मुगु ।
मुगुको मुगूम कार्मारोङ गाउँपालिका–१ चितै गाउँका ७६ वर्षीया मुन्जुक लामालाई सामाजिक सुरक्षाभत्ता लिन चितै गाउँबाट गाउँपालिका केन्द्र पुलुमा पुग्न ठ्याक्कै एक दिन हिड्नुपर्छ ।
सामाजिक सुरक्षा भत्ता बुझ्न उनले हरेक तीन महिनामा यस्तै सास्ती खेपेर पुलुमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा आइपुग्नुपर्छ ।
बैंंकमार्फत् सामाजिक सुरक्षाभत्ता वितरणपछि ज्येष्ठ नागरिकलाई समस्या उत्पन्न भएको छ । बैंकहरु गाउँपालिका, सदरमुकाम केन्द्रित हुने भएकाले रकम झिक्न दुई दिनसम्म पैदल हिड्नु पर्ने बाध्यता छ । झन् त मुगुको मुगूम कार्मारोङ गाउँपालिकाको गाउँबस्तीमा सडकको पहुँच नै छैन । गाउँवस्तीमा बैंक पनि छैनन् । यसले गर्दासामाजिक सुरक्षाभत्ता घर नपुग्दै सकिने गरेको छ ।
सदरमुकाम गमगढी बजारबाट दुई दिनको पैदल यात्रा गरेर रिपोटिङ गर्ने क्रममा चितै गाउँमा भेटिकी ७२ वर्षीया छिरिङ म्याङ्जोम लामालाई भत्ता लिन दुई दिन हिँड्नुपरेको बताइन् । कार्मारोङ गाउपालिकाका कुनै पनि बस्तीहरु सवारी पहँुचमै छैनन् । बाटो साघुँरो छ । तल कर्णाली कलकल बगिरहेको छ । एकातिर डरमय स्थान भएर हिँड्नु पर्छ, जसले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता लिन जोखिम मोल्नुपर्ने हुन्छ भने एक दिन बीच बाटोमै बास बस्नुपर्छ ।
विगतका वर्षहरुमा घुम्ती शिविरमार्फत् सामाजिक सुरक्षाभत्ता वितरण गरेको थियो । विगत केही वर्षयतादेखि बैंकमार्फत भत्ता वितरण गर्न थालेपछि दुर्गमका ज्येष्ठ नागरिकलाई सास्ती हुने गरेको छ । बैंकमा समयमै काम नभएर ढिला भए साँझ टर्च बालेर आधा बाटोमै बास बस्नु पर्ने ज्येष्ठ नागरिकको गुनासो छ । सुख्खा मौसममा बाटोमा खानेपानीसमेत भेटिँदैन । बुढेसकालका कारण समय बित्दै जाँदा क्रमशः हिँडडुल गर्न ज्येष्ठ नागरिकलाई समस्या हुने गरेको मुगूम कार्मारोङ गाउँपालिका वडा नं १ चितै गाउँका ७० वर्षीय धावा छिरिङ तामाङले बताए ।
मुगुम कार्मारोङ गाउँपालिका मात्रै होईन जिल्लाका चारवटै स्थानीय तहका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता लिन सास्ती हुने गरेको बताउँछन् । गाउँमा बैंक नआउँदा कठिन भएको मुगूम कार्मारोङ गाउँपालिका–७ मह गाउँका ७८ वर्षीया छेवाङ तेन्जिङ्ग लामाको गुनासो छ । सरकारले सामाजिक सुरक्षाभत्ता बैंकमार्फत दिन थालेपछि स्थानीय तहका केन्द्रमा बैंकका शाखा खुलेका छन् । तर, दुर्गम जिल्लाका गाउँमा बसोवास गर्ने नागरिकलाई स्थानीय तहका केन्द्रसम्म पुगेर भत्ता थाप्न अझै घन्टौँ पैदल हिँड्नुपर्ने बाध्यता परेको छ ।
यता मुगूम कार्मारोङ गाउँपालिकाका अनुसार घुम्ती शिविरमार्फत् सामाजिक सुरक्षाभत्ता वितरण गर्दा अनियमितता भएको र पाउनुपर्ने भत्ता ज्येष्ठ नागरिकले पाएनन् । गाउँ गाउँमा गएर सामाजिक सुरक्षाभत्ता वितरण गर्ने भनेर गाउँपालिकाले निर्णय मात्र गरेको, तर कार्यान्वयन नभएको मुगूम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए । स्थानीय तह आउनुभन्दा अघि वडासचिवले घरघरमै लगेर बाँड्ने गरेका थिए ।
कतिपय वडामा पायक पर्ने ठाउँमा जम्मा गरेर पनि बाँड्ने गरिन्थ्यो । हाल स्थानीय तह आएपछि बैंकमार्फत भत्ता दिने गरिएको हो । यसरी बैंकमार्फत सम्बन्धित व्यक्तिको बैंक खाता खोलेर भत्ता दिने सुनिश्चित गरिए पनि दुर्गम ठाउँका नागरिकले भने अझै सास्ती खेप्नुपरेको छ ।
प्रतिक्रिया