स्कुलको नयाँ ड्रेस लगाएर मनाउँदाको त्यो दसैँ…

स्कुलको नयाँ ड्रेस लगाएर मनाउँदाको त्यो दसैँ…


एउटा यस्तो समय थियो, स्कुलको ड्रेस लगाएर दसैँको टीका थापिन्थ्यो । निलो स्कर्ट र आकासे रङको सर्ट पाएपछि हामी त्यसै दंग…

स्कुलको गर्जो पनि टर्ने हुनाले बाआमा पनि खुसी, अनि दसैँमा नयाँ लुगा पाएपछि हामी केटाकेटी पनि खुसी । प्रायः सबैजसो केटाकेटीको दसैँको उपहार स्कुल ड्रेस हुन्थ्यो ।

अनि त्यही ड्रेस लगाएर मेला बजार घुम्न जाँदा पनि आहा कति रमाइन्थ्यो ! तर, अहिले महिनैपिच्छे किनेका अनेकौँ ब्रान्ड र डिजाइनका कपडामा पनि त्यो बालापनको त्यो खुसी पाउन सकिन्न ।

दसैँ भन्नेबित्तिकै मनमा अर्कै उमंग छाउँछ । नछाओस् पनि किन ? वर्ष दिनमा आउने ठुलो चाड । तर जति उमेर बढ्दै गयो, त्यति नै मनमा कतै खल्लो, कतै निराशा, कतै तनावले अड्डा जमाउने रहेछ ।
सानो छँदा दसैँको अर्कै हर्ष हुन्थ्यो, ठुलो हुँदै जाँदा उमेरसँगै बढेको जिम्मेवारीको चाङले थिच्नेरहेछ ।

हुर्किँदै जाँदा कहिले दसैँ आउँछ होला र नयाँ लुगा लगाउन पाइन्छ, त्यही एउटा सपना हुन्थ्यो । तीज सकिएपछि दसैँ आउन यति दिन बाँकी भन्दै आमा बुबासँग यस्तो लुगा किनिदिनु, उस्तो लुगा किनिदिनु भनेर घुर्की लाइन्थ्यो । आमा बुबाले दुःखसुख सिलाइदिएको बुट्टे जामा होस् या स्कुलको ड्रेस त्यसमै खुसी भइन्थ्यो । त्यसबेलाका थानका कपडाको बासना नै कस्तो मिठो लाग्थ्यो ।

लुगा जेसुकै होस् तर पर्खाइ भने टीकाको दिनकै हुन्थ्यो । कहिले टीकाको दिन आउँछ र त्यो लुगा लगाउँ, लुगा किनेको दिनदेखि कति पटक लगाउँदै देखाउँदै पनि त गरिन्थ्यो नि ! अरू बेला जे जस्तो लगाए पनि, जे जस्तो खाए पनि दसैँमा नयाँ लुगा र मिठो खाना कहिले टुटाउनुभएन- आमाबाले ।

दसैँ भन्नासाथ बालापनको याद आउने गर्छ, त्यतिखेर नै थिए अविस्मरणीय क्षणहरू । गाउँमा त झन् वातावरण र परिवेश नै अर्कै हुन्थ्यो । सोह्र श्राद्ध सकिनासाथ दसैँको तयारी हुन थाल्थ्यो । वारि–पारि खुलेका हरिया डाँडा, खुलेको निलो आकाश, चरक्क लागेको घाम, कतै कोपिला बसेका सयपत्रीको बास्ना, ढकमक्क फुलेका फूलहरू, जंगलमा झ्याउँकिरीको ट्यारट्यारले दसैँ आएको संकेत गर्थ्यो ।

घन्टौँ हिँडेर घर पोत्न रातो माटो, कमेरो खन्न गइन्थ्यो । बर्खामा चर्किएका भित्तामा माटोले लिम्सिएर चुना, कमेरोले छ्यापेर रातो माटोले पोतेपछि अबचाहिँ दसैँ लाग्यो भन्ने भान हुन्थ्यो ।

त्यो बेला दसैँ लाग्नेबित्तिकै हर्ष र खुसीका अनेक कारणहरू थपिन्थे । घटस्थापनाका दिन बाले पाठपूजा गरेर आमाले खोल्साबाट बलौटे माटो ल्याएर मकै, जौका दानालाई जमराका रूपमा राख्नुहुन्थ्यो । अनि दिनैपिच्छे नौरथाको पाठ गर्नुहुन्थ्यो । नौरथा सुरु भएसँगै रेडियो, टिभीमा दसैँका गीत बज्न थाल्थे । उदित नारायण र दीपाकाे दसैँ आयो, उमेश पाण्डे र रमाना श्रेष्ठको रातो टीका निधारमा, सुगम पोखरेलको दसैँ तिहार, योगेश्वर अमात्यको दसैँनै हो कि यो मेरो दशा, एपिएफको दसैँ गीत (फौजीलाई कुन हो दसैँ कुन हो चाड तिहार) बजेपछि मात्र खास दसैँ लाग्थ्यो ।

