सरकार सोसल मिडियामा सफल, यथार्थमा कमजोर: शंकर पोखरेल

सरकार सोसल मिडियामा सफल, यथार्थमा कमजोर: शंकर पोखरेल


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा समस्या, सन् १९५० को सन्धि पुनरावलोकन र नेपाली कृषि उपजको बजार पहुँचजस्ता राष्ट्रिय मुद्दा ओझेलमा परेको टिप्पणी गर्नुभएको छ।

प्रेस चौतारी नेपाल, दाङले आयोजना गरेको पत्रकार भेटघाटमा पोखरेलले काठमाडौँ महानगरमा ग्रेटर नेपालको नक्सा राख्ने प्रधानमन्त्रीले भारत भ्रमणमा सीमा र सुगौली सन्धिपछिका विषयमा छलफलसमेत नगरेको बताउनुभएको हो ।

हवाई रुटको सहमति सकारात्मक भए पनि कार्यान्वयनमा आशंका व्यक्त गर्दै उहाँले विदेशी ऋण नलिने बताउने रास्वपा नेतृत्वको सरकारले अहिले भारतबाट ऋण लिनुलाई उपलब्धिका रूपमा प्रस्तुत गर्नु उसको पुरानो दृष्टिकोणमा आएको परिवर्तन भएको उल्लेख गर्नुभयो।
साथै, सरकार सुशासन र विकासमा कमजोर साबित भएको आरोप लगाउँदै पोखरेलले स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्ने र आगामी चुनावमा वामपन्थी तालमेलको अनौपचारिक सम्भावना रहेको बताउनुभयो।