स्याङ्जा ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको हालै सम्पन्न निर्वाचन प्रक्रियाविरुद्ध उजुरी परेको छ ।
संघमा आबद्ध सदस्यहरूमार्फत् जिल्ला प्रशासन कार्यालय स्याङ्जामा संघको ३८औँ वार्षिक साधारणसभा तथा १६औँ अधिवेशनका लागि वितरित सदस्यता र मतदान प्रक्रिया विधान प्रतिकूल भएको भन्दै उजुरी परेको हो ।
स्याङ्जाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै छानबिन गरी निर्वाचन रद्द गरिपाऊँ भन्ने उजुरी परेको छ । संघसँग आबद्ध व्यवसायीको नाममा परेको उजुरीमा नाम उल्लेख नगरी एक दर्जनभन्दा बढी व्यवसायीले हस्ताक्षर गरेका छन् । उनीहरूले हालै सम्पन्न भएको निर्वाचन प्रक्रिया रद्द गरी पुनः निर्वाचन गर्न माग गरेका छन् ।
प्रशासनमा दर्ता भएको उजुरीमा संघको विधान २०५३ को (अन्तिम संशोधन २०७७) को परिच्छेद–५ को दफा ९ अनुसार सदस्यताका लागि योग्यता नपुगेको, दफा १० को सदस्यता प्राप्तिको प्रक्रिया पूरा नगरेको, दफा १३ अनुसार सदस्यता शुल्क नबुझाएको र दफा १४ अनुसार सदस्यता नवीकरण नगरिएको तथा संघको विधानको मर्म र भावनाको बर्खिलाप हुने गरी २०८० सालको असार मसान्तमा दर्ता भई २०७९ को समेत सदस्यता कायम गरिएको उल्लेख गरिएको छ ।
संघको विधानको परिच्छेद–५ मा संघको सदस्यता हुनका लागि सरकारी निकायमा व्यवसाय दर्ता गरी पान नम्बर प्राप्त गरेको फर्मवाला हुनुपर्ने व्यवस्था छ । पान नम्बर प्राप्त गरेपछि संघको सदस्यताका लागि निवेदन दिने र निवेदन उपर छानबिनपछि प्राप्त सदस्यता एक आर्थिक वर्ष नवीकरण भएपछि मात्रै मताधिकारसहितको सदस्य हुने व्यवस्था छ ।
उता, संघको ३८औँ वार्षिक साधारणसभा तथा १६औँ अधिवेशनका लागि वितरित सदस्यता आर्थिक वर्ष २०७९÷०८० को असार मासान्तमा दर्ता गरी आर्थिक वर्ष २०७८÷०७९ को समेत विधानविपरीत नवीकरण गरिएको व्यवसायीको दाबी छ । मताधिकार नभएको व्यक्ति उम्मेदवार बनेको समेत व्यवसायीले उजुरीमा आरोप लगाएका छन् ।
उद्योग वाणिज्य संघको निर्वाचन सन्दर्भमा परेको उजुरीमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले नवनिर्वाचित समिति र निर्वाचन अधिकृतलाई सक्दो छिटो प्रतिवेदन दिन भन्दै पत्र काटेको छ । प्रतिवेदनसँगै सदस्यता वितरण र निर्वाचन प्रक्रियामा प्रयोग भएका कागजात समेत पेस गर्न विपक्षीलाई निर्देशन गरिएको प्रशासन कार्यालयले जनाएको छ ।
त्यसैगरी, संघको ३७औँ साधारणसभा तथा अधिवेशनबाट संघको विधान परिच्छेद–५ कै दफा १५ को (उपदफा ग) अनुसार कारबाहीमा परेको र निजको सदस्यताले संघको अध्यक्ष बन्न नपाउने (निर्माण व्यवसायी) रहेको व्यक्ति अध्यक्षको उम्मेदवार बनेर निर्वाचित भएको उजुरीमा उल्लेख गरिएको छ ।
२०७४ अघिको कार्यसमितिमा श्रेया कन्स्ट्रक्सन सञ्चालकका नाताले हालका अध्यक्ष महादेव श्रेष्ठ संघको द्वितीय उपाध्यक्ष थिए । संघको अध्यक्ष हुन निर्माण व्यवसायीलाई विधानले रोक लगाएको छ । श्रेष्ठले २०८० मा आएर श्रेया स्पोर्ट फर्म दर्ता गरेपछि अध्यक्षमा उम्मेवार भएर निर्वाचित भएका हुन् ।
संघको अध्यक्ष हुन एक कार्यकाल पदाधिकारी बन्नुपर्ने विधानले व्यवस्था गरे पनि अध्यक्ष श्रेष्ठले द्वितीय उपाध्यक्ष हुँदा अध्यक्ष बन्न नमिल्ने फर्म र अध्यक्ष बन्दा नयाँ फर्म दर्र्तामार्फत् सदस्यता प्राप्त गरेको प्रक्रिया गलत भएको उजुरीमा आरोप लगाइएको छ ।
संघको हालै सम्पन्न निर्वाचनमा ५८६ सदस्यको मतदाता नामावलीमा नाम रहे पनि ४७५ जनाले मतदानमा सहभागिता जनाएका थिए । नामावली र मतदानमा नाम उल्लेख भएका करिब २०० सदस्य विधानविपरीत संघको सदस्यता प्राप्त गरेको व्यवसायीको आरोप छ ।
प्रतिक्रिया