मन्त्रीका अंगरक्षकको मृत्यु शंकास्पद : घाटीको हड्टी भाँचिएको भन्दै प्रहरीमा जाहेरी

मन्त्रीका अंगरक्षकको मृत्यु शंकास्पद : घाटीको हड्टी भाँचिएको भन्दै प्रहरीमा जाहेरी


हेटौंडा ।

बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री युवराज दुलालका पीएसओ ४२ वर्षीय यमबहादुर सुवेदीको आत्महत्या शंकास्पद देखिएको भन्दै मृतकका परिवारले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएका छन् ।

असई सुवेदी मंगलबार मकवानपुरको हेटौंडा उपमहानगरपालिका- ११ को पुण्य क्षेत्र वनदेवी मन्दिर नजिकै जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिएको भन्दै उनको परिवारले अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएका हुन् ।

आफूले लगाएको पेटी खोलेर झुण्डिएको देखिए पनि उनको शरीरको आधा भाग भने जमिनमा लत्रिएको र शरीरको विभिन्न भागमा नीलडाम तथा कुटपिटका निशानी देखिएको भन्दै परिवारले अनुसन्धान गर्न निवेदन दिएका छन् ।

हेटौंडा अस्पतालमा हिजो गरिएको पोष्टमार्टमको क्रममा पनि उनको घाटीको हड्टी भाँचिएको र खुट्टा तथा जिउमा नीलडाम देखिएको पाइएको मृतकका आफन्त अनन्त बानियाँले बताए । मृतकका भाइ इन्द्र सुवेदीले घटना शंकास्पद देखिएको भन्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै उजुरी गरेका छन् ।

आफ्नो डिउटी सकेर उनी साँझ ६ बजेर ३७ मिनेटमा हेटौंडा-११ मा रहेको सहिद स्मारक गेटबाट क्रस गरेको सीसीटीभी फुटेजमा देखिन्छ । डिउटी सकिनासाथ किन हतार हतार गरेर उनी स्मारक क्षेत्रमा प्रवेश गरे भन्ने विषय शंकास्पद रहेको परिवारको भनाइ छ ।

मृतकका दुई छोरी र एक श्रीमती छन् ।