वैदेशिक रोजगारीबाट फर्किएर च्याउखेतीमा रमाउँदै रोशन

वैदेशिक रोजगारीबाट फर्किएर च्याउखेतीमा रमाउँदै रोशन


सुनसरी। वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक च्याउखेती सुरु गर्नुभएका बराहक्षेत्र नगरपालिका–११ मधुवनका रोशनप्रसाद गुप्ताले राम्रो आम्दानी गर्दै आउनुभएको छ ।

सात वर्ष वैदेशिक रोजगारीमा बिताएर स्वदेश फर्किनुभएका गुप्ताले २०७७ सालदेखि भाइ भरतसँग मिलेर रु ५० हजार लगानीमा च्याउखेती सुरु गर्नुभएको हो । विदेशमा कमाएको रकम स्वदेशमै लगानी गर्ने सोचले सुरु गर्नुभएको व्यवसायबाट अहिले सबै खर्च कटाएर वार्षिक रु १५ लाखभन्दा बढी आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।

च्याउखेती सुरु गरेको वर्षमा घाटा व्यहोर्नुपरे पनि पछिल्लो समय आम्दानी बढ्दै गएको गुप्ताले बताउनुभयो । अहिले करिब छ कट्ठा क्षेत्रफलमा छवटा टनेल निर्माण गरी च्याउखेती गर्दै आउनुभएका उहाँको फार्ममा दैनिक २०० किलोभन्दा बढी च्याउ उत्पादन हुने गरेको छ । वार्षिक रूपमा ३० टन बढी च्याउ उत्पादन गरी बजारमा बिक्री गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

उत्पादित च्याउ धरान, इटहरी, इनरुवा, दुहबी, गाईघाट, राजविराज, बराहक्षेत्र, चतरा र आसपासका स्थानीय बजारमा बिक्री हुने गरेको छ । च्याउ बिक्रीका लागि बजारको अभाव नरहेको उहाँको भनाइ छ । हाल च्याउ प्रतिकिलो रु १८० देखि रु १९० सम्म बिक्री हुने गरेको छ भने फार्मबाट खरिद गर्ने व्यापारीले भने केही सस्तोमा लैजाने गरेका छन् ।

गुप्ताले भन्नुभयो, “गत वर्षको तुलनामा यस वर्ष च्याउको मूल्य घटेको छ ।” गर्मी मौसमको तुलनामा जाडोयामका मङ्सिर, पुस र माघ महिनामा च्याउको मूल्य राम्रो हुने भएकाले प्रतिकिलो रु २२० सम्म हुने गरेको उहाँले जानकारी दिनुभयो ।

“विदेशमा धेरै मिहिनेत गर्दा पनि कमाइले खर्च धान्न कठिन हुन्थ्यो”, उहाँले भन्नुभयो । स्वदेशमै व्यवसाय गर्दा आफूले आम्दानी गर्नुका साथै अरूलाई पनि रोजगारी दिन सकेकाले सन्तुष्टि मिलेको उहाँ सुनाउनुहुन्छ ।

अहिले उहाँको फार्ममा छ जना कामदार कार्यरत छन् भने परिवारका सदस्यले पनि च्याउखेतीमा सहयोग गर्दै आएका छन् । च्याउ टिप्ने, व्यवस्थापन गर्ने र बजारसम्म पुर्याउने काम परिवारका सदस्य मिलेर गर्ने गरेको उहाँले बताउनुभयो ।

“च्याउखेतीका लागि धेरै जग्गा आवश्यक पर्दैन”, गुप्ताले भन्नुभयो, “थोरै क्षेत्रफलबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ ।” चैतमा लगाइएको च्याउ वैशाखको अन्तिम सातादेखि टिप्न योग्य हुन्छ । वर्षमा करिब १० महिनासम्म उत्पादन लिन सकिने उहाँले जानकारी दिनुभयो ।

सुरुमा कृषिसम्बन्धी ज्ञान र प्रविधिको कमीले समस्या भोग्नुपरे पनि अनुभव बढ्दै जाँदा उत्पादन र आम्दानी दुवै बढेको गुप्ताले बताउनुभयो । सुरुका दिनमा च्याउखेतीसम्बन्धी जानकारी कम भए पनि अहिले अनुभव र सीप बढ्दै जाँदा व्यवसाय सञ्चालन गर्न सहज हुनुका साथै आम्दानी पनि बढेको उहाँको भनाइ छ ।

खेतीका लागि विशेषगरी पराल, चुन, बाँस, खर र प्लास्टिक आवश्यक पर्ने उहाँले बताउनुभयो । खेतीमा कुनै पनि विषादी प्रयोग नगरी च्याउ उत्पादन गरिने भएकाले अग्र्यानिक च्याउको माग बढ्दै गएको उहाँको भनाइ छ ।

गुप्ताले २०८० सालमा सुनसरी कृषि ज्ञान केन्द्रबाट रु एक लाख र बराहक्षेत्र नगरपालिकाबाट रु ९० हजार अनुदान प्राप्त गर्नुभएको थियो । त्यसैगरी, नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा मिनीट्याक्टर, सफारी, टनेललगायत खेतीका लागि आवश्यक सामग्री प्राप्त भएपछि खेती गर्न थप सहज भएको उहाँले बताउनुभयो ।

“थोरै दुःख र मिहिनेत गर्ने हो भने नेपालमै राम्रो आम्दानी गर्न सकिन्छ”, गुप्ताले भन्नुभयो, “युवा वैदेशिक रोजगारीमा जानैपर्छ भन्ने छैन गाउँमै थोरै लगानीमा व्यवसाय सञ्चालन गरेर पनि जीवन चलाउन सकिन्छ ।”