काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री तथा युवा नेता अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले सम्पर्क गरी ब्युरोमा उपस्थित हुन बोलाएको छ। पछिल्लो समय सामाजिक सञ्जालमार्फत सरकारका गतिविधि र कार्यशैलीविरुद्ध निरन्तर प्रश्न उठाउँदै तथा तीखो अभिव्यक्ति दिँदै आएका शिवाकोटीलाई ब्युरोले फोनमार्फत सम्पर्क गरेको हो।
ब्युरोले फोन गरेर उपस्थित हुन भनेपछि नेता शिवाकोटीले आफू सरकारको कुनै पनि भय र भ्रमबाट विचलित नहुने प्रतिक्रिया दिएका छन्। हाल काठमाडौँबाहिर धार्मिक यात्रा तथा विभिन्न कार्यक्रममा रहेका उनले प्रहरीले खोज्नु नपर्ने र आफैँ काठमाडौँ फर्किंदै गरेको बताएका छन्। सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले भनेका छन्, ‘सरकार, तिम्रो भय र पारेको भ्रमले विचलित हुन्न, प्रहरी लगाएर खोज्नु पर्दैन, म काठमाडौं आउँदैछु।’
पछिल्लो समय मुलुकको समसामयिक राजनीति, सरकारका निर्णय र विभिन्न विवादास्पद प्रकरणहरूमाथि सामाजिक सञ्जालमार्फत मुखर रूपमा आफ्नो धारणा राख्दै आएका शिवाकोटीलाई साइबर ब्युरोले बोलाएपछि यस विषयलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। नेता शिवाकोटी काठमाडौँ आइपुगेपछि साइबर ब्युरोमा उपस्थित हुने बताइएको छ।

प्रतिक्रिया