कञ्चनपुर ।
५ वर्षअघि सञ्चालनमा ल्याएको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको एक्सरे मेसिन अढाइ वर्षदेखि थन्किएको छ ।
भारतबाट आउने यात्रुको स–सामान जाँच तथा सुरक्षाका दृष्टिकोणले पनि एक्सरे मेसिन सञ्चालनपछि सहज भए पनि विगत अढाइ वर्षयता मेसिन सञ्चालन हुन सकेको छैन ।
सुदूरपश्चिमकै प्रमुख नाका गड्डाचौकीको यात्रु शाखामा स्थापना भएको मेसिन जिर्ण अवस्थामा छ ।
कञ्चनपुर भन्सार कार्यालयका भन्सार अधिकृत तेजबहादुर रावलले मेसिनको सफ्टवेयरमा खराबी आउँदा मेसिन बन्द भएको बताए । एक करोडको लागतमा भन्सार विभागले खरिद गरी कञ्चनपुर भन्सार कार्यालयमा ५ वर्षअघि जडान गरिएको थियो ।
गड्डाचौकी भन्सार भएर सर्वसाधारण भारतको राजधानी नयाँ दिल्ली, बैंग्लोर, सिमला, देहरादुन, मुम्बै, हरिद्धारलगायतका ठाउँमा जाने गरेका छन् ।
५ वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेकका भन्सारमध्ये पहिलोपटक जडान भएको मेसिन सञ्चालनमा ल्याउन भन्सार कार्यालयकै बेवास्ता देखिएको छ ।
“मेसिन बनाउन इन्जिनियरसहितको प्राविधिक टोली चाहिन्छ”, भन्सार अधिकृत रावलले भने, “मेसिन सञ्चालनका लागि आवश्यक जनशक्ति पनि भएन ।” एक्सरे मेसिन सञ्चालनमा नआउँदा भन्सार नाकामा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारी आउने सामान हातले छामेर जाँच गर्ने गरेका छन् ।
“मेसिन सञ्चालनका लागि विभागमा पहल गरेका छौँ”, रावलले भने, “प्राविधिक टोलीले मेसिन मर्मत गरेपछि पुनः सञ्चालनमा आउँछ ।”
प्रतिक्रिया