चाडमात्रै होइन दसैँ, धार्मिक एवं पौराणिक मान्यता पनि छ

चाडमात्रै होइन दसैँ, धार्मिक एवं पौराणिक मान्यता पनि छ


काठमाडौँ ।
सदिऔँदेखि नेपालीहरूको महान् पर्वका रूपमा दसैँ रहँदै आएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि दशमी १० दिनसम्म हिन्दु धर्मावलम्बीले मनाउने पर्व नै दसैँ हो ।

नेपालको इतिहासमा लिच्छविकालदेखि नै वैष्णव धर्म, शैव धर्मसहित शात्तल धर्म अर्थात् दुर्गादेवीको पूजा उपासना गर्ने प्रचलन रहेको देखिन्छ । दसैँ पर्व हिन्दु धर्मावलम्बीहरूको सबैभन्दा ठुलो चाड भएकाले यसलाई बडादसैँ पनि भनिन्छ ।

हिन्दु संस्कृतिमा नवरात्र अथवा दसैँको परम्परा र प्रचलन निकै पुरानो मानिएको छ । सत्य युगदेखि नै नवरात्रभर दुर्गा पूजा गर्ने गरिएको पनि पाइन्छ । विजयादशमीको दिन भगवतीले दानवीय शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्यमा खुसियाली मनाउँदै नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टीका र जमरा लगाउने चलन छ ।

दसैँको १० दिनसम्म देवीको उपासना र पूजा गरी मनाइन्छ । ९ दिनसम्म देवीका ९ रूपको आराधना गर्ने, दसौँ दिन पूजा आराधना गरेको टीका प्रसाद लगाउने गरिन्छ । प्रतिपदादेखि नवमीसम्म ९ दिन क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिरात्रि देवीका नाममा शक्तिको पूजा आराधना गरिन्छ ।

धार्मिक एवं पौराणिक मान्यता
सत्य युगमा देवताले दानवीय शक्तिमाथि विजय पाउनका लागि नवरात्रीय दुर्गा पूजा प्रारम्भ गरेका थिए भने त्रेता युगमा भगवान् रामचन्द्रले रावणमाथि विजय पाउनका लागि र द्वापर युगमा भगवान् श्रीकृष्णले मानवको दुःख संकट निवारण गर्नका लागि नवरात्रमा दुर्गा पूजा गरेका थिए । त्यसै मान्यतालाई निरन्तरता दिँदै असत्यमाथि सत्यको जितको खुसियालीका रूपमा दसैँ (नवरात्र) मनाइँदै आएको छ ।

देवी पुराणअनुसार सत्य युगमा महिषासुर नाम गरेको दैत्य सम्राटले देवताहरूका राजा इन्द्रलाई युद्धमा जितेर स्वर्गमा राज्य गरे र देवताहरूमाथि आतंकपूर्ण शासन गर्न थाले । देवताहरू डराएर ब्रह्माको शरणमा गए । ब्रह्माको सल्लाहअनुसार विष्णुसहित महादेवको शरणमा पुगे । सबै देवताहरूको छलफलपछि आफ्नो शक्ति पुञ्ज निकाले । ती शक्ति पुञ्जहरू एकत्रित भई शक्ति स्वरूपा नवदुर्गा भगवतीको रूप धारण ग¥यो ।

नवदुर्गा भगवतीले नवौँ दिनसम्मको युद्धपछि चण्ड–मुण्ड र रक्तबीजसहित महिषासुरको बध गरे र दसौँ दिनमा विजय उत्सव मनाए । त्यो दिन आश्विन शुक्ल प्रतिपदादेखि दशमी परेको थियो ।

दसैँसँग अद्भूत रामायण र श्रीमद्देवीभागवतअनुसार अर्को कथा प्रसंग पनि जोडिएको छ । जसमा त्रेता युगमा सीताले नवदुर्गा भगवतीको रौद्र रूप धारण गरी हजार शिर भएका अहिरावण र महिरावणलाई बध गरेको प्रसंग पाइन्छ । त्यो समय पनि आश्विन शुक्ल प्रतिपदादेखि नवमी नै परेको थियो र दशमीको दिन विजयोत्सव मनाए ।

श्रीमद्देवीभागवत र तुलसी कृत रामायणअनुसार लंकेश्वर रावणलाई रामले पराजित गर्न असमर्थ भएपछि शक्ति स्वरूपा भगवती दुर्गाको आह्वान गरे । चैत्र शुक्ल प्रतिपदादेखि नवदुर्गा भवानीको उपासना गर्दै युद्ध गर्दा नवमीको दिन साँझ रामको लंका विजय भयो । त्यसैको खुसियालीमा चैत्र महिनामा दसैँ मनाउँदै आइरहेकामा गर्मी मौसमको कारणले त्यही दसैँ असोजमा सारेको भन्ने उक्तिहरू पनि भेटिन्छन् ।

