काठमाडौँ। अरुणोदयकालअघिको समयमा नदी, तलाउ, कुवा, पोखरी वा धारामा गई स्नान गरी आज बिहान नरक चतुर्दशी पर्व मनाइएको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण चतुर्दशीको बिहान नदी, तलाउ, कुवा, पोखरी वा धारामा गई स्नान गरेर यो पर्व मनाइन्छ ।
स्नानपछि सालको पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर बगाउने कार्य पनि आज वैदिक सनातन हिन्दू धर्मावलम्बीले नेपालीले गरेका छन् । यसलाई नरक स्नान गर्ने र नरक बगाउने भनिन्छ । बोलीचालीको भाषामा नरके नुहाएर बगाउने नामलेसमेत यो पर्व चिनिने धर्मशास्त्रविद् प्रा तोयराज नेपालले राससलाई जानकारी दिनुभयो ।
आज यसरी नरके बगाएमा नरकको दर्शन गर्नु नपर्ने शास्त्रीय मान्यता रहेको उहाँले बताउनुभयो । यसैकारण आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । आजै कुकुरको पूजा गरी मीठा कुरा खान दिइँदै छ । आज बेलुकीपछि भने औँसी तिथि लाग्ने भएकाले धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना पनि साँझ गरिँदै छ ।
कुकुर तिहार र नरक चतुर्दशी यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण नरक चतुर्दशी कुकुर तिहार तेस्रो दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्रा डा पुरुषोत्तम भट्टराईले बताउनुभयो । बिहान अरुणोदयकालअघि चतुर्दशी तिथि परेका दिन नरक स्नान गरी बत्ती बालेर बगाउनुपर्ने भएकाले आज बिहान यो पर्व मनाउने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।
यस वर्ष कात्तिक २० गते शुक्रबारदेखि यमपञ्चक अर्थात् तिहार सुरु भएको हो । दोस्रो दिन शनिबार काग तिहार र धनवन्तरी जयन्ती पर्व मनाइएको थियो । यसलाई उज्यालोको चाड पनि भनिन्छ । यमपञ्चक लागेसँगै सहर, बजार झिलीमिली बनेको छ । दीपमालिकामा मानिस रमाएका छन् ।

प्रतिक्रिया