महोत्तरी ।
पछिल्लो समय मधेसमा कुनै पनि उत्सव तथा पर्वमा ‘डिजे’सहित ठुलो स्वरले बाजा बजाएर ध्वनि प्रदूषण गर्नु ‘संस्कार’ जस्तै बनेको छ । मधेसका ग्रामीण बस्तीहरूमा बिहान पूजापाठ गर्दा होस् या मन्दिरमा भजनकीर्तन गर्दा, दिनहुँ माइकसहित बजाइने ‘डिजे’को कर्कश ध्वनि नियमितजस्तै बनेको छ ।
तर, यो परम्परागत या धार्मिक संस्कार भने होइन । पछिल्लो आधा दशकयता फैलिएको डिजे आतंक अहिले मधेसमा यसरी फैलिएको छ कि, मानौँ यो अनिवार्य संस्कार नै हो ।
यसका लागि सम्बन्धित जिल्लाका प्रशासन कार्यालय, स्थानीय सरकारले न्यूनीकरण गर्न थुप्रै निर्देशन जारी गरिसकेका छन् । तर। स्थानीयको डिजे मोहका अगाडि उनीहरूको प्रयास पटक–पटक विफल बनेको देखिन्छ ।‘हामीले डिजेलाई प्रतिबन्ध लगाउन दर्जनौँ पटक सूचना निकालेका छौँ । कतिपयलाई कारबाही पनि गरेका छौँ,’ महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले भने, ¬‘तर न्यूनीकरण हुनुको सट्टा झन् फैलिएको पाइएको छ ।’
भारतको बिहार प्रदेशमा भोजपुरी गीत बजाउँदै नाच्ने र रमाइलो गर्ने चलन बढी छ । त्यसैको प्रभाव मधेसमा पनि फैलिएको हुन सक्ने जनप्रतिनिधिहरू बताउँछन् । स्थानीय सरकारले पनि डिजेका कारण ध्वनि प्रदूषण हुन थालेपछि यसको उन्मूलनका लागि नीति तथा कार्यक्रम नै बनाएका छन् । बर्दिबास नगरपालिकाको १२औँ नगरसभाले डिजेबाट हुने ध्वनि प्रदूषणलाई रोक्न निर्मम ढंगले लागिपर्ने भन्दै नीति तथा कार्यक्रम नै पास गरायो । मधेसमा नगरसभा सकाएका धेरैजसो स्थानीय सरकारले बर्दिबास नगरपालिकाजस्तै डिजे, बाजा र हो–हल्ला हुने जुनसुकै साउन्ड सिस्टममा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।
चिकित्सकहरूका अनुसार स्वास्थ्यका दृष्टिकोणले समेत ध्वनि प्रदूषण अत्यन्त घातक मानिन्छ । तर, आतंककै रूपमा फैलिएको डिजे न नियन्त्रण हुने छाँटकाँट छ, न त निर्देशनको पालना नै । ठुलो स्वरमा भोजपुरी गीत, भजन, कीर्तन र पूजापाठ गर्ने प्रक्रियामा डिजे बजाउनु आफ्नो गौरव ठानिरहेका छन्– मधेसका स्थानीय । निकै भयानक रोग जसरी फैलिरहेको डिजे आतंकले मधेसलाई यसरी आक्रान्त बनाएको छ कि कतिपय त डिजेकै कारण गाउँबाट विस्थापितसमेत बनेका छन् ।
बर्दिबास–९ का वडाध्यक्ष घुरन महतोका अनुसार पर्व, उत्सवमा मात्र होइन, घरमा थकान मेटाउने भन्दै दैनिक ध्वनि प्रदूषण हुन थालेपछि पशुपतिनगरका कतिपय स्थानीय शान्ति खोज्दै नगरभित्रकै गौरीडाँडा, चेरु जस्ता ठाउँमा बसाइँसराइ गरिरहेका छन् । चिकित्सकहरूका अनुसार रक्तचाप, मुटुसम्बन्धी रोग भएका बिरामीलाई उच्च ध्वनि बिष सेवन गरेसरह हुन्छ । त्यसकारण पनि मधेसमा फैलिरहेको डिजे आंतक जसरी पनि रोकिनुपर्ने डा. प्रवीण मिश्र सुझाउँछन् ।
