स्याङ्जामा गत वर्षको तुलनामा सुन्तला उत्पादन घट्याे

स्याङ्जामा गत वर्षको तुलनामा सुन्तला उत्पादन घट्याे


स्याङ्जा ।

स्वादिलो र मिठो सुन्तलाको जिल्लाका रूपमा परिचित स्याङ्जामा गत वर्षको तुलनामा सुन्तला उत्पादनमा कमी आएको छ ।

गत वर्ष २२ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्लामा यस वर्ष भने उत्पादन घटेर १९ हजार ८७ मेट्रिक टन मात्रै उत्पादन भएको हो ।

गत वर्ष १ अर्ब ३८ करोड रुपैयाँको सुन्तला उत्पादन भएको जिल्लामा चालु वर्षमा १ अर्ब १४ करोड ५२ लाख २० हजार रुपैयाँको सुन्तला उत्पादन हुने प्रारम्भिक अनुमान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोनले ४० बगैँचामा क्रप कटिङ गरेपछि सुन्तला उत्पादनको औसत सार्वजनिक गरिएको हो ।

यो वर्ष उत्पादन घटे पनि बिक्री मूल्य भने औसतमा कृषकले राम्रो पाउने प्रारम्भिक अनुमान गरिएको छ । गत वर्ष प्रतिकिलो ५५ रुपैयाँमा सुन्तला बिक्री भएको थियो भने यो वर्ष औसतमा ६० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको छ ।

स्थानीय सुन्तला रसिलो र दाना चिल्लो हुने भएकाले स्याङ्जाको सुन्तला उपभोक्ताको रोजाइमा पर्ने गरेको छ । यस वर्ष ३० प्रतिशत सुन्तला बिक्री भएको छ भने बाँकी ७० प्रतिशत सुन्तला बोटमै छन् ।

चालु वर्ष सुन्तला फुल्ने मुख्य समयमा खडेरी र असिना परेपछि उत्पादनमा कमी आउँदा झन् पतेरा र औँसा किराका कारण दाना झरेपछि सुन्तला उत्पादनमा कमी आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोनका वरिष्ठ कृषि विकास अधिकृत माधवप्रसाद लम्सालले एक वर्ष बाक्लो तथा अर्को वर्ष पातलो सुन्तला फल्ने गरेको र यस वर्ष पातलो नै फलेको बताए ।

जिल्लामा सुन्तला उत्पादन क्षेत्र २२ सय हेक्टर छ । उत्पादनशील बगैँचाको क्षेत्रफल १ हजार ३ सय २० हेक्टर छ भने ८८० हेक्टर जग्गामा बेर्ना बगैँचा छन् ।

स्याङ्जामा सुन्तला उत्पादन प्रतिबोट ४८ किलोको हाराहारी छ भने प्रतिहेक्टर १४ हजार ४६० किलो अर्थात् १४.४६ मेट्रिक टन छ ।

जिल्लामा उत्पादित सुन्तला आन्तरिक बजारमा १० प्रतिशत अर्थात् १ हजार ९८७.२ मेट्रिक टन खपत हुने गरेको छ । उत्पादितमध्ये ९० प्रतिशत अर्थात् १७ हजार १७८.४८ मेट्रिक टन सुन्तला छिमेकी बजार पोखरा, बुटवल र चितवनमा बिक्री हुँदै आएको छ ।

११ स्थानीय तह रहेको जिल्लामा सबैभन्दा बढी पुतलीबजार नगरपालिकामा सुन्तला उत्पादन हुँदै आएको छ । पुतलीबजारमा ८५० हेक्टर, भिरकोटमा ३५०, वालिङमा २४०, गल्याङमा १३० हेक्टर र चापाकोट नगरपालिकामा नगन्य क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको छ ।

उता गाउँपालिकातर्फ अर्जुनचौपारीमा २७०, आँधीखोलामा १२५, फेदीखोलामा ३५, बिरुवामा १५५, हरिनासमा ४५ हेक्टर र कालीगण्डकी गाउँपालिकाका अतिकम क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन कार्यालय स्याङ्जाले जनाएको छ ।