काठमाडौं ।
सरकारले स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने व्यक्तिलाई ३ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना गराउने व्यवस्था गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूलाई कुटपिट गर्न वा शारीरिक रूपमा चोट पुर्याउने कार्य गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद वा ३ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको हो ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) बमोजिम सो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
साथै स्वास्थ्यकर्मीको सुरक्षामा अवरोध पुर्याउने, हातपात गर्नेमाथि यसै कानुन अनुसार कारबाही गर्न नेपाल सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको जनाइएको छ ।
यसैगरी, स्वास्थ्य संस्थामा आगजनी गरे २ देखि ५ वर्षसम्म कैद वा २ लाख रुपैयाँदेखि ५ लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था सो ऐनमा उल्लेख गरिएको छ ।
साथै स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्याए पनि ३ वर्ष कैद वा ३ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
यसैगरी, स्वास्थ्य संस्थामा तालाबन्दी गर्न वा घेराउ गरे, स्वास्थ्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीहरूको उपचार गर्ने कार्यमा कुनै किसिमको बाधा पुर्याए र स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूलाई हातपात गरे एक वर्ष कैद वा एक लाख रुपियाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया