आयातित फूल र व्यवसायिक फूल खेतीका कारण मालीहरुको पुस्तौनी पेशा धरापमा

आयातित फूल र व्यवसायिक फूल खेतीका कारण मालीहरुको पुस्तौनी पेशा धरापमा


महोत्तरी ।

पुस्तौनी फूल खेती गर्दै आएका महोत्तरीको बल्वा नगरपालिका वडा न.२ का राम विनय भण्डारीले यसपालिको तिहारमा भनेजस्तो व्यापार गर्न सकेनन् ।

भारतबाट आयात भएका फूलकै कारण मूल्यमा आकाशपाताल फरक पर्ने हुँदा बेच्न नसक्ने एउटा कारण रह्यो भने माली समुदाय बाहेक अन्य समुदायले पनि व्यवसायिक फूल खेती गर्दा समस्या बनेको भण्डारीको भनाई छ ।

 उनलाई यो तिहारमा व्यापारले भन्दा पनि पेशा नै धाराशयी बन्दै गएकोप्रती निक्कै चिन्ता बढाएको छ ।

‘पुर्ख्यौली फूल खेती नै गर्ने हाम्रो पेशा हो तर माली समुदाय बाहेक अन्य समुदायहरुले पनि व्यवसायी खेती गर्दा हामी समस्यामा पर्दै गएका छौ ।’ भण्डारीले भने । ‘पेशा नै परिवर्तन गर्नुपर्ने अवस्था छ ।’

उनले तिहार तथा छठलाई मध्यनजर गरि झण्डै १ बिगा क्षेत्रफलमा फूल रोपेका थिए । तर १ कठ्ठाको पनि बिक्री नभएको उनको गुनासो छ ।

भारतीय फूल सिमा, नाकाबाट  नभित्र्याउने सरकारले निर्णय गरेतापनी अवैधानिक बाटोबाट भित्रीदा मधेशमा माली लगायत किसानहरूलाई व्यापारमा समस्या भएको भण्डारीको बुझाई छ  ।
भण्डारी जस्तै जनकपुर-६ का जितेन्द्र भण्डारीको पनि उहीँ चिन्ता छ । व्यवसायिकरुपमा ६ महिना अगाडि चिस्यानमा स्टोर गर्ने र निक्कै कम मूल्यमा बेच्नेहरुको कारण आफूहरू सङ्कटमा परेको उनको भनाई छ ।

पुर्ख्यौली पेशाकोरुपमा अवलम्बन गरिएको कयौं माली समुदाय यो पेशाबाट विस्थापन भएको र पहिचानको लागी भएपनि कमले मात्र फूल खेती गरिरहेको भण्डारीले बताए ।

नजिकै जानकी मन्दिर भएतापनी पहिलेजस्तो नभएको उनको अनुभव छ । पूजाकर्म लागी दैनिक हजारौं मालाहरू बेच्ने गरेको अनुभव सुनाउँदै भण्डारीले फूलको रेटमा मनलागी भएको बताए ।

‘सरकारले तरकारीमा जस्तै फूलमा पनि मूल्य निर्धारण गरिदिनुपर्छ ।’ भण्डारीले भने । ‘अनि मात्र हामी जस्तो फूल व्यवसायीहरू मारमा पर्दैनौ  ।’

तर  फूलको माग र बजार करिब १२ देखि १५ प्रतिशतका दरले बढ्दै गएकाले फूल व्यवसायको सम्भावना बढ्दै गएको फ्लोरिकल्चर एसोसिएसन नेपालको तथ्यांक छ । कृषि विकास मन्त्रालयअन्तर्गत पुष्प व्यवसाय प्रवर्द्धन नीति २०६९ जारी गरिएको छ । पुष्प व्यवसाय अनुदान कार्यविधि नआउँदा हरेक वर्ष बजेट फ्रिज भएर जाने गरेको छ ।

पुस्तौनी फूल व्यवसाय गर्दै आएका समुदाय मात्र हैन फूल खेतीको अधिक सम्भावनालाई सरकारले वेवास्ता गर्दा भारतीय पुष्प व्यवसायीहरूका लागी नेपाल आकर्षक बजार बनेको छ ।

भारतबाट आयात भएका फूल कै कारण बर्दिबासमा आएर फूल बेच्ने कयौं व्यापारीले बिक्री नभएपछि हजारौं मालाहरू डस्टबिनमा फ्याँकेका छन । 

बजार आकलन गरेर फूल बेच्न ल्याउनुपर्ने ठाउँमा अन्धाधुन्ध ल्याएको हुनाले नोक्सान बेहोर्नुपरेको कतिपयको भनाई छ ।