अदालतको गेटमा १ घन्टा : अब बाटाे काट्न डराउनुपर्दैन !

अदालतको गेटमा १ घन्टा : अब बाटाे काट्न डराउनुपर्दैन !

विकास टाइम्स
276
Shares

मिति : २०८० मंसिर १२ गते मंगलबार ।

समय : दिउँसो ३ :०० बजे ।

स्थान : काठमाडौँ जिल्ला अदालत बबरमहलका २ भवनको बीच ।

जिल्ला अदालतको मुख्य भवन र दोस्रो भवनको बीचमा जेब्रा क्रसिङ । अन्य समयमा सडकमा हुइिँकिएका सवारीसाधनलाई हात देखाउँदै जेब्रा क्रस गर्नेको मुहारमा हतारो र डर एकै पटक देखिन्थ्यो । परबाट आउँदै गरेको गाडी/बाइकले ठक्कर दिने हो कि भनेर यता र उता हेर्दै हस्याङफस्याङ गर्दै बाटो काट्ने गरेको दृश्य आज देखिएन ।

सडक पार गर्नुपर्नेहरू सडकको किनारमा उभिएका थिए । नजिकै गाडिएको एउटा फलामको पाइपमा सानो बाकस आकारको सामान छ । त्यसमा भएको हरियो बटनभन्दा माथि सानो हरियो बत्ती पिलिकपिलिक गर्‍यो । नजिकै उभिएका एक जनाले हरियो बटन थिचे । सडकमा गुडिरहेका गाडी रोकिए । सडक किनारमा उभिएकाहरू सडक पार गरे । न उनीहरू हतारमा थिए, न त मुहारमा कुनै डरत्रास नै देखिन्थ्यो ।

काठमाडौँ महानगरपालिकाले काठमाडौँका बढी सवारीको चाप हुने स्थानलाई लक्षित गर्दै जडान गरेको डिमान्ड पेडेस्ट्रियन क्रसिङ (पेलिकन क्रसिङ) का कारण यात्रुले यति सहजै बाटो काट्न सकेका हुन् । महानगरले परीक्षणका रूपमा पहिलो पटक काठमाडौँ जिल्ला अदालत अगाडिको जेब्रा क्रसिङमा यो प्रविधि प्रयोग गरेको हो ।

गत सोमबारबाट सञ्चालनमा आएको पेलिकन क्रसिङमा पैदल यात्रुले बटन थिचेपछि ४५ सेकेन्डका लागि सडकमा गुडिरहेका गाडीहरू रोकिने गरी रातो बत्ती बल्छ भने पैदलयात्रुका लागि ४५ सेकेन्डको टाइमरसहित हरियो बत्ती बल्छ । ४५ सेकेन्डपछि सडक पार गर्न अर्को २ मिनेट कुर्नुपर्ने हुन्छ । अर्थात्, २ मिनेट नभई बटन थिचे पनि हरियो बत्ती बल्दैन ।

काठमाडौँ महानगरपालिकाले १० लाख रुपैयाँ लागतमा निर्माण गरेको यो प्रविधिमा ४ वटा ट्राफिक लाइट जडान गरिएको छ । पैदलयात्रुका लागि छुट्टै २ वटा लाइट राखिएको छ, जसले बाटो काट्ने समय, रोकिने, सवारीसाधनको समय सकिएपछिको समयलगायत कुराहरूको सिग्नल दिन्छ ।

विकास टाइम्सले त्यहाँ १ घन्टा बिताउँदा काठमाडौँ महानगरका ३ जना नगर प्रहरी र २ जना ट्राफिक प्रहरी सर्वसाधारणको सहजताका लागि खटिएका थिए । उनीहरूले बाटो काट्ने समय, आफैँले बटन थिच्ने तरिकालगायत विषयमा जानकारी दिइरहेका थिए । बत्ती नपर्खी बाटो काट्ने खोज्नेलाई पनि उनीहरू रोकिरहेका थिए ।

