सिधा कुराका प्रकाशक कँडेल र सम्पादक ढुंगाना रिहा

सिधा कुराका प्रकाशक कँडेल र सम्पादक ढुंगाना रिहा


काठमाडौँ- सिधा कुरा अनलाइनका दुई पत्रकार सर्वोच्च अदालतको आदेशअनुसार निःशर्त माफी मागेपछि जेलमुक्त भएका छन् । प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुंगाना ७ दिन कारागार बसेपछि माफी मागेर रिहा भएका हुन् ।

फैसलाको सर्तअनुसार उनीहरूले थुनामै बसेर माफीका लागि सर्वोच्च अदालतमा कानुन व्यवसायीमार्फत गत बिहीबार निवेदन दिएका थिए । शुक्रवार फाँटबाट निवेदन स्वीकृत भएको पत्र केन्द्रीय कारागार जगन्नाथ देवलमा पुगेपछि दुवै जना आइतबार (आज ) रिहा भएका हुन् ।सर्वोच्च अदालतले उनीहरूलाई अदालतको अवहेलना मुद्दामा दोषी ठहर गर्दै ३ महिना जेल सजाय सुनाएको थियो । अदालतको आदेशमा उनीहरूले गल्ती पुनः नदोहोर्याउने प्रतिबद्धतासहित निःशर्त लिखित माफी मागेमा सजाय ७ दिनमा छोट्याउन सकिने भनिएको थियो ।

प्राप्त सूचनाको वैधानिकता परीक्षण नगरी न्यायिक प्रक्रियामा अवरोध पुग्ने गरी अफवाह फैलाउने कार्य गरेको आरोपमा उनीहरूलाई सजाय सुनाइएको थियो । सिधा कुराले ‘द डार्क फाइल’ नामको कार्यक्रममा एउटा अडियो प्रसारण गरेको थियो जुन अडियोका आधारमा सर्वोच्चका न्यायाधीश, ठुला मिडियाका मालिकसहित केही प्रतिष्ठित व्यक्तिहरूमाथि गम्भीर आरोप लगाइएको थियो ।

प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाँल, डा. नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल, बालकृष्ण ढकालको नौ सदस्यीय बृहत् पूर्ण इजलासले सो फैसला गरेको थियो । यही असोज १३ मा कँडेल र ढुंगानासहित उनीहरूलाई सूचना दिने राजकुमार तिमिल्सिनालाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको थियो ।