४ दिनदेखि खानीमा फसेका मजदुरको उद्धार अगर मेसिनबाट, पाइपबाटै खानेकुरा र औषधि पठाइँदै

४ दिनदेखि खानीमा फसेका मजदुरको उद्धार अगर मेसिनबाट, पाइपबाटै खानेकुरा र औषधि पठाइँदै


काठमाडौं ।

भारतको उत्तरकाशी यमुनोत्री राष्ट्रिय राजमार्गमा निर्माणाधीन सिल्कियारा सुरूङको एक भाग भत्किएपछि चार दिनदेखि खानीमा फसेका मजदुरको उद्धार गर्न दिल्लीबाट पठाइएको हेभी अमेरिकन अगर मेसिनले बिहीबारदेखि उत्खनन सुरू गरेको छ ।

ड्रिलिंगपछि एस्केप टनेलमा ठूला व्यासको स्टिल पाइपबाट निकास तयार भइरहेको छ ।

अगर मेसिनबाट ड्रिलिङको काम सुरू भए पनि साँझसम्म डेढ पाइप मात्रै भग्नावशेषमा हाल्न सकिएको थियो । अलाइनमेन्टमा विशेष ध्यान दिँदा पाइप वेल्डिङमा एकदेखि डेढ घण्टा समय लाग्ने गरेको बताइएको छ । सुरूङमा करिब १ मिटरसम्म फोहोर फैलिएको छ । यसका कारण उद्धार कार्यमा अझै एक(दुई दिन लाग्ने अनुमान गरिएको छ ।

बिरामी मजदुरलाई पाइपबाटै औषधि
मंगलबार राति सुरूङभित्र रहेका एक मजदुरको स्वास्थ्य अवस्था बिग्रन थालेको थियो । उनलार्ई रिँगटा लागिरहेको र वान्ता भइरहेको सूचना पाएपछि बाँकी कामदार डराएका थिए । त्यसपछि चिकित्सकको सल्लाहमा पाइपमार्फत उनीहरूलाई औषधि पठाइएको थियो । कतिपय मजदूरले ज्वरो आउने, शरीर दुख्ने र नर्भस हुने गुनासो गरिरहेका छन् । उनीहरूलाई औषधि कसरी लिने भनेर पर्चा पनि पठाइयो । मजदुरको अवस्था बिग्रिएको सुनेपछि उनीहरूका सहकर्मीले पनि चिन्ता गरेका थिए ।

अलपत्र परेकाहरूको उद्धार अभियान
सिल्कियारा सुरूङमार्गको एक भाग भत्किँदा पाँच दिनदेखि अलपत्र परेका मजदुरको उद्धारको प्रयास तीव्र पारिएको छ । दिल्लीबाट ल्याइएको अमेरिकी अगर मेसिनबाट बिहीबारदेखि ड्रिलिंग सुरू भएको हो । ड्रिलिंगपछि ठूला व्यासको स्टिल पाइपबाट एस्केप टनेल बनाइनेछ, जसबाट कामदारहरूलाई बाहिर निकाल्न सकियोस् । त्यस क्षेत्रमा आम मानिस र सञ्चारमाध्यमको आवतजावतमा रोक लगाइएको छ ।

पाइपबाटै खानेकुरा
कतिपय कामदारको स्वास्थ्य बिग्रिएको खबर पनि आएको छ । तर, हरेक आधा घण्टामा कामदारलाई खाद्यान्न पठाइँदै छ । पाइपबाटै अक्सिजन, बिजुली, औषधि र पानी पनि निरन्तर आपूर्ति भइरहेको छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले प्रतिघण्टा पाँचदेखि सात मिटरको गतिको मेसिनले निकास खोलिँदै गरेको र सुरूङभित्र फसेका मजदुरसम्म छिट्टै पुग्ने बताए । उनले भने, ‘उत्तराखण्ड सरकारले राज्यमा निर्माणाधीन सबै सुरूङहरूको समीक्षा गर्ने निर्णय गरेको छ ।’

सबै मजदुर सकुशल
सिल्कारा पुगेका प्रदेश प्रहरी महानिर्देशक अशोक कुमारले सुरूङमा फसेका सबै मजदुर सकुशल रहेको र उनीहरूसँग निरन्तर वार्ता भइरहेको बताए । सुरूङमा फसेका झारखण्ड निवासी १२ वर्षीय महादेवले मामासँग कुरा गरेका थिए । महादेवले आफू र उनका सबै साथी सकुशल रहेको बताए । सुरूङमा फसेका महादेवका मामासँग कुरा गरेको अडियो पनि सार्वजनिक भएको छ । चारधाम अल वेदर रोड आयोजनाअन्तर्गत निर्माणाधीन सुरूङको केही भाग सिल्क्यरातर्फ भत्किएको थियो ।

उत्तरकाशीको सिल्क्यरा सुरूङको एक भाग भत्किँदा फसेका मजदुरको उद्धार गर्न वायुसेनाको विमानबाट दिल्लीबाट चिन्यालिसौरमा हेभी अगर मेसिन पठाइएको थियो । राज्य सरकारको अनुरोधमा प्रधानमन्त्री कार्यालयको निर्देशनमा सेनाको अल्ट्रा-आधुनिक अगर मेसिन उपलब्ध गराइएको बताइएको छ । ग्रीन करिडोर बनाएर यी मेसिनलाई घटनास्थलमा पठाइएको छ ।