विद्वान् समीक्षक तथा पाठकहरूले महिषासुर, रावण, अहिरावण र महिरावण विम्ब प्रतीकलाई काम, क्रोध, लोभ, मोह, अहंकार मद् मात्सर्य अर्थात् खराब वा असत्य पक्ष र दुर्गालाई सत्यको प्रतीक भनेर अर्थ लगाएको हुन सक्छ । असत्यमाथि सत्यको विजय भएको प्रतीकका रूपमा दसैँ पर्व भव्यताका साथ मान्ने संस्कृतिको प्रादुर्भाव भएको युगौँ बितिसकेको छ ।

त्यस्तै, देवीभागवत महापुराणअनुसार मर्यादा पुरुषोत्तम श्रीरामचन्द्रले नवरात्रको व्रत विधिपूर्वक सम्पन्न गरी दशमीका दिन विजय यात्रा गरेर रावणमाथि विजय प्राप्त गरेको वर्णन आउँछ । त्यो आश्विन शुक्लपक्षका ९ अहोरात्रलाई नवरात्र व्रत भनी प्रतिपादन गरिएको छ ।

विजयादशमीको दिन महिषासुर राक्षसको बध, श्रीरामले रावणमाथि विजय प्राप्त गरेको दुर्गाले दैत्य चण्ड–मुण्ड तथा शुम्भ–निशुम्भलाई बध गरेको खुसियालीमा नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टीका र जमरा लगाउने चलन छ । अश्विन शुक्ल प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । दुर्गा मातालाई मन पर्ने वनस्पति जमरा पनि भएकाले जमरा उमार्ने गरिएको हो ।

हाम्रो धर्म संस्कृतिअनुसार घट कलशमा नै सम्पूर्ण देवी–देवता, सप्तद्वीप, सप्तसागर, सम्पूर्ण तीर्थहरू निहित छन् । जुन कुरा कालिका पुराण भन्ने ग्रन्थमा उल्लेख भएको छ । यसका अतिरिक्त घट–कलश अष्टमंगलका शुभ चिह्नहरूद्वारा समाहित गरिएको पाइन्छ । यिनै आधारहरूका कारण उपयुक्त दिन घट–कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनतम नदी नाला, सप्तसागर, सप्तद्वीप आदि सबैलाई समाहित गरी दसैँ पूजाको थालनी गरिएको हो ।

९ रात्रिसम्म पूजा गरेर दसौँ दिन विजयादेवीको प्रसादस्वरूप निधारमा टीका र शिरमा जमरा राख्यो भने शिरको पीडा, मानसिक अशान्ति पनि कम हुने जनविश्वास पनि छ ।

सामाजिक महत्व
दसैँ सुरु भएपछि गाउँभरिका मानिसहरू मिलेर घर नजिकको बाटो सफा गर्ने, ठाउँ–ठाउँमा लिंगे पिङ, चर्खे पिङ बनाउने चलन पनि छ । यसले सामाजिक सद्भाव र आत्मीयतालाई निरन्तरता दिएको छ । तर, बढ्दो सहरीकरण र मानिसहरूको व्यस्तताका कारण अहिलेको परिवेश अलि भिन्न पाइन्छ ।

ऐँचोपैँचो, सरसापटी लिने घर लिपपोत गर्ने जस्ता मौलिकता बिस्तारै कम भएका कारण दसैँमा पहिले जस्तो रौनक अहिले देखिँदैन । समय र परिवेशले दसैँको रौनक अहिले परिमार्जन हुँदै गएको छ ।

नेपालीहरूका लागि दसैँ यस्तो पर्व हो– जसमा प्रायः सबै आफन्त भेटिन्छन् । हजुरबा–हजुरआमा, बाबा–आमा, सासू–ससुरा, दाइ–भाउजू, मामा–माइजूलगायत आत्मीयता भएकाहरूसँग टीका लगाउने मेसोमा कमसेकम वर्षमा एक पटक भेट हुने बहाना मिलेको पाइन्छ ।

दसैँमा आफ्ना नाता कुटुम्ब, ठुलाबडा, मान्यजनबाट टीका तथा जमरा लगाई आशीर्वाद लिने गरिन्छ । मिठो खाने खुवाउने, राम्रो लगाउने, घरआँगन, बाटोघाटो, गाउँ टोल सफा सुग्घर राख्ने जस्ता कार्य यही दसैँमा गरिन्छ । वर्षाभरिको हिलाम्मे शरीर यसबेला सुकिलो हुने र घरभरि अनाज हुने हुँदा बेग्लै खुसीको सञ्चार पनि हुन्छ ।

दसैँलाई पारम्परिक, सांस्कृतिक, धार्मिक र सामाजिक पर्वका रूपमा लिन सकिन्छ । यो पर्वका रूपमा मात्र सीमित छैन, देशको अर्थतन्त्रसँग पनि जोडिएको छ । मानिसहरूको आवतजावत, नयाँ लुगा, मिठोमसिनो खाने जमर्को, दक्षिणा जस्ता क्रियाकलापले देशको अर्थतन्त्रमा यसले प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ ।

-विकास टाइम्स म्यागजिनबाट