जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिने तयारी गरेका छन् । विश्वासको मतका लागि आवश्यक बहुमत जुटाउन नसकेपछि उनले आफू निकट नेता तथा सांसदहरूसँग छलफल गरेर राजीनामा दिने तयारी गरेका हुन् ।
एक महिनादेखि अल्पमतको सरकार सञ्चालन गरिरहेका मुख्यमन्त्री यादवले शनिबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् । तर, आवश्यक समर्थन जुटाउन नसकेपछि उनको सरकारको भविष्य अनिश्चित बनेको छ । १०७ सदस्यीय मधेश प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ । तर, हाल कायम १०३ सांसदमध्ये मुख्यमन्त्री यादव नेतृत्वको नेपाली कांग्रेसका २२ सांसद मात्रै छन् । नेकपा एमाले र नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि यादव नेतृत्वको सरकार अल्पमतमा परेको हो ।
विश्वासको मत प्राप्त गर्न नसके मुख्यमन्त्री यादव पदमुक्त हुनेछन् र त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ । मधेश प्रदेशसभामा २८ सिटसहित जनता समाजवादी पार्टी (जसपा) सबैभन्दा ठूलो दलका रूपमा रहेको छ । जसपाले नयाँ सरकारको नेतृत्व गर्ने रणनीति बनाइरहेको छ ।
त्यस्तै, एमालेका २४, नेपाली कांग्रेसका २२, नेकपाका १४ र जनमत पार्टीका १२ सांसद छन् । नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक–एक सांसद छन् । विश्वासको मत लिने प्रयोजनका लागि शनिबार दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।

प्रतिक्रिया