१ केजी नुनको मूल्य हजार रुपैयाँ !

१ केजी नुनको मूल्य हजार रुपैयाँ !


सुर्खेत।

डोल्पामा आयोडिन यूक्त नुन अभाव भएको छ ।

पुरानो नुन सकिएको र नयाँ ठेक्काको नुन आइनपुगेकोले डोल्पामा नुनको अभाव भएको हो ।

अहिले सदरमुकाम दुनैबाट प्रतिव्यक्ति ५ पोका मात्र दिने गरिएको साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडबाट डोल्पामा अनुदानको नुन वितरण हुँदै आएको छ ।

सदरमुकाम स्थित डिपोमा ४९० क्वीन्टल आयोडिनयूक्त नुन मौजदात रहेको कार्यालय प्रमुख प्रकास धामीले बताए । उनको अनुसार यो नुन भनेको अत्यन्तै न्यून हो ।

जिल्ला भरीका सर्वसाधारणका लागि सदरमुकाममा मात्र नुन आइने भएपछि प्रतिव्यक्ति मुस्किलले ५ पोका दिने गरेको प्रमुख धामीले बताए ।

सदरमुकामबाट बाहिर रहेका सबै नुनका डिपोहरु रित्ता भएका छन् । उपल्लो डोल्पाको तिन्जे डिपोमा पाँच वर्ष देखि एक पोका नुन ढुवानी भएको छैन ।

चिनियाँ नाका भएर उपल्लो डोल्पामा नुन ढुवानी हुने भएपछि त्यहाँ नाका बन्द भएपछि ५ वर्ष देखि नुन ढुवानी हुन नसकेको धामीले बताए ।

गाउँका डिपोमा नुन नै नभएपछि आफू सदरमुकाम स्थित डिपोमा नुन लिन पुग्दा समस्य भोगेको त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीयबासी राजिमान बुढाले बताए । बुढाले भने , ‘ नुन लिन सदरमुकाम जानुपर्ने भएपछि समस्या एकातीर छ भने अर्को तीर सदरमुकाम दुनै स्थित साल्ट ट्रेडिङले प्रति परिवार २ पोकाका दरले नुन बिक्री गर्दै आइरहेको छ । सरकारले सहुलियत दरमा अनुदान दिएको २ पोका नुन खरिद गर्न २ देखि ३ हजार रुपैयाँ सम्म खर्च हुने हुने गर्छ ।’

यसरी हेर्दा १ केजी नुनको मूल्य एक हजार रुपैयाँ बराबर पर्ने गर्छ । साल्ट ट्रेडिङ डोल्पा डिपोको अनुसार भनेजति नुन दिएको खण्डमा डोल्पामा नुन नै अपुग हुने भएका कारण सबैलाई मिलाएर दिन परेको हो । यी पाँच वटै विक्री केन्द्रमा नुनको ढुवानी नभएपछि अभाव भएको हो ।

नुनको कोटा थप गर्न सम्बन्धित निकायसँग माग गरेको साल्ट्र ट्रेडिङ डिपो कार्यालय डोल्पाका प्रमुख धामीले बताए । साल्ट ट्रेडिङ डोल्पा डिपोका अनुसार डोल्पाको नुनको लागि ठेक्का आह्वान भई नुन ढुवानी प्रक्रियामा गएको र दसैँ तिहारपछि मात्रै नुन डोल्पा पुग्ने प्रमुख धामीले जानकारी दिए ।

यता त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकायाले नगरपालिकाभरि नुनको अभाव हुन थालेपछि साल्ट ट्रेडिङ जुफाल विक्री केन्द्रबाट ५० क्विन्टल नुन ल्याउन लागेको बताए । नगरपालिकामा नुन ल्याएसँगै नगरवासीलाई सहुलियत दरमा अनुदानको नुन बिक्री गर्ने समेत नगर प्रमुख रोकायले बताए ।

लिकु , सर्मी , तिज्ने लगाएतका डिपोमा एक पोका नुन नभएको कार्यालय प्रमुख धामीले बताए । सदरमुकाम देखि बाहिरका डिपोमा कर्मचारीसमेत नभएको अवस्थामा रहेको छ । ठेकेदार आफैँले नुन लिएर बिक्री गर्ने काम हुँदै आएको छ ।

भेरी करिडोरको सडक मर्मत नभएका कारण थप ढुवानीमा समस्य हुँदै आएको छ । गाउँको डिपोमा लामो समय देखि आयोडिन यूक्त नुन नभएको पाइएको छ । सदरमुकाममा मात्र नुन राखेर जिल्ला भरी सोही नुन बिक्री हुँदै आएको छ । गाउँमा नामका मात्र डिपो भएका कारण यहाँका सर्बसाधारणले नुन नपाएका हुन् ।

जनप्रतिनिधिहरुले पटक ,पटक नुनको माग गर्दा पनि सुनुवाइ नभएको उपल्लो डोल्पामा जनप्रतिनिधिले बताएका छन् । डोल्पाबुद्ध गाउँपालिकाका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङले उपल्लो डोल्पाका कुरा सरकारले नसुुनेको बताए । चामल , नुन ढुवानी नभएको पाँच वर्ष भयो यो सरकारले के हेरेर बसेको छ ।