काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक प्रकाश सपुत, आशिष सचिन र गायिका रचना रिमाल अष्ट्रेलियाको सिड्नीमा एकसाथ गुञ्जिने भएका छन् ।
आगामी नोभेम्बर ७ मा आयोजना हुने ‘नेपाल फेस्टिभल सिड्नी २०२६’ मा तीनै कलाकारले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई मनोरञ्जन दिने भएका हुन् ।अष्ट्रेलियामा नेपाली कला, संस्कृति, संगीत र राष्ट्रिय पहिचानको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको महोत्सव सिड्नीको डार्लिङ हार्बरस्थित प्रसिद्ध टम्बालोङ पार्कमा सञ्चालन हुनेछ ।
‘पिरिम नलाउने’, ‘दाह्री फुल्यो बैंसैमा’ र ‘एक कान दुई कान मैदान’ जस्ता चर्चित गीतबाट दर्शक तथा श्रोताको मन जितेका गायक आशिष सचिनले महोत्सवमा आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछन् ।
उनले ‘गलबन्दी पछ्यौरी’, ‘पानी बादलु’, ‘छमक छमक तेरी पाउजु’ लगायतका गीतमार्फत सिड्नीमा रहेका नेपाली दर्शकलाई नचाउने तयारी गरेका छन् । विशेषगरी उनका नृत्यप्रधान र रमाइला गीतहरूले महोत्सवको सांगीतिक माहोल थप उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको छ ।
त्यस्तै, नेपाली लोक तथा आधुनिक संगीतमा आफ्नो छुट्टै पहिचान बनाएका चर्चित गायक तथा कलाकार प्रकाश सपुतको विशेष सांगीतिक प्रस्तुति रहनेछ । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय गायिका रचना रिमालले पनि आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्नेछिन् ।
महोत्सवमा चर्चित र्यापर सुदिन पोखरेललगायत अन्य कलाकारहरूको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ । विभिन्न विधाका लोकप्रिय कलाकारहरूको सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाउने विश्वास गरिएको छ ।
महोत्सवमा अष्ट्रेलियाली राजनीतिक तथा सामुदायिक नेतृत्वका प्रतिनिधि, नेपाली समुदायका अगुवा, विभिन्न संघसंस्थाका पदाधिकारी, व्यवसायी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहने अपेक्षा आयोजकले गरेको छ ।
प्रवासमा नेपाली भाषा, संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानसँग जोड्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइँदै आएको छ ।
आयोजकका अनुसार महोत्सवले नेपाली समुदायलाई एकै ठाउँमा भेला गराएर आफ्नो कला, संस्कृति र पहिचानप्रति गौरव गर्ने अवसर प्रदान गर्नेछ । नोभेम्बर ७ मा हुने महोत्सवमा आशिष सचिन, प्रकाश सपुत, रचना रिमाल र सुदिन पोखरेललगायतका कलाकारहरूको सांगीतिक प्रस्तुतिले सिड्नीको टम्बालोङ पार्क नेपाली गीतसंगीतले गुञ्जिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया