११ करोडको ठेक्कामा मजदुरलाई ठगेको आरोपमा खोटेहाङ गाउँपालिका उपाध्यक्ष राई विवादमा

११ करोडको ठेक्कामा मजदुरलाई ठगेको आरोपमा खोटेहाङ गाउँपालिका उपाध्यक्ष राई विवादमा


काठमाडौं ।ओखलढुङ्गाको मोलुङ गाउँपालिकामा निर्माणाधीन प्रशासनिक भवनमा काम गरेका मजदुरहरूले आफ्नो लाखौं रुपैयाँ पारिश्रमिक नपाएको भन्दै खोटाङको खोटेहाङ गाउँपालिकाका उपाध्यक्ष रुपेश राईमाथि गम्भीर आरोप लगाएका छन्।

बिहीबार काठमाडौंमा संवाद डबलीमार्फत पत्रकार सम्मेलन गर्दै खोटेहाङ गाउँपालिका–८ निवासी तथा मजदुर अगुवा दिनेश थापाले ११ करोडको ठेक्कामा काम गराएर पारिश्रमिक नदिएको भन्दै निष्पक्ष छानबिन र न्यायको माग गरेका हुन्।

थापाका अनुसार २०७९ मङ्सिर २५ देखि २०८१ असोज १६ गतेसम्म सरदर १५ जना श्रमिक परिचालन गरी भवन निर्माणको काम सम्पन्न गरिएको थियो। सम्झौताअनुसार करिब ९० लाख रुपैयाँ पाउनुपर्नेमा हालसम्म ७० लाख २० हजार रुपैयाँ मात्र भुक्तानी भएको र बाँकी रकम दिन ुबिकेयसके कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिुका सञ्चालकद्वय रुपेश राई र सरोज राईले आलटाल गरिरहेको उनले बताए।

गाउँपालिकाका उपाध्यक्षसमेत रहेका रुपेश राईले सार्वजनिक पदमा रहेका कारण आफू प्रत्यक्ष नदेखिने भन्दै अर्का सञ्चालक सरोजमार्फत सम्झौता गराएको पीडितको दाबी छ। भुक्तानी माग्दा उल्टै धाकधम्की दिने र श्रम शोषण गर्ने गरेको आरोप थापाले लगाएका छन्। गाउँपालिकामा न्यायका लागि निवेदन दिन खोज्दा दर्ता नभएको र ठेकेदारको धम्कीपछि आफूले पेट्रोल खन्याएर आत्मदाहको प्रयाससमेत गरेको उनले खुलासा गरे।

मजदुरहरूको जम्मा कमाइको १ प्रतिशत सामाजिक सुरक्षा कोषका लागि काटिए पनि बिल नदिइएको, आधिकारिक मापन नदिएको, वासस्थानको व्यवस्थापन नगरेको र दुर्घटना बिमा मजदुर आफैंले व्यहोर्ने कागज गराएर श्रम ऐनको उल्लङ्घन गरिएको थापाले बताए। साथै, रुपेश र सरोजले आफ्नो कम्पनी असक्षम भएपछि ुविवश कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिुलाई टेन्डर हाल्न लगाएर बिचमा बदमासी गरेको आरोपसमेत लगाइएको छ।

न्याय माग्दै थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग, गृह मन्त्रालय र श्रम कार्यालयलगायतका निकायमा उजुरी दिएका छन्। गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय खोटाङमा छलफल भई पारिश्रमिक दिलाउने मौखिक प्रतिबद्धता आए पनि समस्या समाधान नभएको उनको गुनासो छ। आफ्ना मागहरू तत्काल सम्बोधन नभए तिहारपछि खोटाङ जिल्ला प्रशासन कार्यालयअगाडि आमरण अनसन बस्ने चेतावनी उनले दिएका छन्। यसैबीच, राष्ट्रिय जेनजी नागरिक अभियानका प्रवक्ता विर्जन विश्वकर्माले मजदुरहरूको पारिश्रमिक तत्काल उपलब्ध गराउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन्।

सम्बन्धित पक्षको भनाइ
यस विषयमा खोटाङका प्रमुख जिल्ला अधिकारी  महेश कुमार गुरुङले गृह मन्त्रालयबाट पत्र प्राप्त भएको र कार्यक्षेत्र ओखलढुङ्गा भएकाले त्यता समन्वय भइरहेको बताए। ूओखलढुङ्गाका सिडिओ साब र सरोजजीसँग कुरा भएको छ, तिहारपछि समाधान गर्ने कुरा भएको छ,ू गुरुङले भने। उपाध्यक्ष राईविरुद्ध प्रशासनले असहयोग गरेको आरोपमा उनले भने, ूपीडितले प्रमाणसहित उपाध्यक्ष रुपेश राईविरुद्ध उजुरी हाले हामी कानुनी दायरामा ल्याउँछौं, तर अहिलेसम्म कुनै उजुरी छैन, त्यसै आरोप लाउनु उचित हुँदैन।ू

यता, बिकेयसके कन्ट्रक्सनका सञ्चालक सरोज राईले भने दिनेश थापासँगको सम्झौताअनुसार सबै रकम भुक्तानी गरिसकेको दाबी गरेका छन्। ूदिनुपर्ने सबै रकम बुझाइसक्दा पनि दिनेशले अनावश्यक टर्चर दिइरहेका छन्, मुद्धा हालेर कानुनी रुपमै लड्न भने पनि उनले मानिरहेका छैनन्,ू सरोजले भने।

मुख्य आरोपित भनिएका अर्का सञ्चालक तथा खोटेहाङ गाउँपालिकाका उपाध्यक्ष रुपेश राईलाई सम्पर्क गर्न खोज्दा उनको फोन उठेन।