३ संगठनले कान्तिपुरलाई भने : ऐनविपरीत पत्रकार हटाए कडा आन्दोलन गर्न बाध्य हुनेछौँ

३ संगठनले कान्तिपुरलाई भने : ऐनविपरीत पत्रकार हटाए कडा आन्दोलन गर्न बाध्य हुनेछौँ


काठमाडाैँ । 

कान्तिपुर मिडिया ग्रुपले श्रमजीवी पत्रकारहरूलाई सेवाबाट निष्कासन गरेकाे विषयमा पत्रकारका ३ स‌गठनले आपत्ति जनाएका छन् ।

श्रमजीवी पत्रकार ऐनविपरीत श्रमजीवी पत्रकारहरूलाई सेवाबाट हटाइएकाे घटनाप्रति आपत्ति जनाउँदै पत्रकारका ३ संगठन नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका हुन् ।

युनियनका अध्यक्ष शिव लम्साल, चाैतारीका अध्यक्ष गणेश बस्नेत र सेन्टरका अध्यक्ष विष्णु सापकाेटा जुगलद्वारा हस्ताक्षरित विज्ञप्तिमा श्रमजीवी पत्रकारका माग र आग्रहलाई बेवास्ता गरिए कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिइएकाे छ । त्यसबाट उत्पन्न हुन सक्ने समस्याप्रति कान्तिपुर व्यवस्थापन स्वयं जिम्मेवार र जबाफदेही हुने उनीहरूकाे चेतावनी छ ।

‘कान्तिपुरले लामो अवधि काम गरेका स्थायी तथा करार, स्ट्रिन्जर पत्रकारको सम्झौता नवीकरण नगर्ने, इमेलमार्फत अवकाशपत्र पठाउने, कतिपयलाई स्ट्रिन्जर बस्न र केहीलाई राजीनामा दिन बाध्य बनाउन मानव संशाधन विभागबाट फोन गरेर टर्चर दिने जस्ता कार्य गरेको पीडित पत्रकारले गुनासो गरेका छन्,’ विज्ञप्तिमा भनिएकाे छ, ‘मुलुकमा देखिएको आर्थिक मन्दीको कारण देखाउँदै कान्तिपुरले वर्षौँ कार्यरत श्रमजीवी पत्रकारको सम्झौता नवीकरण नगर्ने, अवकाशपत्र दिने, राजीनामा दिन बाध्य बनाएर रित्तो हात घर पठाउन खोज्नु, स्थायीलाई स्ट्रिन्जरमा झार्न खोज्ने कार्य निन्दनीय छ । श्रम ऐनमा भएको व्यवस्था विपरित पत्रकारलाई जबरजस्ती यस्ता कार्य तत्काल रोक्न आग्रह गर्दछौँ । नेपालको प्रचलित ऐन, कानुन अनुसार पत्रकारको पेसागत सुरक्षाको ग्यारेन्टी गर्न कान्तिपुर समक्ष अनुरोध छ ।’

कान्तिपुरमा कार्यरत पत्रकारले व्यस्थापन समक्ष राखेका पत्रकारका मागहरूप्रति आफूहरूकाे पूर्ण समर्थन र ऐक्यबद्धता रहेकाे उनीहरूले जनाएका छन् । पत्रकारका मागलाई तत्काल सम्बोधन गर्दै श्रमजीवी पत्रकार ऐनमा भएको व्यवस्था अनुसार व्यवहार गर्न उनीहरूकाे माग छ ।

कानुनी आधारलाई टेकेर वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्न कान्तिपुर व्यवस्थापनसँग आग्रह गरिएकाे छ ।