नवमीका दिन ९ जना कन्या भेला गरेर पूजा गरेर उपहार दिएर (नौ केटी) खुवाएपछि नौरथा सकिन्थ्यो ।

दसैँमा नै थियो अघाउन्जेल मासु खान पाइने । गाउँमा खसी काटेर भाग लगाउने चलन थियो । खसी काट्छन् र मासु खान पाइन्छ भनेर पनि दसैँमा उल्लास थपिन्थ्यो ।

अघिल्लो दिन धान भिजाएर भोलिपल्ट भिजेको धान हाँडी या मकै भुट्ने टिनको होर्ल्यांगेमा भुटेर ढिकीमा चिउरा कुटिन्थ्यो । आमाहरूसँगै चिउरा कुट्न सकी-नसकी ढिकीमा बल लगाएको, रहरले घान लगाउन खोज्दा हात कुटिन्छ भनेर आमाले गाली गरेको आजै जस्तो लाग्छ ।

गाउँमा ४–५ ठाउँमा बाँसलाई ठड्याएर, सालिमाेको डोरी बाटेर लिंगे पिङ हालिन्थ्यो । बजारमा मेला लाग्थ्यो । एक दिन मेला जाँदा अनेक थरीका खेल खेल्न, हेर्न पाइन्थ्यो । दसैँमा आशीर्वाद भन्दा पनि दक्षिणा बटुल्न हतार हुन्थ्यो । भाइबैनी सँग कस्को दक्षिणा कति भयो ? मेरो यती भयो भन्दै सुनाउनुको मजा आहा !

हात भरी ५ र १० का सुकिला नोट मुठी पारेर सवैलाई देखाउँदै हिँडेको अहिले पनि याद आउँछ । मामाघर जान नपाउँदा रोइ कराइ गरेर ६–७ घण्टा हिँडेर पनि दसैँमा मामाघर नपुगी मनै मान्दैन थ्यो ।
पहिलेको जस्तो रेडियोमा दसैँ गीत बजेको भन्दा भन्दा घरघरमा मोवाइलबाटै विदेशी गीतमा रमाउने चलन बढेको छ । प्रविधि, विकास र समय सँगै चाडबाड मनाउने शैली पनि फेरिएको छ ।

अहिले इटा र सिमेन्टका घरमा अनेकथरी रङ्ग्याइएका छन् । प्लास्टिक र कागजका कृत्रिम फूलमा दसैँको त्यो वास्ना छैन । बजारमा बनेका अनेकथरि रेडिमेट खानेकुरा पाउने भएकाले त्यसबेला कुटिएका चिउरा यादमा मात्र रहन्छ ।

अहिले मासु खानलाइ दसैँकुर्न पर्दैन तर त्यो वेलाको जस्तो मिठास छैन, उमंग छैन । मिठो खानलाई नयाँ लाउनलाई दसैँकुर्न पर्दैन । त्यतिखेर भेला पारिएका दक्षिणाको पनि अहिले त्यो बेलाको जस्तो महत्व रहेन । लिङ्गे पिङ राख्न छोडियो अचेल ।

अहिले पिङ खेल्न फनपार्क तिर जान पर्ने हुन्छ त्यो पनि मेसिनबाट आफै चल्छन् । अहिले खेल हेर्न खेल्न कतै जान पर्देन हातमैं अनेक थरी खेल । मोवाइल, टिभीबाटै अनेक खेल हेर्न पाइन्छ ।

हो प्रविधिले मौलिकताका धेरै कुरा मासिदिए पनि परदेशमा रहेका आफन्तलाई भने चिठ्ठीपत्र कुर्न नपर्ने बनाइदिएको छ । दसैँतिहारमा फोटो हेरेर सम्झन पर्दैन । अहिले त भर्चुअल तरिकाबाट कुराकानी, शुभकामना आदान प्रदान गर्न सकिन्छ ।

समयले मेरो गाउँ फेरिदैछ । परिवेश फेरिदैछ ।

कोहि छुट्टिए । कोहि जोडिए । कोहि बदलिए । कोहि हराए ।

धेरै विरानो हुँदैछ गाउँ अनि दसैँ ।