काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले काठमान्डु गोर्खाजसामु १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनायो ।
कर्णालीका लागि अर्फुल इस्लामले सर्वाधिक ४४ रन बनाए । उनले २२ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै हुसैन तलातले ४० रनको योगदान दिए । उनले ३० बलमा १ चौका र २ छक्का प्रहार गरे ।
पवन सर्राफ २४ बलमा ३० रन बनाउँदै अविजित रहे । मार्क वाटले २० बलमा १७, दीपक डुम्रेले ६ बलमा ८ र जिसान आलमले ५ बलमा ७ रन बनाए । गुल्शन झाको नाममा २० रन रह्यो ।
कर्णालीले सुरुवातदेखि नै आक्रामक ब्याटिङ गरेको थियो । पहिलो विकेटका लागि जिसान र अर्फुलले २० रनको साझेदारी गरे । अर्फुलले त्यसपछि मार्क वाटसँग दोस्रो विकेटका लागि ४६ रन जोड्दै टोलीलाई बलियो अवस्थामा पुर्याएका थिए ।
काठमान्डु गोर्खाजका करण केसीले २ तथा शाहब आलम, जहान्दाद खान, देव शाह र सन्तोष यादवले समान १-१ विकेट लिए ।

प्रतिक्रिया