काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्स सुदूरपश्चिम रोयल्ससँग ३९ रनले पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णाली २० ओभरमा ७ विकेटको क्षतिमा १३७ रनमा समेटियो ।
यससँगै सुदूरपश्चिमले पाँच खेलमा ३ जित हासिल गरेको छ । उता कर्णालीको यो चौथो खेल हो । उसले पनि दुई खेलमा जित हात पारेको छ भने २ खेलमा पराजित भएको छ ।
कर्णालीका लागि दक्षिण अफ्रिकी ब्याटर डेभिड मिलरले अर्धशतकीय पारी खेले । चौथो नम्बरमा ब्याटिङ गर्न आएका उनले ५५ बलमा ५ चौका र ७ छक्का प्रहार गर्दै ९३ रनमा अविजित रहे । दीपक डुम्रेले १८ रन बनाए ।
अन्य ब्याटरमा सोमपाल कामीले ८, पवन सर्राफले ५, मार्क वाटले ४ र हुसेन तलतले १ रन बनाए ।
सुदूरपश्चिमका स्कट कुगेलेइनले २ तथा अभिनाश बोहरा, हेमन्त धामी, अनिल खरेल, दीपेन्द्रसिंह ऐरी र थारिन्दु रत्नायकेले समान एक-एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि साइफ जैबले ३५ रन बनाए । उनले २४ बलमा चार चौका र एक छक्का प्रहार गरे । विनोद भण्डारीले २२ बलमा २७, ब्रान्डन म्याकमुलनले १६ बलमा २४ तथा इशान पाण्डेले २३ रन र तरिन्दु रत्नायकेले अविजित २२ रन बनाए ।
कप्तान दीपेन्द्रसिंह ऐरीले १४ बलमा १० रन जोड्दा आरिफ शेखले ११ रन बनाए । स्कट कुगेलाइन १३ रनमा अविजित रहे ।
कर्णालीका लागि मार्क वाटले २ तथा हुसेन तलात, सूर्य तामाङ, नन्दन यादवले एक–एक विकेट लिए ।

प्रतिक्रिया