प्रधानमन्त्री कार्यालयमै अर्धनग्न प्रदर्शन, ३ जना पक्राउ

प्रधानमन्त्री कार्यालयमै अर्धनग्न प्रदर्शन, ३ जना पक्राउ


काठमाडौं ।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टको क्रान्तिकारी युवा संगठनले आज काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेको छ ।

संगठनले प्रधानमन्त्री निवास बालुवाटार गेटमा, सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि, सर्वोच्च अदालतको मुल गेटमा, संसद भवनको तीन नम्बर र दुई नम्बर गेटमा र पुल्चोकस्थित मन्त्री निवासमा अर्धनग्न प्रदर्शन गरेको हो ।

बालकुमारी घटना, एमसीसी र एनसल प्रकरणको विरोधमा प्रदर्शन गरेको क्रान्तिकारी युवा संगठनका केन्द्रीय अध्यक्ष हरिश भट्टले जानकारी दिए । उनले भने, ‘हामी नांगिएर प्रदर्शन गरेर सांकेतिक रुपमा सत्ता नांगिसकेको सन्देश दिन खोजेका हौं, मिलिभगत लुटतन्त्रको विरोधमा पहिलो चरणको पहिलो कार्यक्रम हो यो ।’

यसअघि युवा संगठनले प्रधानमन्त्री कार्यालयमा हुलाकमार्फत् यही पुस ३ गते २० बुँदे ज्ञापन पत्र बुझाएका थियो । ज्ञापन पत्रमा उल्लेख भएका माग सरकारले सम्बोधन नगरेको भन्दै आज संसदीय र प्रशासनिक केन्द्रभित्र प्रदर्शन गर्ने पूर्वयोजना अनुसार प्रदर्शन गरेको युवा संगठनले जनाएको छ ।

प्रदर्शनमा सहभागीहरुमध्ये अहिलेसम्म ३२ जना पक्राउ परेको र उनीहरुलाई फरक-फरक ठाउँमा राखिएको प्रारम्भिक जानकारी आएको भट्टले बताए । पक्राउ पर्नेहरुमा केन्द्रीय कार्यालय सदस्य लगायत छन् ।