मधेसका ८ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयहरूले डिजे र ठुलो स्वरबाट बजाइने सम्पूर्ण बाजा तथा संगीत प्रतिबन्ध नै लगाएका छन् । यति मात्र होइन, स्थानीय तह र वडाले समेत यसलाई कडाइ गरिरहेका छन् । तर, डिजे आतंक नियन्त्रण प्रशासन र स्थानीय सरकारको प्रमुख चुनौती बन्दै गएको छ । अझ मधेसका देहाती गाउँहरूमा त यो झन् आक्रामक रूपमा फैलिरहेको छ ।
लोप भए पौराणिक बाजागाजा
मधेसमा चाडपर्वमा बजाइने पुराना बाजाहरू लोप हुँदै गएका छन् । चाडपर्व र मेलामहोत्सवमा चर्को स्वरमा डिजेमा भोजपुरी उत्ताउला गीतले प्रश्रय पाउँदा मौलिक बाजा र संस्कार लोप हुने खतरामा पुगेको हो । पछिल्ला केही वर्षयता यही डिजेका कारण चाडपर्वको रौनकसमेत घटेको छ । ढोलक, डम्फु, हार्मोनियमको तालमा मौलिक गीतहरू गाउनुको सट्टा भोजपुरी गीतसहित बज्ने डिजे आतंकले पुरानो पुस्ता चिन्तित बन्दै गएको छ ।
सोनामाका ८५ वर्षीय राममनोहर छोराछोरीको डिजे मोहले पुरानो संस्कार र संस्कृति समेत लोप हुने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गर्छन् । मौलाउँदो डिजे आतंकका कारण मधेसमा दसैँ, तिहार नजिकिएसँगै गाइने मौलिक गीतसहित नाचिने झिझिया नाचको उत्साह र उमंग हराउँदै जान थालेको छ ।
‘डाइन भतर कटनो, नया गुण सिकेली !
डाइन के दुनो आँख घोपबो हे !!
झिझिया खेले गइलोमें बाबा चहुपरिया !
झिझिया खेले गइले पहराइले हो !!’
दसैँ भित्रिएसँगै गाइने यस्ता मौलिक गीतहरूलाई समेत डिजेले विस्थापन गरेको छ । जसको असर परम्परागत संस्कार र संस्कृतिमा परेको देखिन्छ । २०५६ सालमा नेपाल सरकारको हुलाक विभागले झिझिया नृत्यको सांस्कृतिक महत्व झल्किने हुलाक टिकट समेत प्रकाशनमा ल्याएको थियो । यति धेरै महत्व बोकेको सांस्कृतिक चाडलाई डिजेले विस्थापन गर्ने अवस्था सिर्जना भए पनि नयाँ पुस्ता भने डिजे मोहमै रमाइरहेको छ ।
के भन्छन् सरोकारवाला ?
विद्यालय क्षेत्रमा समेत डिजे आतंक मच्चिएपछि हामीले त्यसलाई रोक्न निकै मिहिनेत गयौँ । तर, पछिल्लो समय डिजे बजाउनु शान र मानका रूपमा लिँदा हाम्रो वडामा डिजे अराजक ढंगले प्रयोग गरेको देखिएको छ । हामीले नगरसभाबाट समेत डिजे आतंकलाई निरुत्साहित गर्न डिजे रोक्ने कार्ययोजना बनाएका छौँ ।
-पदम आलेमगर, वडाध्यक्ष-बर्दिबास नगरपालिकाका
मधेस प्रदेशका प्रायजसो जिल्ला प्रहरी कार्यालयले डिजे रोक्न निकै ध्यान दिएका छन् । डिजे बजाएर हो–हल्ला गर्ने धेरै जनालाई हामीले कारबाही गरेका छौँ । तर, संस्कार जसरी नै विकसित भएको डिजे रोक्न चुनौती नै खडा भएको छ । हामी मानवीय स्वास्थ्यदेखि हरेक दृष्टिकोणले डिजे रोक्न चाहन्छौँ । हामीले प्रयास पनि गरिरहेका छौँ ।
– प्रकाश मल्ल, प्रहरी उपरीक्षक
