एसिया रग्बीमा नेपाल पराजित

एसिया रग्बीमा नेपाल पराजित


काठमाडौँ । एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी-२०२४ मा नेपालको पुरुष टिम बहराइनसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा आज भएको पुरुषतर्फको खेलमा नेपाल बहराइनसँग ७-२७ को स्कोरमा पराजित भएको हो ।

प्रतियोगितामा यो नेपालको दोस्रो पराजय हो । यसअघि भएको पहिलो खेलमा नेपाल उज्बेकिस्तानसँग ०-२४ को स्कोरले पराजित भएको थियो । यस्तै आजै भएको अन्य खेलमा जोर्डनले पाकिस्तानलाई २२–१५, कतारले साउदी अरेबीयालाई ३९–७, श्रीलंकाले काजकिस्तानलाई ४३-०, भारतले बंगलादेशलाई ३१–० को स्कोरमा पराजित गरेको छ । चाइनिज ताईपेइले अफगानिस्तानलाई २६-७ को स्कोरमा पराजित गर्‍यो ।

त्यस्तै पुरुषतर्फ भारतले श्रीलंकालाई २९-१० को स्कोरमा पराजित भएको थियो भने जोर्डनलाई फिलिपिन्सले ०-२६ ले पराजित गरेको थियो । भोलिसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा पुरुषतर्फ आयोजक नेपालसहित फिलिपिन्स, बहराइन, काजाकिस्तान, अफगानिस्तान, उज्वेकिस्तान, पाकिस्तान, भारत, कतार, साउदी अरेबिया, जोर्डन, बंगलादेश, चाइनिज ताईपेइ र श्रीलंका रहेका छन् । प्रतियोगिताको विजेता टिमले स्वर्ण पदकसहित च्याम्पियन ट्रफी पाउनेछ ।

यसैगरी आजै भएको महिलातर्फको खेलमा नेपाल ग्वामसँग ५-१७ को स्कोरमा पराजित भएको छ । यो नेपालको दोस्रो हार हो । यसअघि भएको पहिलो खेलमा फिलिपिन्ससँग नेपाल ३२-० को स्कोरमा पराजित भएको थियो । महिलातर्फ आयोजक नेपालसहित, फिलिपिन्स, भारत, ग्वाम, श्रीलंका इरान, उज्वेकिस्तान र इन्डोनेसिया सहभागी छन् ।