सूर्यदर्शन सहकारीका फरार २ जना अभियुक्त अदालतमा हाजिर

सूर्यदर्शन सहकारीका फरार २ जना अभियुक्त अदालतमा हाजिर


पाेखरा ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा फरार दुई अभियुक्त अदालतमा हाजिर भएका छन्।

सहकारीका सञ्चालक समिति सदस्य भविश्वर अर्याल र पूर्वसञ्चालक सदस्य शिवबहादुर गुरूङ ‘महेन्द्र भोटे’ मंगलबार अदालतमा उपस्थित भएका हुन्।

अदालतले उनीहरूलाई कारागार चलान गर्ने कि तारेखमा छाड्ने भनेर मंगलबार नै थुनछेक बयान लिएको थियो।

थुनछेक आदेश बुधबार आउने भएपछि उनीहरूलाई प्रहरी हिरासतमा पठाइएको जिल्ला अदालत कास्कीका स्रेस्तेदार रूद्रप्रसाद अर्यालले बताए।

यो सहकारीले सर्वसाधारण बचतकर्ताको एक अर्ब ३१ करोड रूपैयाँ अपचलन गरेको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालयले १९ जना विरूद्ध मुद्दा दायर गरेको छ।

सहकारीका अध्यक्ष गीतेन्द्रबाबु (जिबी) राइसहित १५ जना फरार छन्।

सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल यसअघि नै पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्।