सुधारगृहको छतबाट हामफालेर २ बालकैदी फरार

सुधारगृहको छतबाट हामफालेर २ बालकैदी फरार


वीरगन्ज ।

वीरगन्जस्थित बाल सुधारगृहबाट आज २ बाल कैदीबन्दी फरार भएका छन् ।

कर्तव्य ज्यान मुद्दाका सर्लाही निवासी अमरकान्त ठाकुर र जबर्जस्ती करणी मुद्दाका सप्तरी निवासी पाण्डव यादव बाल सुधारगृहको छतबाट हामफालेर फरार भएका हुन् ।

दुवै अभियुक्तलाई अदालतले दोषी ठहर गरेपछि आचरण सुधारका लागि बाल सुधारमा राखिएको थियो । फरार दुवैजनाको खोजी भइरहेको पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।

क्षमताभन्दा बढी बाल कैदीबन्दी भएकाले मधेस प्रदेशको एकमात्र सुधारमा गृह यतिबेला समस्या सिर्जना भएको छ । न्यून भौतिक पूर्वाधार, बजेटको अभाव, सरकारी उदासिनता र क्षमताभन्दा बढी बालक र किशोरहरू कोचेर राख्नुपर्ने बाध्यताका कारण सुधारगृह समस्यामा परेको हो ।

६० जनाको क्षमता भएको सुधारगृहमा हाल दोब्बरभन्दा बढी १२६ बालक तथा किशोरलाई कोचेर राखिएकाले बालक तथा किशोरहरूमा स्वास्थ्य समस्यासँगै सुधारगृह व्यवस्थापनमा समेत कठिनाइ भइरहेको त्यहाँका प्रमुख टीकाकृष्ण काफ्लेले बताए ।

ठाउँ अभावका कारण सो गृहमा बालबालिका उकुसमुकुसका साथ दैनिक जिवन बिताउन बाध्य छन् ।