बाटो काटिरहेका व्यक्तिहरू केही अलमलमा परेको पनि देखियो । पहिले गाडी कुदिरहेकै बेला बाटो काट्ने बानी परेकाहरू त्यसै गर्न खोजिरहेका थिए । ट्राफिक र नगर प्रहरीहरू उनीहरूलाई भन्दै थिए– ‘अहिले तपाईँहरूलाई सिकाउन मात्र हामी यहाँ बसेका हौँ । सधैँभरि हामी यहाँ हुँदैनौँ ।’

महानगरबाट खटिएका प्रहरीले यात्रुले थिच्नुपर्ने हरियो बटन पनि यात्रुलाई नै थिच्न लगाइरहेका थिए । तर, त्यहाँ यात्रु मात्र होइन, सवारीसाधन चलाउने पनि झुक्किइरहेका देखिए । सवारीसाधनलाई भने ट्राफिक प्रहरीले ट्राफिक लाइटतिर देखाएर रोकिन इशारा गरिरहेका थिए । प्राय : चालकहरू एक्कासि त्यहाँ ट्राफिक लाइट देख्दा छक्क परिरहेका थिए ।

जडान गरिएको प्रणाली सञ्चालन गर्न जिल्ला अदालतबाट बिजुलीको व्यवस्थापन गरिएको महानगरले जनाएको छ । पेलिकन सञ्चालनमा आएको दिनबाटै त्यहाँ महानगर र ट्राफिक प्रहरीले यात्रुलाई बाटो काट्न र सवारीसाधनलाई रोक्न सिकाइरहेको महानगरले जानकारी दिएको छ ।

के भन्छन् यात्रु ?

पेलिकन क्रसिङ जडानले बाटो काट्न सहज भएको यात्रुहरूले प्रतिक्रिया दिएका छन् । ‘पहिले (पेलिकन जडान हुनुअघि) बाटो काट्दा निकै जोखिम हुन्थ्यो,’ बाटो काटिरहेकी राधा न्यौपानेले भनिन्, ‘अहिले ढुक्कले बाटो काट्न पाएका छौँ ।’

कामका लागि जिल्ला अदालत जाँदै गरेका सरोज श्रेष्ठ गाडी कुद्ने समयमा बाटो काट्न खोज्दा महानगरको प्रहरीले रोकेर पेलिकनको बारेमा सिकाए । उनी आफूलाई यो प्रविधिबारे थाहा नभएकाले त्यसरी बाटो काट्न खोजेको बताउँदै थिए । ‘मलाई यसका बारेमा थाहा थिएन र मैले अन्य बेला जस्तो बाटो काट्न खोजेको हो,’ श्रेष्ठले भने, ‘उहाँ (नगर प्रहरी)ले भनेपछि मलाई यो सिस्टम राम्रो लाग्यो ।’

विद्यार्थीको ६ जना जतिको समूह पनि पेलिकन प्रयोग गरेर बाटो काट्दाको अनुभव गर्न भनेर नै आएको थियो । तपाईंहरूको सधैँ हिँड्ने बाटो यही हो ? भन्ने विकास टाइम्सको प्रश्नमा उनीहरूले भने, ‘होइन, हामी त कला परिषद् अगाडिबाट नै बाटो काट्थ्यौँ । तर, यो कस्तो प्रविधि रहेछ भनेर हेर्न आज यहाँबाट आएका ।’

एक अधिवक्ता पैदल यात्रीका लागि हिँड्ने समय नभई नै बाटो काट्न लागेका थिए । उनलाई पनि महानगरका प्रहरीले रोकेर पेलिकनको बारेमा बताए । त्यसपछि ती अधिवक्ताले पेलिकनसहित महानगरका प्रहरी र प्रमुख बालेन शाहको पनि तारिफ गर्न भ्याए ।

‘तपाईंहरू (नगर प्रहरी) कति थिचिएर बस्नुभएको रहेछ, बालेन आएपछि पो हामीलाई थाहा भो, तपाईँहरूलाई सलाम छ,’ उनले भने, ‘बालेनजीले नयाँ प्रविधि ल्याउनुभएछ, उहाँलाई पनि सलाम छ ।’

