‘ड्रग एडिक्ट’काे अखडा बन्दै छ धरान ? २ वर्षमै समातिए १८० युवा–युवती

‘ड्रग एडिक्ट’काे अखडा बन्दै छ धरान ? २ वर्षमै समातिए १८० युवा–युवती


धरान ।

धरानमा लागुऔषध दुर्व्यसनी बढेको भन्दै स्थानीयहरुले चिन्ता व्यक्त गरेका छन् ।

लागुऔषधको अवैध ओसारपसार र बिक्री वितरण रोक्न विशेष पहल हुनुपर्नेमा उनीहरु जोड दिन्छन् । विशेषगरी धरानको वडा नं ८ र १५ मा लागुऔषध प्रयोगकर्ताको बाक्लो संख्या रहेको उनीहरु बताउँछन् ।

गैरसरकारी संस्था र स्थानीय सरकारले सञ्चालन गरेका कार्यक्रम प्रभावकारी नभएको स्थानीय समिर श्रेष्ठ बताउँछ्न। भन्छन्, ‘लागुऔषध न्यूनीकरणका लागि कानुन कार्यान्वयनसँगै विभिन्न सरकारी तथा गैरसरकारी निकायले गरेका कार्यक्रमलाई प्रभावकारी बनाउन म सुझाव दिन्छु।’

धरानको वडा नं १५ मा लुकीछिपी लागुऔषध कारोबार हुने गरेको स्थानीय कमल थापाले बताए । यहाँ ब्राउनसुगर र गाँजाको प्रयोगकर्ता धेरै रहेको उनको भनाइ छ । उनी भन्छन्, ‘धरान लागुऔषध कारोबारीको केन्द्र बनिसकेको छ । प्रहरीले वडा नं १५ मा मिसन चलाएर पक्राउ गर्न सुरु गरे धरानका थुप्रै ड्रग डिलर समातिने थिए । साना माछा समातिएपछि ठूला माछा जालमा पर्छन् ।’

पछिल्लो समय लागुऔषध कारोबारको उच्च जोखिममा रहेको धरानमा दैनिकजसो युवा–युवती लागूऔषधसहित पक्राउ परिरहेका छन् । भारतीय सीमा जोडिएका सहर विराटनगर र काँकडभिट्टा गएर लागुऔषध सेवन गर्ने र ओसारपसार गर्ने गरेको प्रहरीको भनाइ छ । प्रहरीले आर्थिक वर्ष २०७८ देखि चालु आर्थिक वर्षको हालसम्म करिब १८० जनालाई लाुऔषध मुद्दामा पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अनुसार आर्थिक वर्ष २०७८र०७९ मा ५५ वटा मुद्दा दर्ता भएकोमा ८३ जनालाई पक्राउ गरेको जानकारी दिए । त्यसतै आर्थिक वर्ष २०७९–०८० मा ५९ वटा मुद्दा दर्ता भएकोमा ७८ जना पक्राउ गरेको उनले बताए । ‘जिल्लाभरि नै लागुऔषध नियन्त्रण र विद्यालयस्तरमा सचेतनाका कक्षा सञ्चालन भइरहेका छन्’, डिएसपी मल्लले भने, ‘लागुऔषध पूर्णरूपमा नियन्त्रणमा ल्याउन स्थानीय नागरिक, पालिका र सबैको सहयोग आवश्यक पर्छ।’

लागुऔषध नियन्त्रणका लागि जनचेतनाका अभियान लगायत चेकिङमा जोड दिइएको प्रहरीको भनाइ छ । धरानमा लागुऔषधको दुर्व्यसनमा किशोर किशोरी तथा बालबालिकाको संख्या बढ्दै गएका छ ।

प्रहरीका अनुसार लागुऔषधको मुख्य स्रोत साथीसंगी रहेका छन् । जसमा ६७.७ प्रतिशत लागुऔषधको स्रोत साथीसंगी, डुलुवा बिक्रेता १४.१ प्रतिशत, औषधि पसल ८.४ प्रतिशत, अन्य पसल ७.२ प्रतिशत, इन्टरनेटको माध्यम २.४ प्रतिशत र अन्य ०.२ प्रतिशत लागुऔषधका स्रोत रहेको प्रहरीको भनाइ छ ।