सिराहा ।
सिराहाको लहानका किसान रतन साह रङ्गीन काउली बेच्दा उपभोक्ताको चित्त बुझाउनमै हैरान छन् । उनले आफ्नो पाँच धुर बारीमा लगाएको रङ्गीन काउली लहान बजारमा बेच्न लैजाँदा हेर्नेको भिड हुन्छ भने खरिद गर्न उपभोक्ता हिचकिचाउने गरेका छन् ।
कसैले स्प्रे गरेर रङ्गीन गरेको भनेका हुन्छन् भने कसैले रङ लगाएर यस्तो बनाइएको आशङ्का गर्छन् । कतिपयले त धारामा लगेर काउली धुन पनि लगाएका छन् । सबै जाँच गरेपछि मात्र उपभोक्ताले रङ्गीन काउली किनेको अनुभव साहसँग छ ।
उनले अनलाइनमार्फत भारतको महाराष्ट्रबाट ‘भेलेनटेना’ र ‘कारोटेना’ जातको रङ्गीन काउलीको बिउ मगाएर रोपेका थिए । राम्रोसँग स्यहारसुसार गर्दा पहेँलो र बैजनी रङको काउलीको उत्पादन राम्रै भए पनि बेच्न भने मुस्किल भइरहेको उनले बताए ।
उनले भने, “उपभोक्ताले विभिन्न शङ्का गर्दै ओल्टाइपल्टाई हेर्छन् अनि चित्त बुझेपछि मात्र खरिद गर्छन् ।” उपभोक्ताले बिस्तारै बुझ्दै गएपछि भने बिक्रीमा सहज हुँदै गएको छ । आगामी वर्ष थप आठ कट्ठा क्षेत्रफलमा रङ्गीन काउली खेती गर्ने साहले बताए ।
उपभोक्ताले दुई सयदेखि २५० रुपियाँ प्रतिकेजीका दरले काउली खरिद गरेको उनको भनाइ छ । स्वाद थाहा पाइसकेपछि पुनः खरिद गर्न आएको पनि भेटिएको उनले बताए । बजारीकरणमा ध्यान दिए रङ्गीन काउलीको सम्भावना देखेको साहले बताए ।
यो काउलीको बिउ महँगो भएकाले मूल्य पनि यस्तो राखेको उनले बताए । “एउटा बिउको १४ रुपैयाँ पर्छ । लोकल सेतो काउलीको एउटा बिउको आठ–नौ रुपैयाँ मात्र पर्छ । सेतो काउलीभन्दा यो काउलीको स्वाद फरक हुनुका साथै प्रोटिन पनि उच्च हुन्छ । उत्पादन गर्ने विधि भने एउटै हो,” उनले भने ।
वैदेशिक रोजगारीका क्रममा साउदी गएका बेला यो काउलीका बारेमा थाहा पाएको बताउँदै साहले भने, “नेपाल आएपछि यसको बिउ खोज्दा पाइनँ । त्यसपछि अनलाइनमार्फत भारतको महाराष्ट्रबाट मगाएर लगाएको हुँ ।”
भोजपुरको साल्पासिलिछो गाउँपालिकाका सुरेन्द्र तामाङले पनि आफ्नो बारीमा रङ्गीन काउली लगाएका छन् । उनले पनि वैदेशिक रोजगारीमा गएका बेला यो काउलीका बारेमा थाहा पाएको बताए । एक साथीबाट पाएको रङ्गीन काउलीको बिउबाट उनले यही वर्षदेखि उत्पादन थालेका छन्। रङ्गीन काउलीका लागि बजार भने अभाव रहेको उनले बताए ।
नेपालमा रङ्गीन काउलीका बारेमा हालसम्म कुनै अनुसन्धान नभएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी अध्यक्ष डा. ध्रुवराज भट्टराईले बताए। “अरू काउलीभन्दा रङ्गीन काउलीमा पोषक तत्व बढी हुन्छ । यसमा ‘एन्टिओक्साइडेन्ट’ पनि उच्च हुन्छ,” उनले भने, “रङ्गीन काउली क्यान्सरका बिरामीका लागि निकै उपयोगी हुन्छ ।” ठुला तारे होटलमा कहिलेकाहीँ यस्तो काउली देखिन्छ तर बजारमा भने भेटिँदैन । कतिपय देशमा यसको उत्पादन र बजार राम्रो रहेको आफूले पाएको उनले बताए ।
राष्ट्रिय बागवानी अनुसन्धान केन्द्रका वरिष्ठ प्राविधिक अधिकृत नवीनगोपाल प्रधानले पनि नेपालमा रङ्गीन काउलीबारे कुनै अध्ययन अनुसन्धान नभएको बताउए ।
नेपालको हावापानीमा रङ्गीन काउली राम्रोसँग उत्पादन गर्न सकिने तर उपभोक्ताले रुचाउँछन् कि रुचाउँदैनन् भन्नेमा आशङ्का रहेको उनले बताए । काउलीमै पिएचडी गरिरहेका अधिकृत प्रधानले अहिलेसम्म उपभोक्ताले सेतो काउली नै खोजी खोजी खाने भएकाले रङ्गीन काउली रुचाउँछन् कि रुचाउँदैनन् भनी ‘मार्केट ट्राई’ नै गर्नुपर्ने बताए।
अनुसन्धान केन्द्रका प्रमुख अमर पुनले पनि रङ्गीन काउलीबारे कुनै अध्ययन नभएको बताए । हालै सुपरी अर्ली जातका काउली, तराई १, २ गरी तीन वटा काउलीको अनुसन्धान भएको तर रङ्गीन काउलीका लागि स्रोत नै नभेट्टाएपछि अनुसन्धानतिर ध्यान नगएको उनले बताए। हाल नेपालमा ३५ जातका काउली सिफारिस भएका छन् । तीमध्ये सबैभन्दा बढी ‘खुमल ज्यापू’ र ‘काठमाडौँ लोकल’ चलेका छन् । गोरखापत्र
प्रतिक्रिया