काठमाडौँ ।
गत पाँच महिनाअगाडि नै चर्चामा रहेको तर अन्तिम समयमा स्थगित भएको भारतीय विदेशसचिव विक्रम मिश्रीको नेपाल भ्रमण अन्ततः तय भएको छ । भारतीय विदेशसचिव मिश्री दुई दिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौँ आउन लागेका हुन् ।
यसअघि, प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले भेट नदिने अडान राखेपछि मिश्रीको भ्रमण स्थगन भएको समाचारहरू बाहिरिएका थिए । ठिक पाँच महिनाको अन्तरालपछि हुन लागेको यो भ्रमणलाई कूटनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ । नेपालको परराष्ट्र मन्त्रालयका अनुसार विदेशसचिव मिश्रीले नेपाल भ्रमणका क्रममा आफ्ना समकक्षी परराष्ट्रसचिव अमृतबहादुर राई र परराष्ट्रमन्त्री शिशिर खनालसँग द्विपक्षीय वार्ता गर्ने पक्का भएको छ । भेटघाटका क्रममा दुई देशबीचको साझा महत्त्वका मुद्दा, जलविद्युत् र सीमा सम्बन्धी विषयमा छलफल हुने बताइएको छ ।
यद्यपि, भारतको विदेश मन्त्रालयले भने यस भ्रमणलाई नेपाल र भारतबीच रहँदै आएको उच्चस्तरीय भ्रमणको पुरानै परम्पराको निरन्तरता मात्र भएको उल्लेख गर्दै छोटो प्रतिक्रिया दिएको छ । विदेशसचिव मिश्रीले प्रधानमन्त्री बालेन शाहलगायतका अन्य उच्च अधिकारीहरूसँग पनि भेट्ने कार्यक्रम रहेको भनिए पनि अहिलेसम्म प्रधानमन्त्रीसँगको भेटको निश्चित तालिका सार्वजनिक गरिएको छैन । परराष्ट्रमन्त्री शिशिर खनालका प्रेस सल्लाहकार जगदीश्वर पाण्डेले उच्चस्तरीय भेट हुने जानकारी दिए पनि को–कोसँग हुने भन्नेबारे खुलाउन चाहेनन् ।
प्रधानमन्त्री बालेन शाहको सरकार बनेको आठ महिना पुगिसक्दा पनि उनको कुनै पनि औपचारिक विदेश भ्रमण भएको छैन । गत महिना संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री शाहले त्यहाँ पनि भारतीय अधिकारीहरूसँग कुनै साइडलाइन भेटवार्ता गरेका थिएनन् । स्रोतका अनुसार, भारतीय विदेशसचिव मिश्रीको यो भ्रमण प्रधानमन्त्री शाहको आगामी भारत भ्रमणको पृष्ठभूमि तयार पार्नका लागि हुन लागेको हो । भारतीय मिडियाहरूले आगामी मंसिरमा बालेनको भारत भ्रमण हुनसक्ने उल्लेख गरे पनि दुवै पक्षले अहिलेसम्म भ्रमणको मिति सार्वजनिक गरेका छैनन् ।
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार नेपालले बाढी नियन्त्रण, जलविद्युत् र बाढीपछिको पुनर्निर्माणमा भारतीय आर्थिक सहयोगको अपेक्षा गरेको छ र सोही विषयमा जानकारी लिन विदेशसचिव मिश्री नेपाल आउन लागेका हुन् । भारतसँगको सम्बन्धमा शाह सरकारले सकारात्मक पक्षहरूलाई मात्र केलाउने र भारतलाई खुसी बनाउने कूटनीति अपनाएको देखिन्छ । गत जेठमा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको सीमा मिचेको’ भनी संसदमा दिएको अभिव्यक्ति विवादित बनेको थियो । तर, उनले अहिलेसम्म त्यसप्रति माफी मागेका छैनन् भने सभामुखले पनि उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन रुलिङ गरेका छैनन् ।
यसैबीच, अर्थमन्त्री स्वर्णिम वाग्लेले हालसालै भारतको एक निजी टेलिभिजन र भारतीय अखबार हिन्दुसँगको अन्तर्वार्तामा नेपालमा ‘भारतविरोधी राष्ट्रवादको युग अन्त्य भएको’ दाबी गरेका थिए । उनको यो बोलीमा महानायक राजेश हमालदेखि पूर्वपरराष्ट्रमन्त्री कमल थापासम्मले आपत्ति जनाएका छन् । टिप्पणीकारहरूका अनुसार, वाग्लेले भारतको ‘गुड बुक’मा पर्न र भविष्यको प्रधानमन्त्रीको दाबेदारका रूपमा आफूलाई प्रस्तुत गर्न यस्तो अभिव्यक्ति दिएको हुनसक्छ ।

प्रतिक्रिया