मेडिकल सुपरिटेन्डेन्ट कुट्ने ७ जना पक्राउ

मेडिकल सुपरिटेन्डेन्ट कुट्ने ७ जना पक्राउ


बुटवल ।

सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. राजेन्द्र बस्यालमाथि कुटपिट भएको घटनामा संलग्न भएको आरोपमा सात जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मृतकका भाइ हरि राजकोटी, प्रगती थापा, लिला थापा, प्रकृति थापा, कुमार थापा, मिलन राना र दिलबहादुर थापा रहेका छन्।

उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ।

गुल्मी सत्यवती गाउँपालिका ठूलो लुम्पेमककी अन्दाजी ३५ वर्षीया भवानी राष्कोटी मगरको प्रसूतिपछि मृत्यु भएपछि आफन्तले डाक्टर बस्यालमाथि कुटपिट गरेका हुन् ।

उनीहरूको आक्रमणबाट बस्यालको टाउको र छातीमा चोट लागेको अस्पताल प्रशासनले जनाएको छ।

आक्रमणबाट गम्भीर घाइते भएका उनलाई घटना लगत्तै लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। अहिले उनलाई आइसियूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ।

सोमबार शल्यक्रियामार्फत ५ किलोग्रामको बच्चा जन्माएकी भवानीलाई मंगलबार हृदयघात भएर मृत्यु भएको आम्दा अस्पतालका प्रशासन प्रमुख खगेन्द्र क्षेत्रीको दाबी छ ।