पालिकाबासीको दसैँ उत्साहजनक होस् भनेर लागिपरेका छौँ : उपप्रमुख मेहता

पालिकाबासीको दसैँ उत्साहजनक होस् भनेर लागिपरेका छौँ : उपप्रमुख मेहता


सुनसरी ।

इनरुवा नगरपालिकाकी उपमेयर विनिताकुमारी मेहता आफैँ भने त्यति धुमधामका साथ दसैँ मनाउँदिनन् । आफ्नो समुदायले मनाउने सामान्य विधि मात्र अपनाउँछिन् । तर, उनी अहिले स्थानीयको दसैँ राम्रो होस् र भव्य होस् भनेर रातदिन त्यसको व्यवस्थापनमा लागेकी छिन् ।

सुरक्षा व्यवस्थापन, सौन्दर्यकरण र बजार अनुगमन जस्ता विषय पालिकामा अहिले प्रथमिकताका साथ अघि बढेको छ । यिनै विषयमा केन्द्रित रहेर पालिकाको दसैँ लक्षित योजनाका बारेमा हामीले इनरुवा नगरपालिकाकी उपमेयर मेहतासँग कुराकानी गरेका छौँ । उनीसँग गरिएको कुराकानीको सम्पादित अंश यो विशेष अंकमा पनि समावेश गरेका छौँ ।

उपमेयरज्यू, इनरुवामा दसैँको तयारी कस्तो हुँदै छ ? पालिकाले के गर्दै छ ?
नेपालीको मुख्य पर्वका रूपमा रहेको दसैँको संघारमा हामी छौँ । योसँगै गाउँघरमा चहलपहल पनि बढ्दै गएको छ । यहाँको बजारमा पनि किनमेल गर्ने र आहोरदोहोर गर्ने भिड बढ्दै गएको छ । हामीले पनि दसैँ लक्षित कार्यक्रमहरू सुरु गरेका छौँ ।
पालिकाको सौन्दर्यकरणदेखि बजार अनुगमनसम्मका कामहरू अहिले सुरु भएका छन् । कात्तिक २–४ गतेसम्म यो कार्यक्रम चलिरहन्छ ।

सौन्दर्यकरणमा के–के काम हुँदै छ ?
सौन्दर्यकरणका लागि हाम्रो मेयरज्यूले नै पहल लिनुभएको छ । यसका लागि धेरै काम गर्न नसके पनि कमसेकम हामीले यो इनरुवा बजार क्षेत्रलाई सुन्दर बनाउने योजना लिएका छौँ । दसैँ लक्षित यस कार्यक्रममा हामी बजार क्षेत्रमा रङरोगन गर्ने, सरसफाइ गर्ने जस्ता काम गरिरहेका छौँ ।

उपभोग्य वस्तुको सर्वसुलभता तथा बजार अनुगमनको सवालमा के–कस्ता काम हुँदै छन् ?
बजार अनुगमनको विषयलाई हामीले प्राथमिकताका साथ अघि बढाएका छाँै । विशेष गरेर दसैँ नजिकिएसँगै बजारमा व्यवसायीहरूले दैनिक उपभोग्य वस्तुहरूको कृत्रिम अभाव सिर्जना गर्ने गरेको सूचना हामीले पाएका छौँ । त्यसका लागि हामीले बजार अनुगनलाई निरन्तरता दिएका छौँ । साथै अखाद्य वस्तुको बिक्री वितरणमा पनि रोक लगाउन हामीले अनुगमन तथा जनचेतनाको काम गरिरहेका छौँ ।

बजार अनुगमनचाहिँ औपचारिकताका लागि मात्र हुन्छ कि साँच्चिकै जनताका लागि हुन्छ ?
यो औपचारिकताका लागि मात्र होइन । प्रत्यक्ष नगरबासीका लागि हो । अनुगमनका लागि हामी मात्र हिँडेका छैनौँ । दसैँ लक्षित अनुमगनकै लागि हामीले अनुगमन उपसमिति नै गठन गरेका छौँ ।
त्यसको संयोजक म आफैँ छु भने प्रमुख प्रशासकीय अधिकृसँगै विभागीय प्रमुखहरू तथा उद्योग वाणिज्य संघका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, उपभोक्ता मञ्चका प्रतिनिधि, पत्रकार महासंघका प्रतिनिधिलगायत सरोकारवाला निकायहरूको सहभागितामा अनुगमन भइरहेको छ ।

