अर्जुनधाराका अहेव बस्नेतलाई शाखा प्रमुखको जिम्मेवारीबाट हटाइयो

अर्जुनधाराका अहेव बस्नेतलाई शाखा प्रमुखको जिम्मेवारीबाट हटाइयो


झापा ।

अर्जुनधारा नगरपालिकाले सिनियर अहेव मुकुन्द बस्नेतलाई स्वास्थ्य शाखा प्रमुखको जिम्मेबारीबाट हटाएको छ ।

केही दिनयता सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा स्वास्थ्य शाखा प्रमुख बस्नेत शनिश्चरे अस्पतालकी महिला स्वास्थ्यकर्मीसँगको भिडिओ सार्वजनिक भएको थियो ।

सोही घटनालाई लिएर आज बसेको शनिश्चरे अस्पताल व्यवस्थापन समितिको बैठकले बस्नेतलाई अर्को व्यवस्था नभइञ्जेलसम्म शाखा प्रमुखको जिम्मबारीबाट हटाउन नगरपालिकालाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

व्यवस्थापन समितिको सिफारिसको आधारमा बस्नेतलाई आजैको मितिदेखि स्वास्थ्य शाखा प्रमुखको जिम्मेबारीबाट हटाएको नगरपालिकाले जनाएको छ ।

शनिश्चरे अस्पताल व्यवस्थापन समितिका सदस्यसमेत रहेका बस्नेतलाई लिखित स्पष्टिकरणका लागि ३ दिनको म्याद पनि दिइएको छ । यसैगरी, घटनामा संलग्न भनिएकी महिला स्वास्थ्यकर्मीलाई पनि स्पष्टिकरणका लागि ४८ घण्टाको समय दिएको अस्पताल व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।

यता बस्नेतले भने लेनदेनको विषयमा सडकको किनारमा बसिरहेका समयमा कसैले आफ्नी श्रीमतीलाई उकासेर घटना भएको बताएका छन् ।

उनले श्रीमती, भिडिओमा देखिएकी ती युवती र आफूसमेत भएर पत्रकार सम्मेलन गर्ने तयारी गरिरहेको जानकारी दिए ।