धनगढी । बाढीले घर डुबानमा परेपछि विस्थापित भजनी नगरपालिका–८, सोनाफाँटाकी रेशमकला चौलागाईंको आठजनाको परिवार बस्तीनजिकको सामुदायिक भवनमा आश्रय लिएर बसेको छ । मोहना, कान्द्रा, काँढा र पथरैया नदीमा अझै बाढी घटेको छैन । बस्ती जलमग्न भएकाले घरमा बाढीले कति क्षति पुर्यायो भनेर हेर्नसमेत नपाएको चौलागाईंले बताइन् । ‘हाम्रो टोलका ३० परिवार विस्थापित भएका छौँ । बाढी नघटेकाले घरमा कति क्षति पुर्यायो भनेर हेर्नसमेत जान पाएका छैनौँ,’ उनले भनिन्, ‘सामुदायिक भवनमा कोचाकोच छ, ठाउँ नपाएर कतिपय परिवार हुलाकी सडकमा त्रिपाल टाँगेर बसेका छन् । विस्थापितले गाईवस्तुलाई हुलाकी सडकमा ल्याएर राखेका छन् ।’
सोनाफाँटाकै लाल्तु डगौराको परिवार पनि हुलाकी सडकमा छ । वडासदस्यसमेत रहेका उनले सोनाफाँटा गाउँमा बाढीले करिब दुई सय घर डुबानमा परेको बताए । घर डुबानमा परे पनि कतिपय परिवार माथिल्लो तलामा बसिरहेको उनले बताए । ‘गाउँ पूरै जलमग्न छ, कोही हुलाकी सडक त कोही आफन्तको घरमा बसेका छन्,’ डगौराले भने, ‘अधिकांश काठले बनेका घर छन्, कतिपय परिवार तल डुबानमा परे पनि माथिल्लो तलामा बसेका छन् ।’ गाउँ डुबानमा परेपछि सुरक्षाकर्मीको सहयोगमा बालबालिका र वृद्धवृद्धालाई सुरक्षित ठाउँमा सारिएको छ ।
भजनी नगरपालिकाको विपत् व्यवस्थापन शाखा प्रमुख विष्णुराज न्यौपानेले बाढीबाट सात सय ५० परिवार विस्थापित भएको र चार हजार १२७ परिवार प्रभावित भएको बताए । वडा नम्बर ३, ५, ६, ७ र ८ का अधिकांश बस्ती डुबानमा परेका छन् । अन्य वडामा पनि केही बस्ती डुबान भएको नगरपालिकाले जनाएको छ । ‘विस्थापित गाईवस्तुसहित हुलाकी सडक, विद्यालय र सामुदायिक भवनहरूमा बसिरहनुभएको छ,’ नगर प्रवक्ता एवं वडा नम्बर ३ का अध्यक्ष विक्रम चौधरीले भने, ‘बाढीका कारण एक ठाउँबाट अर्को ठाउँमा जान सक्ने अवस्था छैन ।’ वर्षा रोकिए पनि बाढी घटेको छैन ।
बुधबार रातिदेखिको अविरल वर्षाले भजनी र कैलारी गाउँपालिकाका अधिकांश बस्ती डुबानमा परेका हुन् । कैलारीमा पाँच सय ४७ घरधुरी डुबानमा परेका, ५९ परिवार विस्थापित भएको गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले बताए । वडा नम्बर ५ का विस्थापित २९ परिवार वडा कार्यालय र ३० परिवार स्थानीय विद्यालयमा आश्रय लिएर बसेको उनले जानकारी दिए । विस्थापितलाई वडाध्यक्षको नेतृत्वमा खानबस्नको व्यवस्था भइरहेको गाउँपालिकाले जनाएको छ । ‘घर डुबेर तल बस्ने अवस्था छैन, तर धेरैजसोले घर छोडेर जान मानेनन्,’ अध्यक्ष चौधरीले भने, ‘डुबान भए पनि घरको माथिल्लो भागमा बसेका छन् ।’ बाढीबाट विस्थापित र प्रभावितको विवरण जिल्ला प्रशासन कार्यालय र स्थानीय तहको फरक–फरक छ । बाढीले घर डुबानमा परेर एक हजार ५८ परिवार प्रभावित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भजनी र कैलारीमा गरी १९ परिवार पूर्ण रूपमा विस्थापित भएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । भजनी नगरपालिका–७, हिम्मतपुर र चर्राका १२ परिवार हुलाकी सडकमा बसिरहेको उनले बताए । त्यस्तै, भजनी–५, लालबोझीका दुई परिवार सडकमा र कैलारी–५, पुरानो मनिकापुरका पाँच परिवार विस्थापित भएर वडा कार्यालयमा बसिरहेको प्रशासन कार्यालयले जनाएको छ । वर्षा रोकिएकाले कतिपय ठाउँमा स्थिति सामान्य बन्न थालेको छ र घर छोडेकाहरू घर फर्कन थालेको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए । दिउँसोबाट वर्षा रोकिएपछि केही ठाउँमा अवस्था सामान्य हुँदै गएको उनले बताए । भजनीमा बाढी प्रभावित क्षेत्रको निरीक्षणमा गएका प्रमुख जिल्ला अधिकारी मिश्रले सीमानजिक पर्ने भारतको कैलाशपुरी बाँधका ढोका नखोलेका कारण पनि डुबान भएको स्थानीयको गुनासोका आधारमा आफूले भारतीय स्थानीय अधिकारीसँग बाँधको ढोका खोल्न आग्रह गरेको बताए ।
प्रतिक्रिया