किन पुगे कांग्रेस सभापति थापा ओलीनिवास गुण्डु

किन पुगे कांग्रेस सभापति थापा ओलीनिवास गुण्डु

इनम सापकोटा प्रकरण र जेन–जी विद्रोहपछि : कांग्रेस सभापति थापाद्वारा एमाले अध्यक्ष ओलीसँग भेटवार्ता


काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २३ र २४ भदौ २०८२ को जेन–जी विद्रोहपछि पहिलोपटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। जेन–जी विद्रोहका दोषी वा त्यतिबेलाको राजनीतिक परिस्थितिसँग जोडिएका शक्तिहरूसँग संवाद नगर्ने अडान लिँदै आएका थापाले मंगलबार ओलीनिवास गुण्डु पुगेर करिब एक घण्टा छलफल गरेका हुन्।
दुवै पक्षबाट संवादको विस्तृत विवरण आधिकारिक रूपमा बाहिर नआए पनि मधेश र गण्डकी प्रदेश सरकारको भविष्य तथा पछिल्ला विकसित राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको थापानिकट स्रोतले जनाएको छ।
रणनीति फेर्न बाध्य थापा
जेन–जी विद्रोहपछि सभापति थापाले एमाले र अध्यक्ष ओलीसँग कुनै पनि किसिमको निकटता नबढाउने र संवाद नगर्ने स्पष्ट नीति लिएका थिए। विशेष महाधिवेशनदेखि नै ओलीसэр संवादका प्रयास भए पनि थापाले त्यसलाई टार्दै आएका थिए। यसबीचमा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डु लगायत अन्य नेताहरूसँग निरन्तर संवादमा रहेका थापाले एमालेसँगको सहकार्य तोड्दै कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारबाट कांग्रेसलाई बाहिर ल्याएका थिए।

कांग्रेस सत्ताबाट बाहिरिए पनि फरक नपर्ने भन्दै पार्टी पंक्तिलाई प्रशिक्षित गर्दै आएका थापाले मधेश र गण्डकी प्रदेश सरकार बचाउन समेत खासै जोडबल गरेका थिएनन्। गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई पनि ‘एउटा सरकार जोगाएर केही हुँदैन, एक वर्षका लागि सरकारका पछि नकुद्नू’ भन्दै उनले सन्देश दिएका थिए। तर, अंकगणितका कारण अप्ठ्यारोमा परेका मधेश र गण्डकी सरकार ढल्ने निश्चित जस्तै बनेका बेला काठमाडौंमा उत्पन्न नयाँ घटनाक्रमले थापालाई रणनीति फेर्न बाध्य बनाएको हो।
इनम सापकोटा प्रकरण र नैतिक प्रश्न
प्रदेश सरकारको सङ्कटसँगै बिचौलिया भनिएको इनम सापकोटाको बयान भनिएको अडियो प्रकरण सार्वजनिक भएपछि सभापति थापा गम्भीर दबाबमा परेका छन्। सापकोटाको बयानका आधारमा विशेष महाधिवेशनबाट कांग्रेसको आधिकारिकता लिनका लागि सर्वोच्च अदालतका न्यायाधीशलाई १८ करोड रुपैयाँ खर्च गरिएको गम्भीर आरोप लगाइएको छ।

यसअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र उनीनिकटहरूको गतिविधि तथा प्रधानमन्त्री बालेनको ‘सही समय आएपछि सबैको गलत समय आउँछ’ भन्ने अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको थियो। सोहीबीचमा आएको उक्त अडियो र आरोपले आफूलाई बदनाम गर्न खोजिएको बुझाइमा रहेका थापाले ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन’ भन्दै सामाजिक सञ्जालमार्फत काउन्टर दिएका थिए।

राजनीतिक वृत्तमा चौतर्फी दबाब र घेराबन्दी बढेपछि आफ्नै अडान ताडेर भए पनि थापा रणनीतिक रूपमा एमाले अध्यक्ष ओलीसँग संवादका लागि गुण्डु पुगेको विश्लेषण गरिएको छ।