फ्लड लाइटकाे ठेक्कामा राखेपकाे ‘सेटिङ’ पुष्टि, मुद्दा परेपछि ठेक्का प्रक्रिया रद्द 

फ्लड लाइटकाे ठेक्कामा राखेपकाे ‘सेटिङ’ पुष्टि, मुद्दा परेपछि ठेक्का प्रक्रिया रद्द 


काठमाडाैँ । 

कीर्तिपुरस्थित क्रिकेट रंगशालामा फ्लड लाइट जडानका लागि राष्ट्रिय खेलकुद परिषद्ले ‘सेटिङ’ गरेर लगाएकाे ठेक्का प्रक्रिया रद्द भएकाे छ ।

फ्लड लाइट जडानका लागि ४ वटा कम्पनी ठेक्का प्रक्रियामा सहभागी भए पनि राखेपले ३ वटा कम्पनीलाई नियतवश अयाेग्य घाेषित गर्दै आफ्नाे पकेटकाे कम्पनीलाई ठेक्का दिएकाे थियाे ।

४ वटा फर्मले आवेदन दिए पनि ३ फर्मलाई बेवास्ता गर्दै अयोग्य घोषित गरेपछि २ फर्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेका थिए भने सूर्योदय ऊर्जा – बुद्धराजा इलेक्ट्रिकल्स जेभीले सार्वजनिक खरिद पुनरावलोकन समितिमा मुद्दा दायर गरेकाे थियो । समितिले बुधबार सूर्याेदयकाे पक्षमा फैसला गर्दै ठेक्का प्रक्रिया नै रद्द गरिदिएको छ ।

१७ साउन, २०८० मा दिन राष्ट्रिय खेलकुद परिषद्ले दोस्रो पटक कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडानका निम्ति बोलपत्र आह्वान गरेको थियो । सो समयमा अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियामार्फत् योग्य बोलपत्रदातासँग प्राविधिक र वित्तीय प्रस्ताव गरी २ तहको  खाम बोलपत्र प्रक्रियामा सहभागी हुन आह्वान गरिएको थियो ।

४ मध्ये परिषद्ले ११ कात्तिकमा उल्लेखित बोलपत्रको प्राविधिक मूल्यांकनको नतिजा सार्वजनिक गरेको थियो । त्यसपछि नै राष्ट्रिय खेलकुद परिषद्को बदनियत प्रष्ट भएको हो ।

हाल खरिद पुनरावलोकन समितिमा मुद्दा लिएर पुगेको सूर्योदय ऊर्जा– बुद्ध राजा इलेक्ट्रिकल्सले आफू के कति कारणले अयोग्य भएको भन्दै जबाफ माग गरेपछि २४ कात्तिकमा १७ कात्तिककाे मिति राखेर परिषद्ले इमेलमार्फत् पत्र पठाएको थियो ।

निवेदकले कारण माग गरेको २ दिनपछि बिनाअध्ययन निष्कर्ष निकाल्ने र थप कानुनी बाटोको समय कम राख्ने बदनियत रहेको पीडित पक्षको आरोप छ । विशेषज्ञ कन्स्ट्रक्सन अनुभव र गएको १० वर्षमा नेपाली रुपैयाँ ११ करोड ३२ लाख ४८ हजार ६०० रुपैयाँभन्दा बढीको काम सफलतापूर्वक गरेको प्रमाण र कागजात नपुगेको कारण राखेपले देखाएकाे थियाे ।

जबकि सूर्योदय ऊर्जा – बुद्धराजा इलेक्ट्रिकल्स जेभीले प्रस्तुत गरेको कागजातमा यसअघि अन्तर्राष्ट्रिय स्तरमा थुप्रै काम गरिसकेको प्रमाणसमेत पेस थियो ।

सूर्योदय ऊर्जा – बुद्धराजा इलेक्ट्रिकल्स जेभीले भारतीय रुपैयाँ १४ करोड ५१ लाख २७ हजार ६११ रुपैयाँ बराबरको सर्भे, डिजाइन, सप्लाई इन्स्टलेसन, टेस्टिङ कमिसनिङ, अपरेसन र मर्मतको ७ बर्से एलइडी ल्युमनरिज फरक अरुण जेट्ली रंगशाला डिडिसिएको अनुभव प्रमाणपत्र पेस गरेको थियो ।

यसै गरी पुणेको रंगशालामा गरेको अर्को कामको कागज पनि पेस गरेको थियो । ती सबै कागजात नेपाल सरकारको इ-गभर्मेन्ट प्रोसिमेन्ट (इजिपी) सिस्टम प्रकरण ५ (ख)मा उल्लेख भएबमोजिम नै छन् । दक्ष प्राविधिकले तयार गरेको सो रिपोर्ट बुझ्न सक्ने क्षमता परिषद्मा नभए सोधपुछ गर्न सक्ने अवस्थालाई बद्नियतपूर्ण ढंगले बेवास्ता गरिएको सूर्याेदयकाे आराेप थियाे ।

१ मंसिरमा यसमा चित्त नबुझेका कारण पुनरावलोकन गरी पाउँ भनी सूर्याेदय ऊर्जा – बुद्ध राजा इलेक्ट्रिकल्स जेभीले फेरि निवेदन दिएको थियो । यसमा ७ दिनको समय रहे पनि परिषद्ले ५ मंसिरमा सदस्य सचिव स्तरीय निर्णय अनुसार पुनरावलोकन नहुने भन्दै अर्को पत्र ६ मंसिरमा हुलाकमार्फत पठाएको थियो । कहिले इमेल र कहिले हुलाकमार्फत पत्र पठाउनु परिषद्को अर्को बद्नियत रहेकाे र सकेसम्म थप कानुनी बाटो रोक्ने प्रयास भएको पनि पीडित पक्षको आरोप थियो।

यसरी अयोग्य घोषित गर्दा सार्वजनिक खरिद ऐन(२०६३) को उपदफा ४ मा उल्लेख भएको बोलपत्रदातासँग स्पष्टीकरण माग गर्न सक्ने व्यवस्थालाई बेवास्ता गरिएको देखिएको छ ।

उच्चस्तरीय उपकरण समेत सो कम्पनीले निवेदनमा राखेको थियो । जब कि योग्यताको मापनको आधार सामान पनि बनाइएको छ ।

सूर्योदय ऊर्जा – बुद्धराजा इलेक्ट्रिकल्स जेभी १ मंसिरमा  पुगे पनि परिषद्ले सम्झौता प्रक्रिया अघि बढाउनुले नियत अझ खराब देखिएको छ । परिषद्मा सो निवेदन परेपछि  १२ मंसिरसम्म सूर्योदय ऊर्जा – बुद्ध राजा इलेक्ट्रिकल्स जेभीका लागि  सार्वजनिक खरिद पुनरावलोकन समितिमा जानका लग कुर्नुपर्ने कानुनी मान्यतालाई बेवास्ता गदै १२ मंसिरमै परिषद्ले सम्झौता गरेको हो ।

सो सम्झौताको विरुद्धमा सूर्योदय ऊर्जा – बुद्धराजा इलेक्ट्रिकल्स जेभी १२ मंसिरमै सार्वजनिक खरिद  पुनरावलोकन समितिमा पुगेको थियो । १३ मंसिरमा समितिले स्टे अर्डर जारी गरिसकेको थियो।

फ्लड लाइट जडानका लागि परिषद्ले २७ करोड ४० लाख २ हजार २२ रुपैयाँमा महावीर आइएसई जेभीसँग सम्झौता गरेको थियो।