसदले हेगसेथलाई अहिले नै पदबाट हटाउँदा रिपब्लिकनहरूको नियन्त्रण कायम रहेकै बेला सिनेटलाई नयाँ रक्षा मन्त्रीको नियुक्ति अनुमोदन गर्ने समय मिल्ने पनि बताएका थिए ।
महाभियोगसम्बन्धी प्रस्ताव संसद्को कार्यकाल समाप्त भएपछि पनि अघि बढाउन सकिने भएकाले डेमोक्र्याटहरूले अर्को वर्ष यसलाई पुनः अगाडि बढाउन सक्नेछन् ।
मध्यावधि निर्वाचनमा सफल भएपछि डेमोक्र्याटहरूले आगामी जनवरीदेखि संसद्का दुवै सदनमा नियन्त्रण लिनेछन् ।
प्रतिनिधिसभाका सभामुख तथा रिपब्लिकन नेता माइक जोन्सनले पनि मंगलबार बिहानै महाभियोग प्रस्ताव असफल हुने अनुमान गरेका थिए ।
सोमबार प्रतिनिधिसभामा औपचारिक रूपमा पेस गरिएका महाभियोगका आठवटा आरोपपत्रमा मेसीले हेगसेथले सांसदहरूको स्वीकृतिबिना ९० दिनभन्दा बढी समय इरानसँग युद्ध सञ्चालन गरेर ‘कानुन उल्लंघन गरेको र त्यसका लागि जवाफदेही बनाउनुपर्ने’ उल्लेख गरेका थिए ।
त्यसैगरी, प्रशान्त महासागर र क्यारेबियन सागरमा लागुऔषध ओसारपसारमा संलग्न रहेको आरोप लागेका डुङ्गामाथि अमेरिकी सैन्य कारबाहीका क्रममा ‘न्यायिक प्रक्रियाबाहिर हत्या’ भएको विषयमा पनि हेगसेथ जिम्मेवार रहेको आरोपपत्रमा उल्लेख थियो ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा हेगसेथले आफूविरुद्धको महाभियोग प्रयासलाई ट्रम्प प्रशासनका एक विरोधीले गरेको राजनीतिक नाटक भनेका थिए । उनले मेसीलाई ‘असन्तुष्ट र पराजित’ सांसदको संज्ञा दिएका थिए ।
मेसीको प्रस्तावले राष्ट्रिय सुरक्षालाई जोखिममा पारेको दाबी गर्दै हेगसेथले यसले अमेरिकाका विरोधीहरूलाई ‘कानुनसम्मत सैन्य कारबाही सफलतापूर्वक सञ्चालन गरेकै कारण अमेरिकाले आफ्नै सैनिक र नागरिक नेतृत्वलाई सजाय दिने रहेछ’ भन्ने सन्देश जाने बताएका थिए ।
“यो देशभक्ति होइन । यो त षड्यन्त्र हो,” उनले भने ।
उनले सोमबार ह्वाइट हाउसको पत्रकार सम्मेलन कक्षमा अप्रत्याशित रूपमा उपस्थित हुँदा ट्रम्पले दिएका केही अभिव्यक्तिलाई पनि दोहोर्याएका थिए । तीमध्ये सैन्य भर्तीमा भएको वृद्धिको विषय पनि थियो ।
तर, मेसीको प्रस्ताव आफूविरुद्ध ल्याइएको महाभियोगको प्रयास नभई नीतिगत मतभेदका कारण आएको हेगसेथको दाबी थियो ।
“यो गम्भीर अपराध होइन, दुराचार होइन, देशद्रोह होइन, घुसखोरी होइन । महाभियोगसम्बन्धी व्यवस्था लेख्दा संविधानका निर्माताहरूले परिकल्पना गरेका अपराधमध्ये कुनै पनि यसमा पर्दैन,” उनले भने ।
ट्रम्प समर्थित उम्मेदवारसँग यसै वर्ष भएको पुनःनिर्वाचनमा पराजित भएका मेसीले फेब्रुअरीमा इरानसँग युद्ध सुरु भएदेखि नै ट्रम्प र उनको युद्ध नीतिको आलोचना गर्दै आएका छन् ।
यसअघि दिवंगत यौन अपराधी जेफ्री एप्स्टिनसम्बन्धी फाइल सार्वजनिक गर्न ट्रम्प प्रशासनसँग माग गरेपछि पनि उनी राष्ट्रपतिको आलोचनाको निशानामा परेका थिए ।
तत्कालका लागि हेगसेथले आफ्नो राजनीतिक पद जोगाए पनि रिपब्लिकनसहित धेरै सांसदले प्रशासनमा उनको पद कति समय टिक्छ भन्ने प्रश्न उठाएका छन् ।
रिपब्लिकन सिनेटर टेड क्रुजले मंगलबार हेगसेथले राजीनामा दिने वा ट्रम्पले उनलाई बर्खास्त गर्ने आफूले अपेक्षा गरेको बताएका छन् ।

प्रतिक्रिया