विद्यालय क्षेत्रमा समेत डिजेले आक्रान्त बनाइरहेको छ, जसको असर सीधा पठनपाठनमा परेको देखिन्छ । गाउँलेले डिजेलाई निरुत्साहित गर्नुको सट्टा झन् मलजल गर्नुले पनि यसको नकारात्मक असर फैलिने क्रममा छ । यो समयमा नै नियन्त्रण हुन सकेन भने मधेसका गाउँ गम्भीर ध्वनि प्रदूषणको चपेटामा पर्ने निश्चित छ ।
–कुमार घिमिरे, प्रधानाध्यापक
सामाजिक सद्भाव र सामाजिक एकतामा खलल पुग्ने गरी कुनै पनि क्रियाकलाप गर्न हुँदैन । धार्मिक स्वतन्त्रता र व्यक्तिगत स्वतन्त्रताका विषयमा सबैजनाले ख्याल गर्नुपर्छ । विविधताबीचको एकतामा खलल पुगे राष्ट्रिय एकतामाथि नै समस्या आउन सक्छ ।
–नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा गृहमन्त्री
बालबालिकाको पढ्न पाउने अधिकार हनन
डिजेको उच्च ध्वनिले मधेसको देहातमा विद्यार्थीहरूको पठनपाठनमा गम्भीर असर पर्ने अवस्था देखिएको छ । सामान्य पर्व तथा भजनकीर्तनका लागि समेत उच्च आवाजमा बजाइने ध्वनिले ठुलो असर पारिरहेको शिक्षकहरू बताउँछन् ।
‘पठनपाठनमा असर पर्ने स्थिति सिर्जना भएपछि हामीले स्थानीय सरकारलाई कैयौँ पटक ध्यानाकर्षण समेत गराएका छौँ,’ जनहित नन्दलाल माध्यमिक विद्यालय चौलिखाका प्रधानाध्यापक कुमार घिमिरेले भने, ‘यो वास्तवमै विकराल समस्याका रूपमा देखिँदै छ ।’
अझ विवाहको समयमा त उत्सवका रूपमा ३ दिनसम्म बजाइने गीत र डिजेले बालबालिकामा मानसिक रूपमा समेत असर पारिरहेको विद्यालयका शिक्षकहरू बताउँछन् । सामुदायिक शिक्षाको विषयमा बारम्बार प्रश्न उठिरहेका बेला डिजेले समेत पठनपाठन अवरुद्ध बनाइरहेको सरोकारवालाहरू बताउँछन् ।
नेपालको संविधानले बालबालिकालाई शान्त वातावरणमा पढ्न पाउने हकलाई सुनिश्चित गरेको छ । तर, पठनपाठन नै अवरुद्ध हुने गरी बजाइने डिजेमाथि पटक–पटक प्रश्न उठे पनि अभिभावक भने डिजे मोहमै लिप्त देखिन्छन् ।
साम्प्रदायिक द्वन्द्व हुन सक्ने चिन्ता
हिन्दुसँगै मुस्लिमहरूको बाहुल्य रहेको मधेसमा डिजेकै कारण साम्प्रदायिक हिंसासमेत भड्किन सक्नेतर्फ सरोकारवालाहरूले सचेत गराएका छन् । ठुलो आवाजमा डिजे बजाउँदा अन्य धर्मावलम्बीहरूले जबरजस्ती संस्कृति लाद्न खोजेको महसुस गर्ने हुँदा सचेत रहन संस्कृतिविद्हरूले सचेत गराएका हुन् ।
सुरक्षाको विषयमा छलफल गर्न मधेस आएका गृहमन्त्री नारायणकाजी श्रेष्ठले समेत डिजेप्रति चासो देखाएका छन् । ‘चाडपर्व र उत्सवहरूमा ठुलो कोलाहल हुने गरी डिजे बजाउँनु आफैँमा अपराध भएको र यसले सामाजिक एकतालाई समेत गम्भीर असर पार्न सक्छ,’ सुरक्षा चुनौतीको विषयमा छलफल गर्न मधेस आएका गृहमन्त्री श्रेष्ठले भने, ‘सामाजिक सद्भावमा खलल पुग्ने केही पनि काम नगरौँ ।’ डिजेका कारण संस्कार मात्र लोप हुने नभई सामाजिक विखण्डन समेत निम्त्याउने हुँदा संवेदनशील हुन जरुरी देखिएको छ ।-विकास टाइम्स म्यागजिनबाट
प्रतिक्रिया