‘इरानी धम्की’पछि अमेरिकी अर्थमन्त्री बेसन्ट सैन्य अड्डामा सरे

‘इरानी धम्की’पछि अमेरिकी अर्थमन्त्री बेसन्ट सैन्य अड्डामा सरे


काठमाडौं । अमेरिकी अर्थमन्त्री स्कट बेसन्ट आफ्नो ज्यानमाथि ‘इरानी धम्की’ बढेपछि वासिङ्टन डीसीस्थित घर छाडेर अमेरिकाकै एक अज्ञात सैन्य अड्डामा सरेका छन् ।

द न्युयोर्क टाइम्स र समाचार संस्था रोयटर्सले यस विषयसँग जानकार स्रोतहरूलाई उद्धृत गर्दै मंगलबार उनको स्थानान्तरणबारे समाचार प्रकाशित गरेका हुन् । यद्यपि, उनीमाथि दिइएको धम्कीको गम्भीरता कति छ भन्ने स्पष्ट भइसकेको छैन ।

इरानले यसअघि अमेरिकी भूमिमा रहेका अधिकारी र सर्वसाधारणमाथि आक्रमण गर्ने योजना बनाएको आरोप अस्वीकार गर्दै आएको छ ।

बेसन्टले गत अगस्टदेखि इरानमाथि अमेरिकी आर्थिक दबाब अभियानको नेतृत्व गर्दै आएका छन् । ‘अपरेसन इकोनोमिक आउटकास्ट’ नाम दिइएको उक्त अभियानमार्फत तेहरानलाई जहाजमाथिका आक्रमण रोक्न र स्ट्रेट अफ हर्मुज पुनः खोल्न दबाब दिने अमेरिकाको उद्देश्य छ ।

अप्रिलमा अमेरिकाले इरानी बन्दरगाहमा नाकाबन्दीको घोषणा गरेको थियो । तर, अमेरिकी नौसैनिक घेराबन्दीका बाबजुद तेहरान आफ्नो अडानबाट पछि हटेको छैन ।

रोयटर्सलाई इमेलमार्फत पठाइएको विज्ञप्तिमा अर्थमन्त्रीका प्रवक्ताले इरानी शासनको धम्कीबाट बेसन्ट विचलित नहुने बताएका छन् ।

“मन्त्री इरानी शासनको धम्कीबाट विचलित हुनुहुने छैन । उहाँ ‘अपरेसन इकोनोमिक आउटकास्ट’ कार्यान्वयन गर्न र नाकाबन्दी कायम राख्न प्रतिबद्ध हुनुहुन्छ । यी दुवै कदमले इरानको अर्थतन्त्र धराशायी बनाउँदै छन्,” विज्ञप्तिमा भनिएको छ ।

गत महिनाको अन्त्यतिर रोयटर्सले प्राप्त गरेको ट्रम्प प्रशासनका एक वरिष्ठ गुप्तचर अधिकारीको गोप्य ज्ञापनपत्रमा अमेरिकी नागरिकमाथि आक्रमण गर्ने इरानको योजना उन्नत चरणमा पुगेको चेतावनी दिइएको थियो ।

गत जनवरी २०२५ मा अर्थमन्त्रीका रूपमा नियुक्त भएको केही समयपछि बेसन्टले १ करोड २५ लाख अमेरिकी डलरमा खरिद गरेको जर्जटाउनस्थित आफ्नो विशाल घरको हवाई तस्वीर द वाल स्ट्रिट जर्नलले प्रकाशित गरेपछि उनीमाथि सुरक्षा चिन्ता थपिएको रोयटर्सले जनाएको छ । यस विषयमा जानकार एक स्रोतलाई उद्धृत गर्दै समाचारमा उक्त विवरण उल्लेख गरिएको छ ।

हवाई तस्वीरका कारण बेसन्टको घरको भौगोलिक अवस्थिति पहिचान गर्न सम्भव भएको थियो । त्यसपछि उनको सुरक्षाका लागि सैन्य अड्डामा सारिएको स्रोतले बताएको छ ।

“सार्वजनिक पदमा रहेका अधिकारीहरूमाथि धम्की बढिरहेका बेला सञ्चारमाध्यमले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ,” स्रोतले भनेको छ ।

द न्युयोर्क टाइम्सका अनुसार अमेरिकी अधिकारीहरूले इरानसँग अमेरिका र विदेशका अन्य क्षेत्रमा ठूलो स्तरमा आक्रमण गर्ने क्षमता सीमित रहेको बताएका छन् ।

तर, अमेरिकी राष्ट्रिय गुप्तचर प्रमुख जे क्लेटनले गत महिना तेहरानले मध्यपूर्व र अन्य क्षेत्रमा रहेका अमेरिकी नागरिकलाई निशाना बनाउने प्रयास ‘उल्लेख्य रूपमा बढाएको’ चेतावनी दिएका थिए ।

द न्युयोर्क टाइम्सले यस विषयमा जानकार तीन स्रोतलाई उद्धृत गर्दै इरानका ती प्रयासमा बेसन्टजस्ता बहालवाला र पूर्वअमेरिकी अधिकारीलाई निशाना बनाउने गतिविधि पनि समावेश रहेको जनाएको छ ।

इरानमाथि अमेरिका र इजरायलले गरेको युद्धका क्रममा सुरुवाती चरणमै इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीसहित उच्चपदस्थ अधिकारीहरू मारिएका थिए ।