काठमाडौं । अमेरिकामा एयर ट्राफिक कन्ट्रोल ९एटीसी० को सञ्चार प्रणालीमा प्राविधिक खराबी आएपछि देशभरका विमानस्थलमा चार घण्टाभन्दा बढी समय उडान रोक्नुपरेको छ । उडान रोकिँदा ८ हजारभन्दा बढी उडान रद्द भएका छन् भने करिब १५ लाख यात्रु प्रभावित भएका छन् । सुरक्षाको कारण देखाउँदै सङ्घीय उड्डयन प्रशासन ९एफएए० ले देशभरका विमानस्थलमा उडान रोक्न आदेश दिएको थियो । शुक्रबार राति उडानमाथिको प्रतिबन्ध हटाइए पनि शनिबारसम्म उडान रद्द तथा ढिलाइ हुने क्रम जारी रहेको छ ।
११ सेप्टेम्बर २००१ को आतङ्कवादी हमलापछि अमेरिकामा देशव्यापी रूपमा सबै उडान रोकिएको यो दोस्रो घटना हो । यसअघि सन् २०२३ को जनवरीमा एफएएको मुख्य कम्प्युटर प्रणालीमा खराबी आउँदा पनि यस्तै अवस्था सिर्जना भएको थियो ।
ट्रम्पले एटीसी प्रणाली सुधार्न मागे ३० अर्ब डलर
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको एयर ट्राफिक कन्ट्रोल प्रणाली आधुनिकीकरण गर्न ३० अर्ब अमेरिकी डलर अतिरिक्त बजेट माग गरेका छन् ।
उनले रिपब्लिकन सिनेटर एरिक स्मिटसँग फोनमार्फत कुराकानी गर्दै यससम्बन्धी विधेयक कंग्रेसबाट छिट्टै पारित गराउन आग्रह गरेका छन् । प्रस्तावित रकमबाट एयर ट्राफिक कन्ट्रोल प्रणाली, विमानस्थलका टावर, टर्मिनल तथा अन्य अत्यावश्यक उड्डयन पूर्वाधारको स्तरोन्नति गरिनेछ । अमेरिकी यातायातमन्त्री सिन डफीले भने प्रणालीको सामान्य मर्मतले मात्र नपुग्ने भन्दै पूर्ण आधुनिकीकरणका लागि ५० अर्ब डलर आवश्यक रहेको बताएका छन् । गत वर्ष कंग्रेसले यस प्रयोजनका लागि १२ अर्ब ५० करोड डलर स्वीकृत गरेको थियो ।
साइबर आक्रमणको सङ्केत छैन
अमेरिकी होमल्यान्ड सेक्युरिटी मन्त्री मार्कवेन मुलिनले एटीसी प्रणालीमा आएको खराबीमा साइबर आक्रमणको कुनै सङ्केत नदेखिएको बताएका छन् । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रारम्भिक अनुसन्धानले दूरसञ्चार प्रणालीमा प्राविधिक समस्या आएको देखाएको जानकारी दिएका थिए । यद्यपि, खराबीको वास्तविक कारण भने अझै पत्ता लागिसकेको छैन ।
उडान रोकिएको समयमा आकाशमा रहेका विमानलाई भने सुरक्षित रूपमा अवतरण गर्न अनुमति दिइएको थियो । विमानस्थलमा रहेका विमानले भने उडान भर्न पाएनन् । अमेरिकातर्फ आउँदै गरेका अन्तर्राष्ट्रिय उडानका विषयमा भने छुट्टाछुट्टै निर्णय गरिएको थियो ।
सिकागोबाट सुरु भएको थियो समस्या
प्राप्त विवरणअनुसार अमेरिकाभर एकैपटक उडान रोकिएको थिएन । सिकागोस्थित ओ’हारे र मिडवे विमानस्थलमा सञ्चार प्रणालीमा समस्या देखिएपछि सुरुमा त्यहाँका उडान रोकिएका थिए । पछि समस्या अन्य एयर ट्राफिक कन्ट्रोल सेन्टरमा समेत देखिएपछि देशव्यापी रूपमा ‘ग्राउन्ड स्टप’ लागू गरिएको थियो ।
यसैबीच, नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रणालीका कारण सञ्चारमा समस्या आएको हो कि भन्ने विषयमा पनि एफएएका अधिकारीहरूले अनुसन्धान गरिरहेका छन् । उक्त प्रणालीले एयर ट्राफिक कन्ट्रोललाई सम्भावित समस्या पहिचान गर्न तथा विमानको रुट परिवर्तन गर्न सुझाव दिने काम गर्छ ।
अमेरिकाले पुरानो उड्डयन प्रविधिलाई विस्थापित गर्दै फाइबर अप्टिक केबल र नयाँ रेडियो प्रणाली जडान गर्ने परियोजना अघि बढाइरहेको छ ।
उडान रद्द भए यात्रुले पूर्ण रकम फिर्ता पाउने
अमेरिकामा उडान रद्द भएमा यात्रुले टिकटको पूर्ण रकम फिर्ता पाउने व्यवस्था छ । उडान रद्द हुनुको कारण जेसुकै भए पनि यो नियम लागू हुने उल्लेख छ । त्यस्तै, उडानमा उल्लेख्य ढिलाइ भएमा वा समय परिवर्तन हुँदा यात्रुले यात्रा नगर्ने निर्णय गरे पनि रकम फिर्ता माग्न सक्नेछन् ।थ्याङ्क्सगिभिङ पर्वको बिदाभन्दा करिब दुई साताअघि भएको यो घटनाले अमेरिकी हवाई यातायात क्षेत्रमा थप चुनौती सिर्जना गरेको छ । ‘एयरलाइन्स फर अमेरिका’ का अनुसार बिदाको समयमा अमेरिकी एयरलाइन्समार्फत दैनिक औसत २७ लाख यात्रुले यात्रा गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया