बंगलादेश घटना पछि नेपालमा उच्च सुरक्षा सतर्कता

बंगलादेश घटना पछि नेपालमा उच्च सुरक्षा सतर्कता


काठमाडौं । आरक्षणको विरोधमा बंगलादेशमा आन्दोलन चर्किएर प्रधानमन्त्रीले समेत देश छोडेपछि नेपालमा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

गृह मन्त्रालयले सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन भन्दै निर्देशन दिएको छ । नेपाल प्रहरीले उच्च सतर्कता अपनाउँदे थप जनशक्ति परिचालन गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले बताए । ‘हामीले उच्च सतर्कता अपनाएका छौं । थप जनशक्ति पनि परिचालन गरेका छौं, निगरानी बढाएका छौं,’ प्रवक्ता कार्कीले भने ।

त्यसैगरी सशस्त्र प्रहरी बलले पनि उच्च सतर्कता अपनाएको छ । बिदामा गएकाहरूलाई समेत फिर्ता बोलाउने तयारी भएको सशस्त्र प्रहरीले जनाएको छ । बोर्डर आउट पोस्ट (बीओपी)हरूमा समेत थप जनशक्ति परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेका अनुसार प्रत्येक बीओपीमा ५/६ जनाको दरले जनशक्ति थप गरेर परिचालन गरिएको छ । ड्युटीलाई पनि चौबिसै घण्टा बनाइएको उनले बताए ।

विशेषगरी कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशलाई केन्द्रित गरेर जनशक्ति परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बंगलादेशमा सरकारी जागिरमा आरक्षण र कोटा प्रणालीको विरोधमा भएको आन्दोलन सोमबार थप हिंसात्मक भएको थियो । बंगलादेशको राजधानी ढाकामा जारी तनावका बीच प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेकी छन् ।

बंगलादेशका सेना प्रमुख जनरल वकार उज–जमानले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । अन्तरिम सरकार बनाउन राष्ट्रपतिका साथै विपक्षी दलसँग संवाद गरेको उनले बताएका छन्।