हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु

हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु


काठमाडौँ । अमेरिकामा आएको हेलेन आँधीका कारण अहिलेसम्म २१० जना भन्दा बढीको मृत्यु भएको छ । नर्थ क्यारोलिनामा हेलेनका कारण सबै भन्दा बढी क्षति पुगेको छ ।

अमेरिकाको दक्षिणपश्चिमी क्षेत्रमा ‘हेलेन’ आँधीका कारण मृत्यु हुनेको सङ्ख्या २०० नाघेको छ भने व्यापक भौतिक क्षति पुर्‍याएको छ । अमेरिकी उद्धारकर्ताहरूले आँधीबाट बचेकाहरूको खोजी कार्य जारी राखेका छन्। नर्थ क्यारोलिनामा हेलेनका कारण आधा भन्दा बढी मानिसको मृत्यु भएको छ । हेलेन सन् २००५ मा आएको क्याट्रिना आँधीपछिको सबैभन्दा घातक आँधी साबित भएको छ । सन् २००५ मा आँधीबेहरीका कारण एक हजार ८०० भन्दा बढीको मृत्यु भएको थियो ।

‘हेलेन’ आँधी आएको करिब एक साता बितिसक्दा पनि त्यस क्षेत्रमा सयौँ मानिस हराइरहेका छन् भने करिब आठ लाख घर अझै पनि विद्युत विहीन छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार आँधी प्रभावित क्षेत्रको हवाई भ्रमण गरेपछि जर्जियाको रे सिटीमा बाइडेनले प्रभावितहरूलाई भने “म तपाईँलाई देख्छु, म तपाईँको कुरा सुन्दैछु, म तपाईँसँग दुःखी छु, र म तपाईसँग प्रतिज्ञा गर्छु, हामी तपाईँको साथमा छौँ।”