दूध तथा दुग्धजन्य पदार्थ, बधशाला, मासु तथा मासुजन्य पदार्थ, होटल, मिठाई पसल, चिया पसल, रेस्टुरेन्ट, किराना पसल, हाटबजार, पानीको फ्याक्ट्रीलगायतको अनुगमन भइरहेको छ । अनुगमनका क्रममा कुनै गलत काम भएको देखिएमा हामी तत्काल कारबाहीको प्रक्रिया पनि अघि बढाउँछौँ ।
त्यसैले, यो झारा टार्नका लागि मात्र नभई नगरबासीको सहजताकै लागि हामीले अनुगमनको काम अघि बढाइरहेका छौँ । मलाई लाग्छ यसबाट जनताले राहत नै पाउनुभएको छ ।

दसैँसँगै पालिकामा चहलपहल बढिरहेको छ । चहलपहल बढेसँगै शान्ति सुरक्षाको विषय पनि सँगै आउँछ । त्यसको तयारी पालिकाले कसरी गरेको छ ?
अब हामीसँग सीमित संख्यामा नगर प्रहरीहरू छन् । त्यतिले मात्र पालिकाको शान्ति सुरक्षा कायम गर्न सम्भव हुँदैन । त्यसका लागि हामीले जिल्ला प्रशासन कार्यलयसँग समन्वय गरेर सुरक्षाको प्रबन्ध मिलाएका छौँ ।

त्यसमाथि नागरिक नगर प्रहरीभन्दा पनि प्रहरीदेखि नै बढी सतर्क हुने हुनाले हामीले प्रहरीको सहयोग मागेका छौँ । सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयबाट हामीले आश्वासन पनि पाएका छौँ । मलाई लाग्छ सुरक्षाको विषयमा यहाँ त्यति ठुलो टाउको दुखाइको विषय नबन्ला ।

व्यक्तिगत कुरा गर्दा तपाईँको चाहिँ दसैँ योजना कस्तो छ यसपालि ?
अब खासै विशेष त्यस्तो केही छैन । हामी पहाडे समुदायको जसरी दसैँ मनाउँदैनौँ । हामी महतो समुदायमा सामान्य पूजाआजा र टीका प्रसाद लगाउने मात्र काम हुन्छ ।

तपाईँहरू कसरी दसैँ मनाउनुहुन्छ थोरै बताइदिनुस् न ।
हाम्रो दसैँ मनाउने तरिका अलि फरक छ । हामी दसैँमा माछा–मासु खाँदैनौँ । विशेष गरी पहाडे समुदायमा यो बेला मासु खानैपर्ने जस्तो चलन हुन्छ । तर, हामी विशुद्ध रूपमा यो समयमा साकाहारी भएर बस्छौँ, र देवीको पूजा आराधना गर्छौं । सप्तमीदेखि त हामी लसुन–प्याज पनि बारेर बस्छौँ ।

टीका लगाउने विषयमा पनि हाम्रो समुदायमा त्यस्तो रौनक र हतारो हुँदैन । ससुराली जाने, मामाघर जाने, आफन्तकोमा जाने चलन हाम्रोमा हुँदैन । हामी देवीको प्रसादका रूपमा घरमै टीका लगाउँछाँै । कसैले चामल नै मुसेर दसैँको जस्तै टीका लगाउँछन् भने कसैले सामान्य टीका मात्र लगाउँछन् । तर, जमराचाहिँ प्रायजसो सबैले लगाउँछन् । त्यतिमै हाम्रो दसैँ सीमित हुन्छ ।

-विकास टाइम्स म्यागजिनबाट