गुल्मी दर्लिङमा पहिरोले बस्ती नै विस्थापित

गुल्मी दर्लिङमा पहिरोले बस्ती नै विस्थापित

खानेपानी योजना बगाएपछि सास्ती


मालिका गाउँपालिका–२ दर्लिङका धनबहादुर विकले घर छाडेको एक साता भयो । तलबाट दुनाम खोलाको डर, माथिबाट पहिरोको पिरलो । पहिरोको जोखिमले पाँचजनाको परिवारसहित विक स्थानीय च्यानडाँडा सामुदायिक स्वास्थ्य केन्द्रको खाली भवनमा बस्न थालेका हुन् । यो व्यथा २२ साउनदेखि सुरु भएको हो ।
मालिका गाउँपालिका– २ दुनामका हरिलाल विक पनि पहिरोले घर घेरेपछि श्रीमती र छोरी लिएर सधैँ साँझमा च्यानडाँडा सामुदायिक स्वास्थ्य केन्द्रमा सुत्न जान्छन् । ‘पानी परे बस्ती नै बगाउने जोखिम छ, पानी परेको दिन म मात्र होइन, छिमेकी कोही पनि घरमा बस्दैनन् । स्वास्थ्य केन्द्रको खाली भवनमा बस्छौँ,’ उनले भने । दुनामका नरमती सुनार, जंग सुनार र भागिरथी सुनारको परिवार पनि स्वास्थ्य केन्द्रमा वास बस्न जाने गरेको छ ।

२२ साउनमै काभ्राबाङका कर्ण पुनको घरगोठ नै पहिरोले बगायो । उनका पशुचौपायासमेत मरे । पुनको चारजनाको परिवार छिमेकीको घरमा आश्रय लिएर बस्दै आएको छ । धार र काभ्राबाङमा बस्ती नै बग्ने खतरा हुँदा पनि विपन्नताका कारण अन्यत्र सर्न नसकेका २२–२३ घर छन् । घरभित्रै मूल फुट्ने, ढिक चर्कने, बारीका काल्नाहरू झर्ने, घरहरू टेढो पर्नेलगायतका समस्या भइरहे पनि बस्ती छोड्न भने कसैले सकेका छैनन् । पहिरोले काभ्राबाङका टीकाराम घर्तीको गोठ बगाउँदा भैँसी र हरिलाल थापाका दुई गोरु मरेका छन् । २२ साउनयता मात्र दुनाम, पाटाखर्क, बिसौना, उल्लेर, धार, काभ्राबाङ र कोसिलाबाँझका ४३ घरपरिवार विस्थापित भएका छन् । पाटाखर्कका १७, धारका १४, उल्लेर र काभ्राबाङका आठ तथा दुनाम र कोसिलाबाँझका दुई–दुई घरपरिवार पहिरोका कारण विस्थापित भएको मालिका गाउँपालिका–२ का वडाध्यक्ष विनोद श्रीसले जानकारी दिए । १४ घर च्यानडाँडा सामुदायिक स्वास्थ्य केन्द्रको भवनमा आश्रय लिएर बसेको उनले बताए । उनका अनुसार विस्थापित परिवार च्यानडाँडा सामुदायिक स्वास्थ्य केन्द्रको भवन, सिद्ध प्रावि र छिमेकीकामा आश्रय लिएर बसेका छन् । ‘गाउँ पहिरोले तहसनहस छ, वडाको तर्फबाट त्रिपाल मात्र दिन सकेका छौँ,’ उनले भने, ‘घरवास, पानी, बिजुली सबै क्षेत्रमा ठूलो क्षति पुगेको छ ।’

