नोबेल अस्पतालको २० लाख रुपैयाँ हिनामिना, ३ जना कर्मचारी पक्राउ

नोबेल अस्पतालको २० लाख रुपैयाँ हिनामिना, ३ जना कर्मचारी पक्राउ


विराटनगर ।

नोबेल अस्पतालको २० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा ३ जना कर्मचारी पक्राउ परेका छन् ।

अस्पतालको काउन्टरमा संकलन हुनुपर्ने रकममध्ये करिब २० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा ३ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो ।

रकम हिनामिना भएको पाइएपछि अस्पताल प्रशासनले प्रहरीमा उजुरी दिएको थियो । उजुरीका आधारमा प्रहरीले ३ जनालाई पक्राउ गरेको जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार पक्राउ पर्नेमा काउन्टरमा क्यासियर विराटनगर–१ का ४२ वर्षीय सूर्यप्रकाश बराल, विराटनगर–४ का ३० वर्षीय करणदेव विश्वास र सुनसरीको दुहबी–१२ का २९ वर्षीय राजेशकुमार फौदार छन् ।

अस्पतालको काउन्टरमा सेवाग्राहीबाट विभिन्न कामका लागि भुक्तानी भएको रकम हिनामिना गरेको आरोप उनीहरूमाथि छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेकाहरूले बिरामीबाट काउन्टरमा संकलित रकम हिनामिना गरेको पाइएको छ ।

त्यसरी संकलित रकममध्ये केही अंश अस्पतालको खातामा जम्मा गर्ने र अरू रकम आफूहरूले हिनामिना गरेको पाइएको जनाइएको छ ।