आज जनकपुर र सुदूरपश्चिम भिड्दै, प्लेअफको दौड रोमाञ्चक

आज जनकपुर र सुदूरपश्चिम भिड्दै, प्लेअफको दौड रोमाञ्चक


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत आज एक महत्त्वपूर्ण खेल हुँदैछ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स र दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुन लागेको हो। खेल अपराह्न ५ बजे सुरु हुने तालिका छ।

 आजको खेलमा सुदूरपश्चिम रोयल्स आफ्नो लय कायम राख्दै जित निकाल्ने योजनामा मैदान उत्रिनेछ। हालसम्म पाँच खेल खेलेको सुदूरपश्चिमले तीनमा जित र दुईमा हार बेहोरेको छ। ६ अङ्क जोडेको ऊ हाल अङ्क तालिकाको तेस्रो स्थानमा छ। आजको जितले सुदूरपश्चिमको प्लेअफ पुग्ने सम्भावनालाई थप बलियो बनाउनेछ।यता, पूर्व विजेता जनकपुर बोल्ट्स पनि आजको खेल जितेर प्रतियोगितामा सानदार पुनरागमन गर्ने योजनामा छ। पाँच खेल खेलेको जनकपुरले दुईमा जित र तीनमा हार बेहोर्दै चार अङ्कसहित तालिकाको  पाँचौँ स्थानमा चित्त बुझाएको छ। अघिल्लो चरण प्रवेशको सम्भावना कायमै राख्न जनकपुरका लागि आजको खेल निकै महत्त्वपूर्ण हुनेछ।

आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ।