काठमाडौँ ।
जति नै आधुनिक भनिए पनि नेपाली समाजमा अहिलेसम्म पनि बुहारीलाई घरगृहस्थी सम्हाल्ने सदस्यका रूपमा लिइन्छ । बिहे गर्ने बेलामा अझै पनि ‘घर गरिखाने’ बुहारी खोज्ने चलन छँदैछ ।
आधुनिक समाजमा सहरिया बुहारीहरू कामकाजी भए पनि गाउँघरमा अहिले पनि बुहारीको परिचय ‘गृहिणी’ भन्दा माथि उठ्न सकेको छैन । छोरा बिग्रिए वा कुलतमा लागे ‘बिहे गरिदिए सुध्रिन्छ’ भन्ने मान्यता कायमै छ । छोरा दुब्लाए ‘बिहे गरिदिए बुहारीले समयमा पकाएर खुवाउँछे, स्याहार चाकर पुग्छ’ भन्ने सुन्न कम भएकै छैन ।
परिवारमा गरिखाने केही बाटो खोज्ने वा व्यापार व्यवसाय गर्ने मामलामा ‘छोरा’हरूबीच सरसल्लाह हुन्छ र छोराहरू नै मिलेर नयाँ सुरुआत गर्ने गर्छन् । तर, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ पुरानो बजारका ५ ‘बुहारी’ले बुहारीको परिचय केही हदसम्म परिवर्तन गरेका छन् । उनीहरू मिलेर नयाँ व्यवसाय सुरु गरेर उनीहरूको रोजीरोटी मात्रै चलाएका छैनन्, संस्कृति र परम्परा पनि बचाएका छन् ।
रमा कर्माचार्य, रीता कर्माचार्य, सुनिता कोंगा, अमृता रघु श्रेष्ठ र रीता सैँजु पनौतीका यी बुहारी हुन्, जसले ‘पाहाँ छेँ’ अर्थात् ‘पाहुना घर’ (नेवारी खाजा घर) चलाएका छन् ।
उनीहरू कसैको माइती हेटौँडा, कसैको काठमाडौँ त कसैको पनौती नै हो । विवाहअघि उनीहरू जता जे गरेका भएपनि बिहेपछि भने एक भए, र सुरु गरे– नेवारी परिकारको व्यवसाय । उनीहरूले नेवारी समुदायमै लोप हुन लागेको परिकार जोगाएनन् मात्रै, अन्य समुदायमा पनि यसको स्वाद चखाए र यसको दायरा फराकिलो बनाए । साथै सफल व्यवसायी पनि कहलिए ।
पनौती बजारलाई नेपालकै सबैभन्दा पुरानो बजारमध्येमा लिइन्छ । नेवा संस्कृतिले भरिपूर्ण यो बजार आधुनिकताका नाममा परम्परागत संस्कार र संस्कृति गुमाउने चरणमा पुग्दै गरेको देखेर उनीहरू यसको जगेर्नासँगै आफ्नो गरिखाने बाटो खोज्ने निर्णयमा पुगेका हुन् ।
पहिलेको गुल्जार बजार बनेपाबाट पछिल्लो समय स्थानीय बसाइँ सरेर कोही बनेपा, धुलिखेल त कोही काठमाडौँतिर आउनेको संख्यामा उल्लेख्य वृद्धि हुँदै गयो । पुराना मान्छेहरू हिँडेसँगै त्यहाँको रैथाने परिकार पनि पलायन भयो । परम्परागत नेवारी परिकार बनाउन जान्ने मान्छेको कमी हुन थाल्यो । पनौती घुम्न आउने बाह्य र आन्तरिक पर्यटकले नेवारी खाना र खाजा पाउन छाडे ।
नेवारी खाना नै लोप हुने अवस्थामा पुग्ने देखेपछि ५ बुहारीले सल्लाह गरेर नेवारी परिकारसहितको एउटा खाजा घर खोल्ने सोच बनाए । रैथाने स्वादको परिकार जोगाउन र आफूहरूले गरिखान भन्दै उनीहरूले सुरुमा १० लाख रुपैयाँ लगानी जुटाएर खोले– ‘पाहाँ छेँ नेवारी खाजा घर’ ।
‘हामीले नाफा खान भन्दा पनि नेवारी परिकार बचाउन, यहाँको परम्परा र संस्कृति धेरैलाई चिनाउन र सेवा गर्न भनेर यो खाजा घर खोलेका हौँ,’ विकास टाइम्ससँग उनीहरू एकस्वरले भन्छन् । उनीहरूले पाहाँ छेँ सुरु गरेको जम्मा ३ महिना हुँदै छ । तर, यो ३ महिनामा स्थानीय र पर्यटकहरूबाट एकदमै राम्रो प्रतिक्रिया पाइरहेका छन् उनीहरूले । यसले उनीहरूलाई थप हौसला थपेको छ ।
उनीहरूले खोलेको पाहाँ छेँमा एक पटकमा ५० देखि ६० जनासम्म बसेर खान सकिन्छ ।
पसलमा मात्र सीमित छैन पाहाँ छेँ
उनीहरूको खाजाघर खोज्दै आउने पर्यटक पछिल्लो समय उल्लेख्य बढेका छन् । उनीहरू ‘इनहाउस’ पलसमा मात्र सीमित छैनन् । नेवारी परिकार चिनाउन र पर्यटन प्रवद्र्धनमा उनीहरूले क्याटरिङको समेत सुविधा दिइरहेका छन् । पनौती आसपासमा हुने पिकनिक (वनभोज), विवाह, व्रतबन्ध, जन्मदिन लगायतमा हुने ‘भोज’का लागि पनि उनीहरू फिल्डमै गएर सेवा दिँदै आएका छन् ।
‘पसलमा आएका ग्राहकहरूलाई मात्रै होइन, देशव्यापी र अन्तर्राष्ट्रिय स्तरसम्म पनि नेवारी खाना र नेवाः संस्कृतिबारे प्रचार गर्नु हाम्रो मुख्य उद्देश्य हो,’ पाहाँ छेँकी एक सञ्चालक रीता भन्छिन्, ‘क्याटरिङमा पनि हामी विशेष गरी नेवारी परिकारमै जोड दिने गर्छौँ ।’
२६ थरीका नेवारी परिकार
५ बुहारीको पाहाँ छेँमा मुख्यतः २६ प्रकारका नेवारी परिकार पाइन्छ । त्यसबाहेक ग्राहकले अर्डर गरेअनुसार अन्य परिकार पनि पाइन्छ । यहाँको विशेष भनेको नाङ्लो सेट हो, जसमा २१ परिकार पाइन्छ । नाङ्लोमा चिउरा, छोइला, मिक्स अचार, गोलभेँडाको अचार, खागो, पहु, दही, मासुलगायत विभिन्न परिकार हुन्छ ।
‘पनौतीमा लोप हुँदै गएका विभिन्न परिकार पनि बनाउने गरेका छौँ,’ उनीहरू भन्छन्, ‘पुराना परिकार बनाउन जान्ने कम हुनुहुन्छ, बनाउन पनि गाह्रो हुने भएकाले अहिले धेरैले बनाउन छाडिसके । तर, हामी बनाउँछौँ ।’
पाहाँ छेँमै आएर कुनै प्रकारको पार्टी, बिहेभोज, बेबी सावर, जन्मदिन मनाउनेका लागि पनि विशेष प्याकेज बनाएका छन् उनीहरूले । ‘जन्मदिन मनाउन आउनेका लागि नेवारी तरिकाले जन्मदिन मनाउने व्यवस्था गरेका छौँ,’ उनीहरूले भने । उनीहरूकोमा जन्मदिन मनाउँदा अन्यत्रजस्तो केक काट्ने वा अन्य तडकभडक केही हुँदैन । यहाँ नेवारी टीका, सगुनको व्यवस्था हुने उनीहरू बताउँछन् ।
पाहाँ छेँमा आएर एक पटक खानेहरू फेरि–फेरि पनि फर्केर आउने गरेको उनीहरूको भनाइ छ । ‘जति जना यहाँ आएर खानुभएको छ, उहाँहरूले खाना एकदमै मिठो भन्नुभएको छ’, उनीहरू भन्छन्, ‘पुरानो घरमा बसेर खाएको जस्तो अनुभव गरेर जानुहुन्छ । धेरैले आफ्नो हजुरआमाको हातको खाएको जस्तो अनुभव भयो भन्नुहुन्छ ।’
५ बुहारीको पाहुना खाजा घरमा धेरैजसो बनेपा, धुलिखेल, काठमाडौँ उपत्यकाबाट ग्राहक आउँछन् । केही अघिदेखि भने हेटौँडाबाट पनि ग्राहकहरू आउन थालेको उनीहरू बताउँछन् । खोलेको ३ महिनामै सन्तोषजन व्यापार भइरहेको उनीहरू बताउँछन् । ‘हामीले खोलेको धेरै समय भएको छैन । तर, राम्रो रेस्पोन्स छ,’ उनीहरूले भने, ‘हाम्रो मुख्य उद्देश्य नेवारी संस्कृति र परिकार बचाउने हो । तर व्यापारकै हिसाबमा पनि हामी सन्तुष्ट छौँ ।’
नेवारी परिकारहरू कहाँ–कहाँ पाइन्छ भन्ने विवरण राखिएको पुस्तकमा पाहाँ छेँको बारेमा समेत उल्लेख भएपछि पनि सोधीखोजी गर्दै आउनेहरू बढेका छन् । ‘एउटा पुस्तकमा नेवारी होटल कहाँ–कहाँ छ भन्ने विवरण समावेश गरिएको छ,’ उनीहरू भन्छन्, ‘त्यो किताब हेरेर पनि हाम्रोसम्म ग्राहकहरू आइपुग्नुहुन्छ ।’
पाहाँ छेँको प्रचार गर्न ५ बुहारीहरू अहिले लागिपरेका छन् । प्रचारका लागि पनौती पर्यटन सूचना केन्द्रले पनि सहयोग गरेको छ । नेपालमा टिकटक बन्द भएको असर पाहाँ छेँमा पनि परेको ‘बुहारी’हरू बताउँछन् । टिकटकमा उनीहरूले बनाएको परिकार हेरेर खान आउनेको संख्यामा उल्लेख्य वृद्धि हुन थालेको थियो । तर, अहिले बन्द भएपछि फेसबुकमार्फत् उनीहरूले प्रचार गरिरहेका छन् । फेसबुकमा हेरेर पनि ग्राहकहरू आउने भए पनि टिकटक जत्तिको प्रभावकारी नभएको उनीहरूको अनुभव छ ।
नेवारी परिकारको जगेर्ना र प्रचारप्रसारका लागि अहिलेसम्म स्थानीय सरकारबाट कुनै सहयोग पाएका छैनन् उनीहरूले । स्थानीय सरकारले थोरै मात्र पनि सहयोग गरिदिए धेरै हौसला मिल्ने उनीहरू बताउँछन् । ‘आउँदो दिनमा नेवारी परम्परा र संस्कृति जोगाउन र प्रवद्र्धनमा केही सहयोग पक्कै पाउने आस छ ।’
प्रतिक्रिया