अर्जुन नाम गरेका एक जना युवा मोबाइलमा पेलिकन प्रयोग गरेर बाटो काट्नेहरूलाई भिडियोमा कैद गरिरहेका थिए । विकास टाइम्ससँग उनले भने, ‘आफैँले बटन थिचेर बाटो काट्न पाइने कुरा समाचारमा देखेको थिएँ । कस्तो रहेछ भनेर हेर्न आएको । राम्रो लागेर भिडियो बनाएको ।’

विकास टाइम्सले १ घन्टाबीचमा त्यहाँबाट बाटो काट्ने प्रायसँग प्रतिक्रिया लिँदा प्राय : सबैले सकारात्मक प्रयासका रूपमा लिएको बताए । नयाँ कुरा भएकाले सुरुमा अलमलमा परे पनि यो काम जरुरी रहेको सबैको बुझाइ थियो । ‘नयाँ कुरा सिक्न केही समय त लाग्छ नि ! बिस्तारै जानिन्छ,’ एक पैदलयात्रुले भनिन् ।

कतिमा बन्छ यस्तो प्रविधिको क्रसिङ ?

एक ठाउँमा पेलिकन जेब्रा क्रसिङ बनाउनदा ७ लाखदेखि १० लाख रुपैयाँसम्म खर्च लाग्ने काठमाडौँ महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १७ का वडाध्यक्ष नवीन मानन्धर बताउँछन् । ‘बबरमहलको ७ लाखभन्दा केही बढीमा निर्माण भएको हो,’ उनले भने, ‘अन्य ठाउँमा बनाउँदा बढ्न पनि सक्छ ।’

कसरी आयो अवधारणा ?

पेलिकन मोडल विभिन्न देशमा प्रयोगमा आइरहेको र काठमाडौँको सवारी चाप र पैदलयात्रुको सुरक्षालाई ध्यानमा राख्दै यो प्रविधि भिœयाइएको प्रवक्ता मानन्धर बताउँछन् । ‘हाम्रो सहरमा पैदलयात्रुको समस्यालाई न्यूनीकरण गर्न सक्ने देखेर हामीले ल्याएका हौँ,’ मानन्धरले भने ।

बबरमहलमा जडान भएको पेलिकन क्रसिङ सफल भएमा आवश्यकताअनुसार अन्य ठाउँमा पनि थप गर्दै लाने महानगरले जनाएको छ । जहाँ बढी मात्रामा यात्रुले बाटो काट्ने गर्छन्, त्यस्ता ठाउँमा थप निर्माण हुने प्रवक्ता मानन्धर बताउँछन् ।

‘पहिलो चरणमा बनाएको सिस्टमले आममानिसलाई कत्तिको सहज बनाउँछ,’ उनले भने, ‘यदि त्यो सफल भयो भने आवश्यताअनुसार जति ठाउँमा पनि निर्माण हुन सक्छ ।’

कहाँ–कहाँ हुँदै छ जडान ?

अहिले जडान भएको ठाउँमा यात्रुलाई सहज भए/नभएको महानगरको अनुगमन टोलीले हेर्ने मानन्धरको भनाइ छ । ‘यदि त्यो सफल भएको खण्डमा अनुगमन टोलीले पहिचान गरेको ठाउँमा निर्माण हुन्छ ।’ प्रवक्ता मानन्धरले भने ।

व्यवस्थापन कसरी हुन्छ ?

महानगरको सार्वजनिक सडक विभागअन्तर्गत पेलिकनको निर्माण भएको हो । त्यसैले विभागले नै पेलिकनमा कुनै समस्या आएमा मर्मतसमेत विभागले नै गर्ने मानन्धर बताउँछन् । ‘पेलिकन प्रविधि हामीले सडक व्यवस्थापनको बजेटले बनाएका हौँ,’ मानन्धरले भने, ‘त्यसको व्यवस्थापन पनि सडक विभागले नै गर्ने हो ।’