पुलिस एन्फा लिगको दोस्रो चरणमा प्रवेश

पुलिस एन्फा लिगको दोस्रो चरणमा प्रवेश


काठमाडौँ । जारी एन्फा महिला लिग-२०२४ फुटबल प्रतियोगिता अन्तर्गत पहिलो चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबले संकटा महिला फुटबल क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा पुलिसले संकटामाथि २-१ गोल अन्तरको जित निकालेको हो ।

पुलिसका लागि अनुष्का शेर्पाले तेस्रो मिनेटमा गोल गर्दै खाता खोलिन । त्यसपछि खेलको सातौँ मिनेटमा पुलिसकी समीक्षा घिमिरे पेनाल्टीमा गोल गर्न चुके पनि त्यस लगत्तै गोल गर्न सफल भइन् ।

खेलको ७३औँ मिनेटमा संकटाकी सेलेना अनिमाले एक गोल फर्काए पनि हार टार्नका लागि त्यो पर्याप्त भएन । यस खेलसँगै महिला लिगको पहिलो चरणका खेल सकिएका छन् ।

प्रतियोगिताको दोस्रो चरणमा पाँच टोली प्रवेश गरेका छन् । दोस्रो चरणको सुपर लिगमा आजको विजेता नेपाल पुलिसक्बलसँगै एपिएफ, त्रिभुवन आर्मी क्लब, वालिङ नगरपालिका र कोशी प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।