गाउँपालिका अध्यक्ष देवीराम अर्यालले करिब चार दर्जन घरपरिवार विस्थापित, विद्युत्, सडक, खानेपानी, विद्यालयलगायतमा पहिरोले क्षति पुर्‍याएको बताए । संघ र प्रदेशमा समन्वय गरेर काम अगाडि बढाउने उनले बताए । ०७२ को भूकम्पपछि बर्खा लाग्नेबित्तिकै घरवास छोड्नुपर्ने बाध्यता यहाँका स्थानीयको छ । भूकम्पपछि चर्किएका जमिन बर्सेनि भासिने र खस्ने भएपछि गाउँमा ढुक्कले बस्ने स्थिति छैन । सरकारले कोसिलाबाँझलाई बस्ती स्थानान्तरण गर्नुपर्ने गाउँको सूचीमा राखेको छ । तर, अहिलेसम्म स्थानान्तरणको कुनै पनि प्रक्रिया सुरु नै भएको छैन । गन्तव्यमा पुग्ने सडक क्षतविक्षत भएका छन् । पहिरोले बिचारे पाटाखर्क र भुजेलगाडे च्यानडाँडा खानेपानी आयोजना बगाउँदा एक सय बढी परिवारलाई खानेपानीको समस्या छ । दुनाम, पाटाखर्क, बिसौना, उल्लेर, धार र काभ्राबाङमा ६ दिनदेखि विद्युत् सेवा अवरुद्ध छ । च्यानडाँडा माविको पाँच कोठामा पहिरोले क्षति पुर्‍याउँदा पठनपाठनमा समस्या भएको च्यानडाँडा माविको विद्यालय व्यवस्थापन समिति अध्यक्ष रवीन्द्र विश्वकर्माले बताए । उनका अनुसार बिचारे पाटाखर्क र भुजेलगाडे च्यानडाँडा खानेपानी आयोजना पहिरोले बगाउँदा एक सयभन्दा बढी परिवारलाई खानेपानीको समस्या भएको छ । पहिरोले च्यानडाँडा माविको नौकोठे विद्यालय भवन जोखिममा परेको छ । विद्यालयको तलबाट पहिरो खस्दै गएपछि भर्खर बनाएको नौकोठे भवन पूरै चर्किएको छ । एउटा कोठा बस्नै नहुने भएको छ ।

च्यानडाँडा माविमा दुई सय २९ विद्यार्थी छन् । तर, नयाँ भवनमा कक्षा ६, ७ र ८ का गरेर एक सय विद्यार्थीले अध्ययन गर्दै आएको प्रधानाध्यापक मुक्तबहादुर खत्रीले जानकारी दिए । ‘हालै बनेको भवन पहिरोले तहसनहस बनायो । विद्यार्थी कहाँ राखेर पढाउने भन्ने समस्या छ,’ उनले भने ।

 

लमजुङ तल्लो चिप्लाका ४२ परिवार त्रिपालमुनि

पहिरोको जोखिम बढेपछि लमजुङको मर्स्याङ्दी गाउँपालिका– ५ तल्लो चिप्लाका ४२ परिवार त्रिपालमुनि पुगेका छन् । तल्लो चिप्लाको गैरीगाउँको सिरानमा जमिनमा धाँजा फाट्ने, चिरा पर्ने र केही ठाउँमा पहिरोसमेत खसेपछि पहिरोको डरले त्रिपाल टाँगेर सुरक्षित स्थानमा सरेका छन् ।

१२ साउनको वर्षाले बस्तीमाथिका जमिन चिराचिरा परेर पहिरो जाने जोखिम बढेपछि साउन १३ गतेदेखि ४२ घरपरिवार गाउँनजिकैको डाँडागाउँमा गएर त्रिपाल टाँगेर बस्दै आएको स्थानीय बबिता घलेले बताइन् ।वडाध्यक्ष घनश्याम घलेले बस्तीभन्दा करिब साढे एक सय मिटरमाथि १५–२० मिटर चिरा परेको र साना–साना दर्जनौँ स्थानमा जमिन फाटेर पहिरोको जोखिम बढेपछि स्थानीय त्रिपाल टाँगेर बस्न थालेको बताए ।

भिरालो ठाउँमा बस्ती भएकाले गाउँ नै पहिरोको उच्च जोखिममा परेपछि गाउँपालिकाबाट २५, जिल्ला प्रशासन कार्यालयबाट चार र नेपाल रेडक्रस सोसाइटीबाट १० त्रिपाल स्थानीयलाई सहयोग प्राप्त भएको तथा अस्थायी रूपमा मकैबारीमा त्रिपाल टाँगेर स्थानीयका लागि राति सुत्न व्यवस्थापन भइरहेको वडाध्यक्ष घलेले बताए  भदौसम्म जोखिम रहने भएकाले स्थानीयलाई मकैबारीमा त्रिपाल टाँगेर राखिएको छ । यो गाउँमा १८० स्थानीय छन् । प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले पहिरोको जोखिम रहेपछि अस्थायी रूपमा बस्नलाई त्रिपाल व्यवस्थापन गरिएको र स्थानीय त्रिपाल टाँगेर सुरक्षित स्थानमा बस्न थालेको बताए ।